१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालको पदक निश्चितजस्तै

प्याराग्लाइडिङतर्फ दोस्रो स्थानमा
ध्रुव तुलाधर

काठमाडौँ — नेपालले १८ औं एसियाली खेलकुदमा पहिलो पदक जित्ने लगभग निश्चित जस्तै भएको छ । इन्डोनेसियामा भइरहेको प्रतियोगितामा प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ नेपालको पुरुष टोली उत्कृष्ट प्रदर्शन गर्दै पदकनजिक पुगेको छ ।

नेपालको पदक निश्चितजस्तै

पुरुष क्रसकन्ट्रीको पाँचमध्ये चौथो चरण सकिँदा नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार चौथो चरण सकिँदा नेपालले २७ सय ९८ अंक स्कोर गरेको छ । समग्रमा भने नेपालको ८ हजार ५ सय ९१ अंक स्कोर छ । नेपालभन्दा ७ सय ६८ अंक बढी स्कोर गरेको जापान शीर्षस्थानमा छ । तेस्रो स्थानको दक्षिण कोरियासँग ८ हजार अंक छ । चौथो स्थानको इन्डोनेसियाभन्दा नेपाल झन्डै १ हजार अंक अगाडि छ ।


नेपालले अब पाँचौं तथा अन्तिम चरणमा बिहीबार खेल्नेछ । १८ औं एसियाडमा अहिलेसम्म पदक जित्न नसकेको नेपालले पाराग्लाइडिङबाट पदक जित्ने सम्भावना बलियो बनेको छ । नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा प्रतिस्पर्धा गर्दै छन् ।


एसियाडमा पाराग्लाइडिङ पहिलोपल्ट समावेश खेल हो । टोलीका व्यवस्थापक योगेश भट्टराईले नेपालले आफ्नो लय कायम राखे कम्तीमा कांस्य पदक पक्का रहेको बताए । ‘आजकै (मंगलबार) प्रदर्शनलाई कायम गर्ने हो भने पदक निश्चित जस्तै छ । मौसम खराब नभएको अवस्थामा सबै योजना अनुसार भयो भने हामीले पदक जित्नेछौं,’ उनले भने ।


एसियाडको इतिहास पल्टाउने हो भने पनि प्याराग्लाइडिङमा पदक आउँदा सुखद संयोग जुर्नेछ । नेपालले हालसम्म तीन खेलबाट (तेक्वान्दो, कराँते र बक्सिङ) एसियाडमा पदक ल्याएको छ । यी तीनै खेलमा नेपालले पहिलोपटक सहभागी हुँदा नै पदक ल्याएको थियो । सन् १९९४ एसियाडमा कराँते पहिलोचोटि समावेश हुँदा सीता राईले कांस्य जितेकी थिइन् । त्यसअघि सन् १९८६ मा दक्षिण कोरियाको सोलमा तेक्वान्दो र बक्सिङ पहिलोचोटि समावेश हुँदा दुवै खेलले ४–४ कांस्य हात पारेका थिए ।


पाराग्लाइडिङ जारी एसियाडमा पदकको सम्भावना भएपछि आयोजकले इन्डोनेसियाले समावेश गरेको खेल हो । एक्युरेसी इभेन्टको पुरुष टिम इभेन्टमा इन्डोनेसियाले स्वर्ण जितिसकेको छ । एक्ययुरेसीकै पुरुष एकलमा पनि इन्डोनेसियाका जाफ्रो मेगावान्टोले स्वर्ण हात पारे । महिलातर्फ एक्युरेसी टिम इभेन्टमा घरेलु टोलीले रजत जित्दा एकलमा स्थानीय खेलाडी रिका विजायन्ती कांस्यमा सीमित भइन् ।


क्रस कन्ट्री टिम इभेन्टमा भने इन्डोनेसियाको पुरुष टोली चौथो र महिला टोली तेस्रो स्थानमा छन् । एक्युरेसी इभेन्टमा नेपालले कुनै पदक हात पारेन । सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्याराग्लाइडिङ समावेश गरिएको छ ।


क्रसकन्ट्रीकै महिला टिम इभेन्टमा नेपाल छैटौं स्थानमा यथावत् छ । चौथो चरणमा २ सय १६ अंक स्कोर गरेको नेपालले समग्रमा ११ सय ६२ अंक जोडेको छ । शीर्षस्थानको दक्षिण कोरियाको ४ हजार ३ सय ३९ अंक छ । महिला टिम इभेन्टमा नेपालका लागि प्रतिभा भुजेल, त्रिशा बोम्जन र सविता तामाङले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?