१८ औं एसियाली खेलकुद: जुडोको खराब सुरुआत
जकार्ता — १८ औं एसियाली खेलकुदमा पदक आस गरिएको जुडोका इन्द्रबहादुर श्रेष्ठ पहिलो खेलमा पराजित भएका छन् । जेसीसी हलको म्याट नम्बर एकमा खेलेका इन्द्रबहादुर उत्तर कोरियाली प्रतिद्वन्द्वी ह्योङ उन किमसँग टिक्न सकेनन् ।
सागका कांस्य पदकधारी इन्द्रले पुरुष ६६ केजीमुनि तौल समूहमा इप्पोन खाँदै १ मिनेट २१ सेकेन्डमै खेल गुमाएका थिए ।
अर्को खेलमा महिला ५२ केजीमुनि देविका खड्का अन्तिम १६ मा पराजित भइन् । उनी जापानकी नात्सुमी सुनोदासँग पराजित भएकी हुन् । इप्पोनमा हारेकी देविकाले १ मिनेट २० सेकेन्डमै खेल गुमाइन् ।
बिहीबार नेपालले जुडोमा तीन खेलाडीले खेल्नेछन् । महिला ५६ केजीमुनि मनिता श्रेष्ठ प्रधानले भियतनाम, पुरुष ७३ केजीमुनि सञ्जित डंगोलले साउदी अरेबिया र महिला ६७ केजीमुनि ओलम्पियन तथा सागकी स्वर्ण विजेता फुपूल्हामु खत्रीले आयोजक इन्डोनेसियाका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म एसियाडमा पदक जित्न नसकेको जुडो यसपालि पदक आस गरिएको खेल हो ।
स्क्वासमा नेपालले मेन्स टिमको खेल बुधबार फिलिपिन्ससँग ३–० ले हारेको छ । नेपालका ज्ञानु चौधरी फिलिपिन्सका स्पिनोलासँग ११–१, ११–६, ११–९ ले हारे । अराहन्तकेशर सिंहले भने रेमार्कसँगको खेल ११–५, ११–३, ११–७ ले गुमाउँदा अमृत थापामगर पनि डेविड विलियम्ससँग पराजित भए । उनले ११–३, ११–३, ११–२ ले खेल गुमाए ।
समूह ‘ए’ मा रहेको नेपालले हङकङसँग खेल्न बाँकी छ । दक्षिण कोरिया, जापान, पाकिस्तानसँग यसअघि नै पराजित भएको हो ।
त्यस्तै सेपाकटाक्रोको पुरुष क्वाडरान्ट समूह ‘बी’ मा नेपालले सिंगापुरसँगको खेल २–० (२१–८, २१–७) को सेटमा गुमाएको थियो । नेपालले बिहीबार इरान र पाकिस्तानसँग खेल्दैछ ।
नेपालले बिहीबारै एथलेटिक्सको महिला १५ मिटर दौडमा प्रतिस्पर्धा गर्दैछ । उक्त इभेन्टमा नेपालकी सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्नेछिन् । यस इभेन्टमा २० खेलाडी प्रतिस्पर्धामा छन् । सरस्वतीले दुई दिनअघि ८०० मिटर दौडमा भने २ मिनेट १२.८५ सेकेन्डमा पूरा गरी व्यक्तिगत उत्कृष्ट टाइमिङ बनाएकी थिइन् । भलिबलमा नेपालले वरीयताका लागि श्रीलंकासँग खेल्नेछ ।
खेलपछि चीनसँग सामूहिक तस्बिरमा नेपाली टोली ।
तस्बिर : आईटीटीएफ
टेबलटेनिसमा मिश्रित सफलता
एसियाडअन्तर्गत टेबलटेनिसतर्फ बुधबार नेपाली खेलाडीले मिश्रित सफलता पाएका छन् । मिक्स डबल्समा प्रतिस्पर्धा गरेको नेपालका लागि स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले मंगोलियाका तेमुलेन म्यानदल र युड्रम मुन्खभातको जोडीलाई १३–११, ११–७, ११–९ ले पराजित गरेको थियो ।
अन्तिम ३२ को खेलमा भने नविता र स्यान्टुको जोडी विश्व नम्बर एक चिनियाँ जोडीसँग ३–१ को सेटमा हार्यो । ११–६, ११–१ ले दुई सेट गुमाएको अवस्थामा नेपालले १३–११ ले तेस्रो सेट खेलमा फर्कने प्रयास गरेको थियो । तर चौथो सेट नेपालले ११–७ ले गुमायो ।
प्रतियोगितामा स्वर्णपदकको दाबेदार मानिएका लिन गाओयु र वाङ मान्युको जोडीले फाइनल यात्रा तय गर्दा अन्य खेलमा भने सोझो सेटको जित दर्ता गरेका छन् । चिनियाँ जोडीले सन् २०१८ मा स्वीडेनमा भएको विश्व च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरेको थियो ।
अर्को खेलमा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडीले कतारका अल नागर र फाराम्जी माहाको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो । उनीहरूले लगातार ११–८, ११–७ ले सुरुको दुई सेट गुमाउनुका बावजुद ११–५, ११–६, ११–४ ले सेट जितेर खेल आफ्नो पक्षमा पारेका थिए । अन्तिम ३२ को खेलमा भने अमरलाल र स्वेच्छा हङकङविरुद्ध ३–० ले पराजित भए ।
प्रकाशित : भाद्र १४, २०७५ ०७:३४