श्री एयरलाइन्स सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — श्री एयरलाइन्सले पाँचौं कर्पोरेट इन्डोर प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलमा सोमबार एनएमबी बैंकलाई १० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

श्रीले पहिलो ब्याटिङ गर्दै १ सय १३ रन जोडेको थियो । जवाफमा विजयी टोलीका पुरुषोत्तम न्यौपानेले तीन विकेट लिएपछि एनएमबीले १ सय ३ रन मात्र जोड्न सक्यो ।

अर्को क्वाटरफाइनलमा राज श्रेष्ठको अलराउन्ड प्रदर्शनसँगै सिटिजन्स बैंकले मुक्तिनाथ विकास बैंकलाई ५० रनले हरायो । राजले २९ रन जोडदै २ विकेट लिएपछि सिटिजन्सले जोडेको १ सय १८ रनको जवाफमा मुक्तिनाथले ६८ रन मात्र बनाउन सक्यो ।

Yamaha

कोटेश्वरस्थित अल्टिमेट इन्डोरमा जारी प्रतियोगिताको अन्य क्वाटरफाइनलमा ई–सेवाले जनता बैंकलाई १७ रनले हराउँदै सेमिफाइनलमा स्थान बनायो । सेन्चुरी बैंकले पनि डब्लूडब्लूएफलाई ८० रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । बिहीबार सेमिफाइनल खेल हुनेछ ।


प्रकाशित : भाद्र १४, २०७५ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पाराग्लाइडिङमा छलाङ

दीपक परियार

लेखनाथ (कास्की) — पाराग्लाइडिङको नियम हो– जमिनबाट हावामा छलाङ मार्नु । हावामा कावा खाँदै फेरि जमिन टेक्नु । २० वर्षपछि पाराग्लाइडिङको एसियाड छलाङ कम्ता रोचक छैन ।

सन् १९९९ मा पाराग्लाइडिङ भित्र्याउँदा पोखराका बिरु बम्जनले सायदै सोचेका थिए, यो खेलका रूपमा विकास हुन्छ र एसियाडमा पदक दिलाउँछ । त्यो पनि पहिलो ‘इन्ट्री’ मै ।

पोखरामा केही विदेशी आए । पारासुट बोकेर सराङकोटबाट हामफाले । चिलजस्तै एकनासले उडदै फेवा किनारमा ओर्लिए । पोखराका पर्यटक व्यवसायीले सोचे, ‘यस्तो पनि सम्भव छ ?’ बम्जन त्यतिखेर ट्रेकिङ एजेन्सी चलाउँथे ।

उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष थिए । त्यतिबेलै बेलायती नागरिक एडम हिल अन्नपूर्ण सर्किटको पदयात्रामा आए । डाँडाकाँडा नियाले । उनको भेट बम्जनसँग भयो । उनले सराङकोटबाट पाराग्लाइडिङ गर्न सकिने सम्भावना देखाए । दुवै मिलेर व्यावसायिक पाराग्लाइडिङ चलाउने निधो गरे । दुवैको सोच मिलेपछि जन्मियो ‘सनराइज पाराग्लाइडिङ कम्पनी’ ।

सनराइज ट्रेकिङ एजेन्सी चलाइरहेका बम्जनले सुरुसुरुमा पदयात्रामा आउने विदेशी पर्यटकलाई पाराग्लाइडिङ गराए । ‘पहिले पाराग्लाइडिङ गर्न सकिन्छ भन्दा कसैले पत्याएनन्,’ उनी भन्छन्, ‘सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउनै गाह्रो भयो ।’ उनकै सिको गर्दै सन् २००७ सम्म आइपुग्दा ४ कम्पनी खुले । सन् २०१० तिरबाट बल्ल पाराग्लाइडिङले व्यावसायिक रूप पाएको व्यवसायी वसन्तराज दवाडी सम्झिन्छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिवसमेत रहेका उनी पहिले विदेशीले मात्रै चासो देखाएको बताउँछन् । उनका अनुसार सन् २००४ देखि युवापुस्ता आकर्षित भए । नेपालमै पाइलट उत्पादन भए । सन् २०१० मा आउँदा साहसिक खेलमा दरियो । अहिले बाह्यभन्दा पनि आन्तरिक पर्यटकले पाराग्लाइडिङ धानेका छन् । विदेशी पाइलटलाई पनि नेपालीले विस्थापित गरेका छन् । ‘२००८ सम्म यसलाई खेल नै होइन भनिन्थ्यो,’ उनी भन्छन्, ‘राखेपबाट मान्यता पाएपछि मात्रै खेल पनि रहेछ भनेर बुझ्न थालियो ।’

पाराग्लाइडिङका लागि सराङकोट विश्वकै दुर्लभ क्षेत्र मानिन्छ । सराङकोटसँगै तोरेपानी र मान्द्रेढुंगाबाट व्यावसायिक रूपमा पाराग्लाइडिङ उडान हुन्छन् । नाले नेपालमा १८ औं संस्करणसम्म राष्ट्रिय च्याम्पियनसिप, एक एक पटक एसियाली च्याम्पियनसिप र दुईपल्ट प्रि–वल्र्डकप आयोजना गरिसकेको छ ।

यसै वर्ष नेपालमै वल्र्डकपको आयोजना अनुमति दिलाउने नाको तयारी छ । पाराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था फेडेरेसन अफ इन्टरनेसनल एरोनोटिकल (एफएआई) ले प्रि–वल्र्डकप र वल्र्डकप आयोजना गर्न स्वीकृति दिनुपर्छ । नाले दुई वर्ष लगातार एफएआई क्याटगोरी टु पाराग्लाइडिङ च्याम्पियनसिप गरेपछि प्रि–वल्र्डकपको बाटो खुलेको थियो ।


पोखरामा व्यावसायिक उडान गराउने ६२ पाराग्लाइडिङ कम्पनी छन् । ती कम्पनीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अस्थायी लाइसेन्सप्राप्त ३ सय पाइलट छन् । खेलकुदमा सहभागी हुन नेपाल हवाई खेलकुद संस्था (ना) बाट छुट्टै लाइसेन्स लिनुपर्छ । त्यसरी लाइसेन्स लिने पाइलट २५ मात्रै छन् ।

पोखराका ब्लु स्काई ºलाइङ स्कुल र बाबु एड्भेन्चरले पाराग्लाइडिङ पाइलटको व्यावसायिक प्रशिक्षण दिन्छन् । पोखराको सराङकोटबाहेक धरान, स्याङजा, बन्दीपुर, पाल्पा, काठमाडौं र सुर्खेतमा क्यानले पाराग्लाइडिङको अनुमति दिएको छ । पोखराबाहेक अन्यत्र पनि पर्यटन प्रवद्र्धन गर्न नाले राखेपसँग धरानमा ट्रेनिङ सेन्टर बनाउन प्रस्ताव गरिसकेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा पाराग्लाइडिङ तालिम प्रशिक्षण केन्द्र सञ्चालनका लागि स्कुल स्थापना गरेको छ ।

पाराग्लाइडिङ पाइलटको कोर्स पूरा गर्न करिब तीन वर्ष लाग्छ । १५ दिने आधारभूत तालिमपछि दुई वर्षसम्म एक्लै उडाउनुपर्छ । जसमा एड्भान्स र सुरक्षा तालिमसमेत दिइन्छ । पाइलट बन्न तीन लाख रुपैयाँ खर्च लाग्छ । व्यावसायिक उडानका लागि लाइसेन्स लिनुपर्ने हुन्छ । क्यान पोखरा, नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल पाराग्लाइडिङ पाइलट्स क्लबले लाइसेन्स वितरण गर्छन् ।

सराङकोटमा उडानबापतको भ्याट पाइलटले तिरे, नतिरेको प्रहरीले जाँच गर्छ । हाल सिजनमा अधिकतम ३ सय जना र न्यूनतम १ सय जनाले दैनिक पाराग्लाइडिङ गर्छन् । कम्पनी र पाइलटमा भएको वृद्धिले भविष्यमा पाराग्लाइडिङ पाइलटले काम नपाउने अवस्थाको सिर्जना हुने चिन्ता बढ्दै गएको छ ।

नाका महासचिव दवाडी एसियाडमा नेपालको प्रदर्शन सन्तोषजनक भएको बताउँछन् । ‘योभन्दा पनि राम्रो गर्न सकिन्छ भन्ने आशा थियो,’ उनी भन्छन्, ‘पहिलोपल्ट समावेश भएको खेलमा पदक जित्नु खुसीकै कुरा हो ।’ अन्तर्राष्ट्रिस्तरमा भाग लिन सक्ने खेलाडी जन्मिइसक्दा पनि सरकारले भने खासै चासो नदिएको उनको अनुभव छ ।

उनी भन्छन्, ‘व्यवसायीले नै रकम उठाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी पठाउँदै आएका थियौं । एसियाडमा मात्रै सरकारले सक्रियता देखायो ।’ केही महिनाअघि चीनमा भएको प्रि–वल्र्डकपमा विशाल थापाले तेस्रो स्थान हासिल गरेका थिए । इन्डोनेसियामै भएको प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको थियो । महिलाको हकमा कुनै पनि विदेशी प्रतियोगितामा सहभागिता जनाएको पहिलोपल्ट हो ।

खेलमा निरन्तर प्रगति गर्दै गए पनि व्यावसायिक हिसाबमा उल्लेख्य हुन नसकेको गुनासो व्यवसायीको छ । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि सराङकोटबाट कता जाने भन्ने चिन्ता थपिएको छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT