१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

साफ च्याम्पियनसिप २०१८ : ढाका, बालगोपाल र उपाधि लक्ष्य

राजु घिसिङ

काठमाडौँ — बालगोपाल महर्जनले बंगलादेशी राजधानी ढाकामा तीन सिजन व्यावसायिक फुटबल लिग खेले । करिब दुई करोड जनसंख्या भएको सहरको ठूलै क्लबमा एक सिजन प्रशिक्षकको जिम्मेवारी सम्हाले ।

साफ च्याम्पियनसिप २०१८ : ढाका, बालगोपाल र उपाधि लक्ष्य

साफ गेम्स १९९३ को स्वर्णपदक विजेता राष्ट्रिय टिमका यी मिडफिल्डरले त्यसको २० वर्षपछि उही रंगशालामा प्रशिक्षकका रूपमा बंगबन्धु गोल्डकपको उपाधि पनि कब्जा गरे । त्यसैले महर्जनको फुटबल करिअरको दोस्रो घर हो बंगलादेश ।

उनी फेरि एकपल्ट ढाका यात्रामा आइतबार निस्कँदैछन् । यसपालिको यात्रा दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ हो र यसमा उनको मिसन पनि प्रस्टै छ– उपाधि जित्ने । ‘दुई वर्षयताको नतिजा त्यति राम्रो छैन । लिग नहुँदा पनि समस्या देखिएको छ । तर, सबै टिमको अवस्था १९–२० छ । त्यसैले हाम्रो लक्ष्य उपाधि नै हो,’ महर्जनले शुक्रबार भने ।

काठमाडौं संस्करण (सन् २०१३) को च्याम्पियन अफगानिस्तानले दक्षिण एसिया छाडेर मध्यएसियाको सदस्यता लिएर पनि दुई वर्षअघिको साफ च्याम्पियनसिप खेलेको थियो । तर, अफगान टिमले यसपालि ढाका यात्रा गर्ने छैन ।

नौ वर्षअघि ढाकामा भएको साफमा भारतको यू–२३ टिम च्याम्पियन भएको थियो । सिनियर टिम एएफसी एसियन कप २०१९ मा छनोट भइसकेको स्थितिमा यसपालि पनि साफमा यू–२३ टिमलाई ढाका पठाउने तयारी गरेको छ ।

नेपालका पूर्वप्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले सम्हालेको भारतीय युवा टिमले साफको तयारीमा अस्ट्रेलियामा दुई साताको क्याम्प सञ्चालन गरेको थियो । ‘भारतीय टिम हामीभन्दा धेरै माथिको हो । उसको २३ वर्षमुनिको टिम पनि राम्रो छ,’ प्रशिक्षक महर्जनले भने, ‘आयोजक बंगलादेश र माल्दिभ्स पनि बलिया छन् । तर, उनीहरू हामीले जित्नै नसकिने टिम होइनन् । बंगलादेशमाथि वर्चस्व कायम राख्दै हामी खेल जित्न सक्छौं ।’

रोहित चन्द

जेठ २३ देखि तयारी गरेको नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटानसँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन भारत, श्रीलंका र सन् २००८ को च्याम्पियन माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलका लागि छनोट हुनेछन् ।

पन्ध्र वर्षअघि घरेलु मैदानमा माल्दिभ्सलाई हराएर च्याम्पियन भएको बंगलादेशले १८ औं एसियाली खेलकुदअघि दक्षिण कोरियामा १२ दिने क्याम्प सञ्चालन गरेको थियो । नेपालले पनि १० दिने क्याम्प बैंककमा गरेको थियो ।

बेलायती प्रशिक्षक जेमी डेले सम्हालेको बंगलादेशी यू–२३ टिम एसियाडमा थाइल्यान्डसँग बराबरीपछि कतारलाई हराएर नकआउट चरण नै पुगेको थियो । जापानी प्रशिक्षक ग्योतोकी कोजु नेतृत्वको नेपाल यू–२३ भने समूहका तीनै खेलमा हारेको थियो । त्यस क्रममा नेपाललाई २–१ ले हराएर पाकिस्तानले एसियाडमा ४४ वर्षयता पहिलो जित हात पारेको थियो । त्यसैले प्रशिक्षक महर्जनको लक्ष्य उपाधितिरै भए पनि नेपाललाई साफमा ट्रफीको दाबेदार भनिहाल्ने अवस्था छैन ।

सफलताको दबाब
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग कोजीको सम्झौता फेब्रुअरी, २०१९ सम्म छ । तर, भिसा नलिई नौ दिन ‘ओभर स्टे’ गरेकाले उनीमाथि सरकारले नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइयो । उनी बैंकक क्याम्प र एसियाडपछि उतै छन् ।

त्यसैले कार्यवाहक मुख्य प्रशिक्षकका रूपमा बालगोपाल महर्जनले फेरि राष्ट्रिय टिम सम्हाल्ने अवसर पाएका हुन् । उनी २२ वैशाखमा भएको एन्फा निर्वाचनमा कर्माछिरिङ शेर्पा नेतृत्वको समूहको पक्षमा खुलेरै लागेका थिए । शेर्पा समूहले नै चुनाव जित्यो । राजुकाजी शाक्यको स्थानमा असारमा उनको नियुक्तिलाई लिएर चर्को आलोचना पनि भयो । त्यसैले साफमा सफलता हात पार्ने दबाबमा छन्, महर्जन ।

सार्क गोल्डकपका रूपमा आयोजित पहिलो संस्करण (१९९३) मा राउन्ड रोबिन लिगका आधारमा नेपाल तेस्रो भएको थियो । साफ च्याम्पियनसिपका अन्य संस्करणमा नेपाल सेमिफाइनलमाथि उक्लिएको छैन । पछिल्लोपल्ट २०११ (नयाँदिल्ली) र २०१३ (काठमाडौं) मा साफको सेमिफाइनलमा नेपाली टिमको बाधक अफगानिस्तान बनेको थियो ।

पाकिस्तानसँग हार्नुअघि जकार्ता–पालेम्बाङ एसियाडमा नेपाली टिम जापानसँग १–० र भियतनामविरुद्ध २–० ले हारेको थियो । नीराजन खडकाबाहेक साफको नेपाली
टिमका सबै खेलाडी एसियाडमा सहभागी थिए ।

फिफा वरीयतामा नेपाल तीनै प्रतिद्वन्द्वीभन्दा अगाडि छ । साफको नेपाली टिममा एएफसी सोलिडारिटी कप, बंगबन्धु गोल्डकप र यू–२३ को १२ औं दक्षिण एसियाली खेलकुद (साग) विजेता खेलाडीको वर्चस्व रहेको छ ।

यी तीन सफलता बालगोपाल महर्जन (बंगबन्धु), राजु शाक्य (१२ औं साग) र ग्योतोकी कोजु (सोलिडारिटी कप) को टिमले सन् २०१६ मा ११ महिनाभित्र दिलाएका थिए । ढाकाको ब्रदर्स युनियन क्लबका पूर्वखेलाडी र प्रशिक्षक महर्जनलाई त्यही खेलाडीको समूहको वर्चस्वमा साफमा पहिलो सफलता हात पार्ने चुनौती छ ।


जितमा विश्वस्त
‘एसियाडमा हारे पनि साफमा पाकिस्तानलाई पराजित गर्ने विश्वास छ,’ प्रशिक्षक महर्जनले भने, ‘भुटानले पनि पछिल्लो समय निकै प्रगति गरेको छ । तर, हामी समूह चरण पार गर्नेमा विश्वस्त छौं ।’ पाकिस्तानी टिम ब्राजिली प्रशिक्षक जोसे एन्टोनियो नोगुइराले सम्हालेका छन् भने इंग्ल्यान्डका ट्रेभोर मोर्गानले भुटानी टिम ।

भुटानविरुद्ध नेपालले लगभग शतप्रतिशत सफलता हात पारेको इतिहास छ । तर, सात गोल गर्दै पछिल्लो सिजन भारतको आई लिगमा मिनेरवा पञ्जाबलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका छेन्चो ग्याल्सेनको टिमलाई कमजोर आँक्न मिल्दैन ।

हुन त नेपाली गोलकिपर किरण चेम्जोङले पनि पञ्जाबको च्याम्पियन यात्रामा ‘हाफ सिजन’ गोलपोस्ट सम्हालेका थिए । यी चेम्जोङसँगै डिफेन्डर कप्तान विराज महर्जन, ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका मिडफिल्डर नीराजन खड्का र फरवार्ड भरत खवासले एकै वर्ष (सन् २००८) मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

गोलकिपर एलन न्यौपाने, डिफेन्स देवेन्द्र तामाङ, दिनेश राजवंशी, राष्ट्रिय टिममा पहिलोपल्ट स्थान बनाएका सुमन अर्याल, मिडफिल्डर सुनील बल र हेमन्त थापामगर साफमा नयाँ अनुहार हुन् । सात वर्षयता इन्डोनेसियन लिग खेलिरहेका रोहित चन्द नेपाली टिमको मुख्य हतियार हुन सक्छन् । उनलाई आवश्यकताअनुसार डिफेन्स वा मिडफिल्डमा खेलाउने महर्जनले बताए ।

कोजीको अभाव नहुने
साफको तयारीमा बंगलादेशले बुधबार श्रीलंकाविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । तर, बंगलादेश घरेलु मैदानमै १–० ले हार्‍यो । ‘हामीलाई तयारीमा मैत्रीपूर्ण खेल नभए पनि समस्या छैन,’ नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘टिममा कोजीको अभाव हुने छैन । दस–१२ दिनयता टिमसेट अझै राम्रो भएको छ । हामीले एसियाड र बैंकक क्याम्पमा रक्षात्मक फुटबल खेलेका थियौं । अब टिम पूर्णत: फरक छ । हामी साफमा आक्रामक फुटबल खेल्दैछौं । किनभने हामीलाई जित आवश्यक छ र त्यसका लागि
गोल गर्नैपर्छ ।’

बैंकक र इन्डोनेसिया यात्रापछि खेलाडीहरू आत्मविश्वासी भएको पनि प्रशिक्षक महर्जनले बताए । ‘हामी प्रतिद्वन्द्वीअनुसार रणनीति र टिमको संरचना बनाउनेछौं,’ खेलाडीका रूपमा साफको पाँच संस्करण खेलेका ४८ वर्षीय उनले भने, ‘खेलाडी आत्मविश्वासी भएका छन् । टेक्निकल, ट्याक्टिकल र मानसिक रूपमा खेलाडी राम्रो अवस्थामा छन् । टिम साफका लागि पर्फेक्ट भएको छ । त्यसैले हाम्रो लक्ष्य उपाधितिरै हो ।’

प्रकाशित : भाद्र १६, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?