कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एसिया कप छनोटको फाइनलमा पुग्ने सम्भावना पातलो हुँदै

काठमाडौँ — लगातार दोस्रो पराजय बेहोरेपछि नेपालको एसिया कप छनोटको फाइनलमा पुग्ने सम्भावना पातलो हुँदै गएको छ । वान–डे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बिहीबार दाबेदार यूएईले नेपाललाई ७८ रनले पराजित गर्‍यो ।

एसिया कप छनोटको फाइनलमा पुग्ने सम्भावना पातलो हुँदै

क्वालालम्पुरस्थित किन्रारा ओभल मैदानमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ५४ रन बनायो । नेपाल ४८.५ ओभरमा १ सय ७६ रनमा अलआउट भयो । अघिल्लो दिन नेपाललाई ओमानले ७ विकेटले पराजित गरेको थियो । यूएई जस्तै ओमानले पहिलो दुई खेल जितेको छ ।


ओमानले लगातार दोस्रो खेल जित्नेक्रममा आयोजक मलेसियालाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्‍यो । हङकङले सिंगापुरलाई दिनको अर्को खेलमा ५ विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जित हात पार्‍यो । कुनै खेल जित्न नसकेको नेपाल र सिंगापुर पुछारमा छन् । सहभागी ६ राष्ट्र एक–अर्कासँग राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् । विजेता एसिया कपमा छानिनेछ ।


लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुआत राम्रो रहेन । ज्ञानेन्द्र मल्ल ४ रन बनाई पहिलो ओभरमै मोहम्मद नाविदको बलमा आउट भए । अहमद राजाको पहिलो दुई बलमा लगातार चौका प्रहार गरी हावी हुन खोजेका कप्तान पारस खड्का उनकै तेस्रो बलमा स्टम्प आउट भए । अघिल्लो खेलमा ८३ रन बनाएका सागर ३ रनमै लङअनमा क्याच दिन पुगे ।
सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरीले ४३–३ को स्थितिलाई सुधार्ने क्रममा नेपालको स्कोरलाई सय माथि पुर्‍याए । १७ बलमा १ रन बनाएर ढिलो सुरुआत गरेका सुवासले ५० रन बनाए । उनी वान–डे अन्तर्राष्ट्रियमा नेपालबाट अर्धशतक बनाउने चौथो खेलाडी हुन् । ९७ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख ३, करण केसी शून्य र रोहित पौडेल ९ रनमै आउट भएपछि नेपालको सम्भावना सकिएको थियो । आरिफ र रनको गति बढाउने प्रयासमा अगाडि पठाइएका करणलाई राजाले एलबीडब्लू आउट गरे ।

वान–डे अन्तर्राष्ट्रियमा डेब्यु गरेका सागर पुनलाई क्याप दिँदै कप्तान पारस खड्का ।तस्बिर : रमन सिवाकोटी


दीपेन्द्रले ६४ बलमा २ चौका प्रहार गरी ४० रन बनाए । सोमपाल कामीले २७, वसन्त रेग्मीले १७ रन बनाउँदै नेपालको हारलाई अल्झाइराखे । नवौं नम्बरमा ब्याटिङ गरेका सोमपालले ३४ बल खेली १ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे । सन्दीप लामिछाने आउट हुने अन्तिम खेलाडी थिए । उनलाई २ रनमा अस्फाक अहमदले बोल्ड गरे ।


म्यान अफ द म्याच देब्रेहाते स्पिनर राजाले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए । तीव्र बलर नाविदले १० ओभरमा ४८ रन खर्चेर ३ र उनका ओपनिङ जोडी अमिर हायतले ९ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।


२६ ओभरमा २ विकेट गुमाई १ सय ३७ रन जोड्दै यूएईले उत्कृष्ट सुरुआत गरेको थियो । युवा लेग स्पिनर सन्दीप लामिछानेले नेपालबाट वान–डे अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ गरेपछि यूएई खुम्चिएको थियो । सन्दीपले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिए । नेपालले गत महिना नेरल्यान्ड्ससँग एमस्ट्राडममा दुई खेलको शृंखला खेल्दै वान–डे अन्तर्राष्ट्रियमा प्रवेश पाएको थियो । पारसले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा २६ रन खर्चेर चार विकेट लिएका थिए ।


अस्फाक र चिराग सुरीले १२ ओभरमा पहिलो विकेटका लागि ७० रन जोडेर यूएईलाई दमदार सुरुआत दिलाएका थिए । अस्फाकलाई ४५ रनमा वसन्तले एलबीडब्लू आउट गरे । अर्को ओभरमा सन्दीपले कप्तान रोहन मुस्ताफालाई १ रनमा एलबीडब्लू आउट गरे । सुरीले रमिज शेहजादसँग तेस्रो विकेटमा ६६ रन जाडे । ३५ रन बनाएका शेहजादलाई वसन्तले एलबीडब्लू आउट गरे । सन्दीपले साइमन अनवरलाई ३ रनमा आउट गरे ।


मोहम्मद उसमानको विकेट सोमपाल कामीले लिए । सिंगापुरविरुद्धको अघिल्लो खेलमा शतक बनाएका सुरीले ६५ रन जोडे । उनले ९१ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । सन्दीपले लगातार बलमा अब्दुल सकुरलाई १० रन र नाविदलाई शून्यमा आउट गरे । एडनान मुफ्तीले ४६ बलमा ८ चौका प्रहार गर्दै ५७ रन बनाएपछि यूएईको स्कोर मजबुत भएको थियो ।


सन्दीपबाहेक नेपालबाट वसन्त र सोमपालले २–२ विकेट लिए । सोमपालले १० ओभरमा ५८ र वसन्तले ४९ रन खर्चे । कुनै विकेट लिन नसकेका करण केसीले ८ ओभरमा ६१ रन खर्चन पुगे ।

प्रकाशित : भाद्र १५, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?