कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एसियाली खेलकुदः २७ स्कोरले स्वर्ण जित्नबाट चुक्यो नेपाल, प्याराग्लाइडिङमा रजत पदक

ध्रुव तुलाधर

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो ।

एसियाली खेलकुदः २७ स्कोरले स्वर्ण जित्नबाट चुक्यो नेपाल, प्याराग्लाइडिङमा रजत पदक

पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो । पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो ।

नेपाल २७ अंकले मात्र स्वर्ण पदकले चुकेको हो । नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो ।

जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते ।


बुधबार पाँचौं तथा अन्तिम चरणको खेलमा नेपालले जापानको अग्रतालाई चुनौती दिन नसके पनि आफ्नो गतिलाई कायमै राख्दै पदक निश्चित गरेको हो । नेपाललाई नियमीत जस्तो पदक दिलाउदै आएका तेक्वान्दो, कँराते र बक्सिङ खेलहरू असफल भइरहेको अवस्थामा नेपाल धेरैपछि एसियाली खेलकुदको पदक तालिकामा शुन्य हुने स्थितिमा पुगेको थियो ।


एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो । सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् ।


नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा प्रतिस्पर्धा गरेका थिए । एसियाडमा पाराग्लाइडिङ पहिलोपल्ट समावेश खेल हो ।


एसियाडको इतिहास पल्टाउने हो भने पनि प्याराग्लाइडिङमा पदक आउँदा सुखद संयोग जुर्नेछ । नेपालले हालसम्म तीन खेलबाट (तेक्वान्दो, कराँते र बक्सिङ) एसियाडमा पदक ल्याएको छ । यी तीनै खेलमा नेपालले पहिलोपटक सहभागी हुँदा नै पदक ल्याएको थियो । सन् १९९४ एसियाडमा कराँते पहिलो चोटि समावेश हुँदा सिता राईले कांस्य जितेकी थिइन् । त्यसअघि सन् १९८६ मा दक्षिण कोरियाको सोलमा तेक्वान्दो र बक्सिङ पहिलोचोटी समावेश हुँदा दुवै खेलले ४–४ कांस्य हात पारेका थिए ।

पाराग्लाइडिङ जारी एसियाडमा पदकको सम्भावना भएपछि आयोजकले इन्डोनेसियाले समावेश गरेको खेल हो । एक्युरेसी इभेन्टको पुरुष टिम इभेन्टमा इन्डोनेसियाले स्वर्ण जितिसकेको छ । एक्ययुरेसीकै पुरुष एकलमा पनि इन्डोनेसियाका जाफ्रो मेगावान्टोले स्वर्ण हात पारे । महिलातर्फ एक्युरेसी टिम इभेन्टमा घरेलु टोलीले रजत जित्दा एकलमा स्थानिय खेलाडी रिका विजायन्ती कांस्यमा सिमित भइन् ।

क्रस कन्ट्री टिम इभेन्टमा भने इन्डोनेसियाको पुरुष टोली चौथो र महिला टोली तेस्रो स्थानमा छन् । एक्युरेसी इभेन्टमा नेपालले कुनै पदक हात पारेन । सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्याराग्लाइडिङ समावेश गरिएको छ ।

तस्बिरहरु : ध्रुव तुलाधर

प्रकाशित : भाद्र १३, २०७५ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?