यूईएफए अवार्डमा रियलको वर्चस्व

एजेन्सी

मोनाको — स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीले बिहीबार राति मोनाकोमा भएको यूईएफए अवार्डमा वर्चस्व जमाएका छन् । 

क्रोएसियाका लुका मोड्रीच उत्कृष्ट मिडफिल्डरसँगै गत सिजनको उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकमा रियलका केलर नाभास तथा डिफेन्डरमा रियलका कप्तान सर्जियो रामोस चुनिए । यसै सिजनको सुरुआतमा रियल म्याड्रिड छाडेर इटालीको युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फरवार्ड घोषित भए ।

गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउँदा रोनाल्डोले १५ गोल गरेका थिए । रियलले त्यसबाहेक यूईएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि पनि हात पारेको थियो ।

प्रकाशित : भाद्र १५, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनपरी भाडा असुली

रासस

काठमाडौँ — सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि लागू भएको हो । यो प्रणालीका कारण सडकमा कम सवारीसाधन चलिरहेका छन् । कम सवारीसाधन चलेका बेला सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रु रामबहादुर थापाले बताए ।

'सार्वजनिक यातायातमा सकेजति भाडा असुली भइरहेको छ, ट्याक्सी मिटरमा हिँड्न मान्दैनन्, मन लागे जति माग्छन्, बिरामी परेर अस्पताल जानेलाई पनि सवारीसाधन पाउन मुस्किल छ, नियामक निकायले निरीक्षण गरेको छैन'–उनले भने । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राज्यले दिएको सहुलियतको नियम पनि सार्वजनिक यातायातले पालना गरेका छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाल नियमित अनुगमन भइरहेकाले बढी भाडा असुल्नेलाई कारवाही गरिने बताउँछन् ।

बढी भाडा लिने सवारीसाधन नम्बर महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ र विभागको नम्बरमा पनि सम्पर्क गरी टिपाउन सकिने विभागले जनाएको छ । ती सवारीसाधन चालकलाई ट्राफिक प्रहरीले रु पाँच हजारसम्म कारवाही गर्नेछ ।

प्रकाशित : भाद्र १५, २०७५ १७:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT