२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बर्मुडा यात्रा दोहोर्‍याउने आशा

विनोद पाण्डे

काठमाडौँ — नेपाललाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । मलेसियामा पहिलो दुई खेलपछि स्थिति अनुमान गरिएअनुरूपको ठीकविपरीत भइसकेको छ ।

बर्मुडा यात्रा दोहोर्‍याउने आशा

दुवै खेल हारेपछि नेपालको फाइनल दौड कमजोर बनिसकेको छ । नेपालका सामु अब एउटै विकल्प मात्र बाँकी छ, राउन्ड रोबिनमा बाँकी रहेको सबै ३ खेल जित्ने । यति पनि नेपाललाई फाइनल पुर्‍याउन अपर्याप्त हुन सक्छ । ओमानसँगको अप्रत्याशित हार र अर्को दाबेदार यूएईसँगको पराजयपछि नेपालको हातमा फाइनल यात्रा छैन । ६ राष्ट्र सम्मिलित प्रतियोगिताको फाइनल पुग्न नेपालले अरू टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

यूएई र ओमान दुवैले पहिलो दुई खेल जितेका छन् । यी दुवैले कम्तीमा दुई खेल हारेको खण्डमा र नेपालले तीनै खेलमा राम्रो जित हात पारेमा मात्र फाइनल पुग्ने सम्भावना रहन्छ । यूएई र ओमानले एक आपसमा तथा हङकङसँग खेल्न बाँकी छ । नेपालले शनिबार मलेसियासँग खेल्नेछ । त्यसपछिको बाँकी दुई खेल सिंगापुर र हङकङसँग खेल्नेछ ।

२०१३ को विश्व क्रिकेट लिग डिभिजन ३ को सम्झना नेपाली टोलीलाई मलेसियामा एसिया कप छनोटमा जोस भर्न मद्दत गर्न सक्छ । नेपाली क्रिकेटले यसलाई ‘द मिराकल अफ बर्मुडा’ भनेर पनि सम्झने गर्छ । अर्थात बर्मुडाको जादुमय यात्रा ।

नेपाल ५ वर्षअघि डिभिजन ३ खेल्न बर्मुडा गएको थियो । ठीक अहिले जस्तै नेपाललाई त्यतिखेर पनि दाबेदारमा राखिएको थियो । नेपाल पहिलो दुई खेलमा अमेरिका र युगान्डासँग पराजित भएको थियो ।

समान हैसियतको अमेरिकासँगको पराजय सामान्य भए पनि युगान्डासँगको पराजय नेपालका लागि निकै अप्रत्याशित थियो । मुख्य भनेको नेपाललाई युगान्डासँगको हारले रेलिगेसनतर्फ धकेलिदिएको थियो । एउटा अर्को हारले नेपाललाई रेलिगेसनमा परी डिभिजन ४ मा धकेल्न सक्थ्यो ।

नेपालको असली खेल त्यसपछि सुरु भयो । बर्मुडा, ओमान र इटालीमाथि नेपालले जित हात पार्‍यो । बर्मुडा र इटालीमाथिको ठूलो जितले पनि नेपालको फाइनल यात्रा निश्चित भएन । यस्तैमा युगान्डाले अमेरिकामाथि जित हात पार्दा नेपाल फाइनलमै पुग्यो । फाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले उपाधि हात पार्‍यो ।

आयोजक मलेसिया र सिंगापुर नेपालका लागि धेरै ठूला प्रतिद्वन्द्वी होइनन् । यी दुई टोलीमाथि नेपालले निरन्तर जित हात पार्दै आएको छ । तर नेपालले मलेसियामा वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रअनुरूपको प्रदर्शन देखाउन सकिरहेको छैन । त्यसैले मलेसिया र सिंगापुरसँगको खेलमा आफ्नो वास्तविक लय समाउँदै हङकङसँग खेल अगाडि निखारिएर बस्नु नेपालका लागि उत्तम हुन्छ ।

मलेसिया विगतमा नेपालका लागि परम्परागत प्रतिद्वन्द्वी थियो । अहिले यी दुई टोलीमा ठूलो भिन्नता छ । नेपाली क्रिकेट २०१२ यता उकालो लाग्दा मलेसिया डिभिजन ४ मै अल्झिइरहेको छ । मलेसियाको प्रदर्शन एसिया कप छनोटमा निकै तारिफयोग्य रहेको छ । पहिलो खेलमा डिभिजन २ को टोली हङकङलाई ३ विकेटले स्तब्ध पारेको मलेसिया दोस्रो खेलमा ओमानसँग अन्तिम ओभरमा मात्र २ विकेटले पराजित भएको थियो ।

त्यसैले मलेसिया सोचेको जस्तो सजिलो प्रतिद्वन्द्वी नहुन सक्छ नेपाललाई । त्यसै पनि मलेसिया घरेलु विकेटमा खेलिरहेका हुनाले नेपाललाई टाउको दुखाइ बन्न सक्छ ।

कप्तान पारस खड्काकै भनाइमा एसियाली महाद्वीपको विकेट भन्न नसकिने हुनाले सबै प्रतिद्वन्द्वी समान हैसियतका छन् । मलेसियामा खेल्नु नेपालका लागि पानीपँधेरो जस्तो छ । तर पछिल्लो समय नेपालले मलेसियामा खेलेको छैन ।

यस्तोमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागर पुनको मलेसियाको अनुभव नेपाललाई महत्त्वपूर्ण हुन सक्छ । दुई महिनाअघि सागरले मलेसियामा मलेसिया प्रिमियर लिगमा आफ्नो टोली क्वालालम्पुरलाई विजेता नै बनाउने क्रममा दुई शतक र एक अर्धशतसहित १० खेलको ९ इनिङ्समा ४ सय ५२ रन बनाएका थिए । उनको औसत ५० भन्दा माथि थियो ।

९ विकेट लिँदै उनी मलेसियामा म्यान अफ द सिरिज चुनिएका थिए । सागरले ओमानसँगको पहिलो खेलमा ८३ रनको इनिङ्स खेलेका थिए ।

एसिया कप छनोटको विजेताले यूएईमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ । नेपालले एसिया कपलाई हेर्दै मलेसियासँगको खेलबाटै आफ्नो प्रदर्शनको गति बढाउन जरुरी छ । बाँकी बर्मुडाको जादुमय यात्रा जस्तैको आशा ।

प्रकाशित : भाद्र १६, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?