१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाललाई ओमान कठिन प्रतिद्वन्द्वी

विनोद पाण्डे

काठमाडौँ — नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । मलेसियामा बुधबार ६ राष्ट्र सम्मिलित प्रतियोगिता सुरु हुँदा नेपालको मुख्य चुनौतीका रूपमा पहिलो प्रतिद्वन्द्वी ओमानलाई पन्छाउनु त्यति सहज हुनेछैन ।  

नेपाललाई ओमान कठिन प्रतिद्वन्द्वी

नेपाल र ओमानका बीचमा अहिले ठूलै भिन्नता जस्तो देखिएको छ । यो भिन्नता ७ महिनाको दूरीमा बनेको हो । फेब्रुअरीमा मात्र नेपाल र ओमान एकै स्तर अर्थात् विश्व क्रिकेट लिगको डिभिजन २ मा खेल्थे । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट झरेर डिभिजन २ मा आएको थियो भने ओमान डिभिजन ३ बाट उक्लेको थियो ।


डिभिजन २ मा नेपालमाथि ओमानले ६ विकेटको विजय हात पार्‍यो । नेपालले १ सय ३८ रन मात्र बनाउन सकेको थियो । ओमानले ३६ ओभरभित्रै खेल जित्यो । ओमानसँगको पराजय नेपाललाई राम्रो सबक बन्यो । बाँकीको खेल जित्दै नेपाल विश्वकप छनोट हुँदै वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बन्यो । ओमान भने नामिबियाको त्यही प्रतियोगिताबाट रेलिगेसनमा पर्दै डिभिजन ३ मा झर्‍यो ।


ओमानले डिभिजन २ मा मात्र नभई नेपालसँग खेलेका पछिल्ला तीनै खेल जितेको छ । त्यसमा २०१५ मा यूएई भ्रमणमा खेलिएको अभ्यास खेलमा ३ विकेटको विजय पनि छ । २०१४ को एसीसी प्रिमियर लिगमा पनि नेपालमाथि ओमानले २ विकेटको विजय हात पारेको थियो । यी दुवै खेलमा नेपालले क्रमश: १ सय ८४ र १ सय ५७ रन मात्र बनाएको थियो ।


सानो स्कोरका खेलमा यी दुई टोलीको प्रतिस्पर्धा अल्झिएको विगत छ । नेपालले त्यसअघि ओमानसँग खेलेका दुई खेल जित्दा क्रमश: १ सय ६० र १ सय ७२ रनको स्कोर रक्षा गरेको थियो । २००२ मा एसीसी ट्रफीमा सिंगापुरमा नेपालले पहिलो पटक ओमानसँग खेलेको थियो, त्यहाँ पनि पहिला १ सय ५३ रन बनाउँदै खेल जितेको थियो ।


नेपाल जस्तै एसिया कप छनोटको तयारीका लागि ओमानले श्रीलंकामा अभ्यास खेल खेलेको थियो । श्रीलंकाका पूर्वखेलाडीहरू सम्मिलित श्रीलंका लायन्सविरुद्ध ओमानले २ सय ४२ रनको स्कोर बनाउँदै खेल ५ रनले जितेको थियो । श्रीलंकाकै पूर्व क्रिकेटरहरू दुलिप मेन्डिस र रुवान कल्पगे प्रशिक्षक र फिल्डिङ प्रशिक्षक रहेको ओमानबाट बिलाल खान जेसन मक्सुदले निकै राम्रो बलिङ गर्दै आएका छन् ।


विशेष गरी ३० वर्षे खान एसोसिएट क्रिकेटकै उत्कृष्ट तीव्र बलरमा गनिन्छन् । नेपालविरुद्ध डिभिजन २ मा उनले ९ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए । अकिब इल्याज ओमानको ब्याटिङको आधार बन्दै आएका छन् । उनले नेपालसँग ५३ बलमा ४६ रन बनाएका थिए । अलराउन्डर सुफियान मोहम्मद नेपाली क्रिकेटसँग परिचित छन् । उनले गत सिजन धनगढी प्रिमियर लिगमा रूपन्देही च्यालेन्जर्सबाट खेलेका थिए ।


ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले नेपालबाट ओपनिङमा ब्याटिङ सुरुआत गर्ने सम्भावना छ । यसले अनिल शाहलाई प्लेयिङबाट बाहिर राख्न सक्छ । नेपालले गत महिना नेदरल्यान्ड्समा वान–डे अन्तर्राष्ट्रिय ‘डेब्यु’ गर्दा अनिलले ज्ञानेन्द्रसँग लिस्ट ‘ए’ मै नेपाली ओपनिङ ब्याटिङको उत्कृष्ट सुरुआत गर्नेक्रममा ५९ रनको साझेदारी गरेका थिए । तर अनिलले सो खेल विकेटकिपरका रूपमा पनि खेलेका थिए । अनिल नियमित विकेटकिपर भने होइनन् ।


चोटका कारण शरद भेषवाकर नहुनु र भेट्रान स्पिनर शक्ति गौचनले विदेशी भूमिमा संन्यास लिनाले सागर पुनलाई राष्ट्रिय टोलीमा फर्किन ढोका खुलेको थियो । मध्यक्रमको ब्याटिङ र तेस्रो स्पिनरका रूपमा सागरले प्लेयिङमा खेल्ने सम्भावना बलियो छ । श्रीलंकामा नेपालले स्थानीय टोलीसँग खेलेको अभ्यास खेलमा ब्याट र बलबाट प्रदर्शन देखाउँदै सागरले आफ्नो उपस्थितिलाई बलियो बनाएका हुन् । सागरले मलेसियामा मलेसिया प्रिमियर लिगमा आफ्नो टोली क्वालालम्पुरलाई विजेता नै बनाउने क्रममा सागरले दुई शतक र एक अर्धशतसहित १० खेलको ९ इनिङ्समा ४ सय ५२ रन बनाएका थिए । उनको औसत ५० भन्दा माथि थियो । ९ विकेट लिँदै उनी मलेसियामा म्यान अफ द सिरिजमा पनि चुनिएका थिए ।


वसन्त रेग्मी र सन्दीप लामिछानेपछि सागर तेस्रो स्पिनरका रूपमा टोलीमा छन् । विगतको प्रदर्शन हेर्ने हो भने नेपाली ब्याटिङ धेरै मात्रमा पारसमा निर्भर हुनेछ । पारसले शरदको अनुपस्थितिमा युवा खेलाडीहरू पनि जिम्मेवारी लिन सक्षम रहेको बताउँदै आएका छन् । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेलले ठूलो महत्त्व बोकेको एसिया कप छनोट जस्तो प्रतियोगितामा कतिको जिम्मेवारी लिने, हेर्न बाँकी छ ।


एसिया कप छनोटको विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने छ ।


पहिलो दिनका अन्य खेलमा आयोजक मलेसिया र हङकङ तथा यूएई र सिंगापुरका बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : भाद्र १२, २०७५ २३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?