कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

१८ औं एसियाली खेलकुद: फुपूल्हामुलाई चोटिलो चोट

ध्रुव तुलाधर

जकार्ता — पदकको प्रबल दाबेदार जुडोकी फुपूल्हामु खत्रीले १८ औं एसियाली खेलकुद यात्रालाई चोटसँगै टुंग्याएकी छन् । जकार्ता कन्भेन्सन सेन्टरको हलस्थित म्याट १ मा बिहीबार प्रतिस्पर्धा गर्न उत्रिएकी फुपूले आयोजक राष्ट्रकी एर्डेलिया युलीलाई खेल सुम्पिइन् ।

१८ औं एसियाली खेलकुद: फुपूल्हामुलाई चोटिलो चोट

ओलम्पियन फुपू प्रतिस्पर्धा गर्नु २० मिनेटअघि जिउ तताउँदै थिइन् । अर्का खेलाडीसँग ठोक्किएर उनले दायाँ हातमा चोट बोकिन् । ती खेलाडीको भारले कुहिनामा असर पार्‍यो । तत्काल आइसले सेक्दै र टेपिङ गरेपछि फुपूलाई प्रतिस्पर्धामा पठाइएको थियो ।


चोटको कुनै मतलब नगरी खेलेकी फुपूल्हामुले विपक्षी युलीसँग पूरा अवधि भिडिन् । चारै मिनेट खेलेकी उनले अन्तिममा वाजारीबाट हार बेहोरिन् । युलीले एक समय फुपूलाई लडाएर उठ्ने अवसर नै दिइनन् । जतिबेला उनी दाहिने हातबाट बल निकाल्न सफल भइरहेकी थिइन् ।


रियो ओलम्पिक खेलेकी फुपूल्हामु १२ औं सागकी स्वर्ण विजेता खेलाडी हुन् । जुडोमा सागको स्वर्ण जित्ने पहिलो महिला खेलाडी उनीबाट एसियाडमा पनि पदक आस गरिएको थियो । उनी २०२० को टोकियो ओलम्पिकका लागि आईओसी सोलिडारिटीअन्तर्गत जापानमा प्रशिक्षणरत छिन् ।


ओलम्पियन फुपूल्हामुले खेल्नुअघि आफू घाइते हुनु दुर्भाग्यपूर्ण भएको बताइन् । उनले भनिन्, ‘आशा थियो, एसियाडमा राम्रो प्रदर्शन गर्छु भन्ने । दुखाइले जति प्रदर्शन गर्न सक्थें त्यो गर्न सकिनँ । आज मेरो करिअरकै खराब दिनजस्तो भयो । अरूका कारण म घाइते भएँ ।’ महिला ६३ केजी तौलमुनिको उक्त प्रतिस्पर्धा जुलीलाई हराएको भए उनी क्वाटरफाइनल पुग्ने थिइन् । जहाँ उनको भेट जापानी खेलाडी नामी नाबेकुरासँग हुन्थ्यो । जापानी फाइनल पुगेको खण्डमा हार्नेलाई पदकका लागि रिपिचेजमा खेल्ने मौका हुन्थ्यो ।


नेपाली टोलीका प्रशिक्षक देवु थापाले फुपूल्हामुले चोटका बावजुद राम्रो प्रदर्शन गरेको बताइन् । उनले भनिन्, ‘खेल्नुअघि चोट बोकिन् । उनी खेल गुमाउन चाहन्न थिइन् । टेप लगाएर खेलिन् । राम्रो खेलेको हो । विपक्षी त्यति सशक्त थिइनन् । हाम्रो जित्ने गेम थियो । उनको मुख्य चलाउने हातै दाहिने थियो । त्यो चलाउन सकिनन् ।’


खेल्नुअघिको सामान्य घटनाले सबैलाई दु:खी बनाएको प्रशिक्षक थापाको भनाइ थियो । उनले भनिन्, ‘फुपूबाट पदक आस गरिएकाले यो घटना हाम्रा लागि निकै दु:खदायी रह्यो ।’
खेलपछि फुपूल्हामुलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । एमआरआई रिपोर्टका अनुसार दायाँ हातको कुहिनाको हड्डीमा ठूलो चोट नदेखिए पनि मांसपेशी च्यातिएको छ । फुपूल्हामुलाई शतप्रतिशत ठीक हुन केही समय लाग्नेछ । उनले अब केही समय आराम गर्नुपर्ने प्रशिक्षक थापाले जानकारी गराइन् ।


बिहीबारै अर्की आशा गरिएकी मनिता श्रेष्ठ प्रधान पनि भियतनामी थी विच एनगोससँग पराजित भइन् । सागकी रजत विजेता मनिता पनि चोटमा थिइन् । तीन दिनअघि उनले अभ्यासका क्रममा काँधमा चोट बोकेकी थिइन् । टेप टाँसेर खेलमा उत्रिएकी उनले अन्तिम मिनेटमा विपक्षीलाई इप्पोनबाट खेल सुम्पिइन् ।


पुरुषतर्फ ७३ केजीमुनिको तौलमा सञ्जित डंगोलले पाकिस्तानी सुलमन फहाद हमादसँग सजिलै हार बेहोरे । १ मिनेट ३४ सेकेन्ड टिकेका सञ्जित इप्पोनका आधारमा पराजित भए । आठ खेलाडी सहभागी रहेको जुडोमा शुक्रबार महिला ७८ केजीमुनि पुनम श्रेष्ठ, पुरुष ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।


एथलेटिक्स
धाविका सरस्वती भट्टराई बिहीबार महिला १५ सय मिटर दौडमा व्यक्तिगत टाइमिङ सुधार्न असफल भइन् । उनले ४ मिनेट ३४.२६ सेकेन्डमा दौड पूरा गरिन् । १९ सहभागीमध्ये उनी १४ औं स्थानमा रहिन् । उनी लाओस, इन्डोनेसिया, टिमोर लिस्टे, माल्दिभ्स र यमनका खेलाडीभन्दा अगाडि थिइन् ।


यस इभेन्टमा राष्ट्रिय कीर्तिमान पनि सरस्वतीकै नाममा छ । रियो ओलम्पिकमा उनले ४ मिनेट ३३.९४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । जारी एसियाडको ८०० मिटर दौडमा भने सरस्वतीले व्यक्तिगत प्रदर्शन सुधार गरेकी थिइन् ।


नेपालको एसियाडमा एथलेटिक्सको प्रतिस्पर्धा पनि सकिएको छ । ६ खेलाडीले भाग लिएकोमा पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले मात्र राष्ट्रिय कीर्तिमान बनाएका थिए ।


भलिबल
वरीयताका लागि खेलिरहेको नेपालले बिहीबार श्रीलंकासँग ३–१ को सेटमा खेल हारेको छ । पहिलो सेट २५–२३ ले जितेको नेपालले त्यसपछि लगातार तीन सेट २५–१६, २६–२४, २५–२१ ले गुमाएको थियो ।


समूह चरणका दुई खेल हारेको नेपालले वरीयताको खेलमा भने मंगोलियालाई ३–१ ले हराएको थियो । यसअघि नेपाली भलिबलले तीन संस्करणमा भाग लिँदा एउटै खेल जित्न सकेको थिएन । ३२ वर्षपछि एसियाडमा फर्केको नेपालले मंगोलियालाई हराएर ऐतिहासिक सफलता पाएको हो ।


सेपाकटाक्रो
मेन्स क्वाडरान्ट प्रारम्भिक चरणमा नेपालले बिहीबार मिश्रित नतिजा निकालेको छ । पाकिस्तानलाई २–० ले हराएको नेपाली टोली इरानसँग पराजित भयो । बिहीबार पाकिस्तानसँग पहिलो गेम २१–१६ र दोस्रो २१–८ ले जितेको नेपाली टोली इरानसँग भने २१–११, २१–७ ले हारेको थियो । समूह ‘बी’ को ९ खेलमा नेपालले २ खेल जितेको छ । यसअघि सिंगापुर र भियतनामसँग पराजित भएको थियो ।


स्क्वास
मेन्स टिम इभेन्टमा हङकङसँग ३–० ले हारेको छ । अरहान्तकेशर सिंह यिप फेङसँग ११–५, ११–९, ११–५ ले पराजित हुँदा राजेन्द्र शाक्यले ११–२, ११–५, ११–३ ले खेल गुमाए । उनी ची हिन हेनरीसँग हारेका हुन् । अर्का खेलाडी अमृत थापामगर पनि पराजित भए । अमृत चुङ मिङसँग ११–६, ११–३, ११–६ ले पराजित भए । नेपालले समूह चरणमा पाँचै खेल गुमाएको छ । यसअघि नेपाली टोली पाकिस्तान, जापान, दक्षिण कोरिया र फिलिपिन्ससँग पराजित भएको थियो ।


पदक थप्दै इन्डोनेसिया
१८ औं एसियाली खेलकुदमा चीन १ सय ८ स्वर्णसहित २ सय ३१ पदक जितेर तालिकामा अगाडि छ । त्यसमा चीनका ७१ रजत र ५२ कांस्य समावेश छन् । जापानले ५८ स्वर्ण, ४९ रजत र ६४ कांस्यसहित १ सय ७१ तथा दक्षिण कोरियाले ३८ स्वर्ण, ४६ रजत र ५५ कांस्यसहित १ सय ३९ पदक जितेर दोस्रो र तेस्रो स्थानमा छन् ।


आयोजक इन्डोनेसियाले ३० स्वर्णसहित ८९ पदक जितेर आफूलाई चौथो स्थानमा उभ्याइसकेको छ । एसियाड इतिहासमा इन्डोनेसियाको यो सबैभन्दा राम्रो प्रदर्शन हो । इरानले १९ स्वर्णसहित ५७, उज्वेकिस्तानले १५ स्वर्णसहित ५३, चाइनिज ताइपेईले १४ स्वर्णसहित ५५ पदक र उत्तर कोरियाले १२ स्वर्णसहित ३२ पदक जितेका छन् । उनीहरू क्रमश: पाँचौंदेखि आठौं स्थानमा छन् ।


यसअघि सन् १९६२ मा आफैंले आयोजना गरेको चौथो एसियाडमा इन्डोनेसियाले ११ स्वर्णसहित ५१ पदक जितेको थियो । त्यो एसियाडमा इन्डोनेसियाको उत्कृष्ट प्रदर्शन थियो । त्यसबाहेक दोहोरो अंकमा इन्डोनेसियाले स्वर्ण जितेको थिएन ।


परम्परागत मार्सल आर्टस पेनकेक सिलातमा इन्डोनेसियाले सर्वाधिक ८ स्वर्ण जितेको छ । स्पोर्टस क्लाइम्बिङ, पाराग्लाइडिङ र माउन्टेन बाइक साइक्लिङमा २–२ स्वर्ण जितिसकेको छ । पाराग्लाइडिङमा ऐतिहासिक रजत जितेको नेपाल तालिकाको ३३ औं स्थानमा छ । नेपालको छिमेकी राष्ट्र भारत १३ स्वर्ण, २० रजत र २३ कांस्य पदकसहित नवौं स्थानमा छ । उसले एथलेटिक्सबाट ७, कुस्ती, सुटिङबाट २–२, रोविङ र टेनिसमा १–१ स्वर्ण जितेको हो । बहराइनले १० स्वर्ण, थाइल्यान्डले ९ स्वर्णपदक जितेका छन् ।
जारी एसियाडमा ३७ राष्ट्रले पदक जितेको अवस्थामा दक्षिण एसियाली राष्ट्र पाकिस्तानले ३ र अफगानिस्तानले २ कांस्यपदक जितेका छन् ।

नवितालाई मिश्रित नतिजा
टेबलटेनिस


महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठले मकाउकी सुत फोइ तामलाई ४–३ ले हराइन् । बेस्ट अफ सेभेनमा भएको खेलमा नेपालकी नम्बर एक खेलाडी नविताले प्रतिस्पर्धात्मक खेलमा ११–८, ८–११, ३–११, ११–८, ७–११, ११–६, ११–७ को सेटमा जित पाइन् । दिनकै अर्को खेलमा हङकङकी होई केम दुसँग सोझो सेटमा पराजित भइन् । नविताले अन्तिम ३२ को खेलमा ११–५, ११–१, ११–६, ११–७ ले खेल गुमाइन् ।


महिला सिंगल्सतर्फ अन्तिम ६४ चरणमा नेपालकी स्वेच्छा नेम्वाङ पनि पराजित भइन् । उनी मंगोलियाकी दोलिनजु बातबायरसँग सोझो सेटमा हारेकी हुन् । स्वेच्छाले ११–९, १३–११, ११–६, ११–६ ले खेल गुमाइन् ।


पुरुष सिंगल्समा स्यान्टु श्रेष्ठ र अमरलाल मल्ल दुवैले खेल गुमाए । युवा स्टार स्यान्टु भने मकाउका ची चेन चेओङसँग ४–२ को सेटमा पराजित भए । उनले १०–१२, ८–११, ९–११, ११–७, ११–५, ८–११ ले सेट गुमाएका थिए । अमरलाल मंगोलियाका इर्डेनबायर चिनबाटसँग ४–३ को सेटमा हारे । पहिलो सेट ११–८ ले गुमाएपछि दोस्रो र तेस्रो गेम ११–९, ११–६ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएका थिए । त्यसपछि उनले ११–८, ८–११, ११–२, ११–५ ले खेल गुमाए ।

प्रकाशित : भाद्र १५, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?