कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टुंगिँदै छ एसियाडको रौनक

ध्रुव तुलाधर

जकार्ता — मुख्य रंगशाला जेलोरा बुङ कार्नो (जेबीके) मा आइतबार साँझ हुने भव्य समारोहसँगै १८ औं एसियाली खेलकुदले बिट मार्दै छ ।

टुंगिँदै छ एसियाडको रौनक

‘इनर्जी अफ एसिया’ सन्देश साथ दुई साता बढी चलेको एसियाको कुम्भ खेल मेलामा साढे ११ हजार खेलाडीले आफ्नो प्रतिभा देखाए ।

उनीहरूले ४५ देशको प्रतिनिधित्व गरेका थिए । जहाँ उत्तर र दक्षिण कोरियाका केही खेलाडी संयुक्त टिममा रहेर खेलेर पदक जिते । उद्घाटनमा जसरी इन्डोनेसियाले समापन समारोहमा पनि आफ्नो कला र संस्कृतिलाई विशेष महत्त्वसाथ प्रस्तुति दिनेछ । समापनमा पनि राष्ट्रपति जोको विदोदोको उपस्थिति रहने बताइएको छ । इन्डोनेसियाले दोस्रोपल्ट एसियाड सफलतापूर्वक सम्पन्न गरेको हो । पहिलोपल्ट सन् १९६२ मा चौथो संस्करण आयोजना गरेको थियो ।

यसपालि राजधानी सहर जकार्ता र पुरानो सहर पालेम्बाङमा विभिन्न ४५ खेलका प्रतिस्पर्धा भए । दक्षिणी सुमात्रा राज्यको राजधानी पालेम्बाङमा १० खेल आयोजना भयो । समापनमा आयोजकले १९ औं संस्करण आयोजक हाङझाउ सहरलाई आयोजनाको झन्डा हस्तान्तरण गर्नेछ । सन् २०२२ को एसियाड चीनको हाङझाउ सहरले आयोजना गर्नेछ ।

आयोजक इन्डोनेसियाले आयोजनासँगै एसियामा आफ्नो खेलशक्तिलाई पनि प्रस्तुत गरेको छ । चौथो संस्करण आयोजना गरिएको सेनायनस्थित जेबीके रंगशालालाई पुनर्निर्माण गरेर यसपल्टका लागि भव्य बनाइएको थियो । जहाँ मुख्य रंगशालाबाहेक आर्चरी फिल्ड, हक्की, बास्केटबलसहित तीन एबीसी ट्रेनिङ मैदानहरू समावेश गरिएको छ । यसबाहेक विभिन्न १२ स्थानमा खेलहरू भएका थिए ।

मुस्लिम जनसंख्या भएको विश्वकै ठूलो देशमा पर्ने इन्डोनेसियाले विश्व खेलकुदमा एसियाडमार्फत गतिलो सन्देश दिएको छ । सन् १९४९ मा डचभूमिबाट स्वतन्त्र इन्डोनेसियाले आफ्नो आर्थिक विकास पनि प्रदर्शन गर्‍यो ।

यसपल्ट ३७ देशका खेलाडीले आफ्नो प्रदर्शनबाट एसियाडको कुनै न कुनै पदक गलामा झुन्डयाएका छन् । त्यसमा स्वर्ण जित्नेमा २२ देशका खेलाडीमात्र छन् । एसियाको शक्ति राष्ट्र चीनले आफ्नो प्रभुत्व जमाएको छ । उसका खेलाडीले १ सय ३१ स्वर्णसहित २ सय ८७ पदक जितेका छन् । चीनको पछिल्लो इन्चोन एसियाडमा भन्दा कम पदक हो ।

जकार्ता एसियाडमा चीनले पौडीमा धेरै स्वर्ण जित्यो । चिनियाँ पौडीवाजले १९ स्वर्णसहित ५० पदक हत्याए । एथलेटिक्समा १२ स्वर्णसहित ३३ पदक जितेको चीनले क्यानोइङ/कायक तथा उसुबाट १०–१० स्वर्ण जितेको थियो । रोविङ, आर्टिक्टिक जिम्न्यास्टिक, सुटिङ, डाइभिङमा पनि चिनियाँ खेलाडीले आफ्नो प्रभाव जमाए ।

एसियाडको शक्तिशाली जापानले पछिल्लो दुई संस्करणको नतिजा हेर्ने हो भने यसपालि निकै राम्रो प्रगति गरेको छ । आफ्नो पुरानो छवि फर्काउने प्रयासमा रहेको जापानले आफूलाई दोस्रो स्थानमा उभ्याएको छ । जबकि जापान पछिल्ला संस्करणहरूमा दक्षिण कोरियाभन्दा पछाडि पार्दै आएको थियो ।

यस एसियाडमा जापानले ७३ स्वर्णसहित २ सय १ पदक जितिसकेको छ । दक्षिण कोरिया तेस्रोमा झर्दा उसको खातामा ४८ स्वर्णसहित १ सय ७३ पदक छ । कोरियाले सबैभन्दा बढी पदक फेन्सिङबाट जितेको थियो । फेन्सिङमा ६ स्वर्णसहित १५ पदक जितेको हो । त्यसपछि तेक्वान्दोमा ५ स्वर्णसहित १२ पदक जित्यो ।

आयोजक इन्डोनेसियाको इतिहासकै राम्रो नतिजा आएको छ । उसले ३१ स्वर्णसहित ९८ पदक जितिसकेको छ । उसका खेलाडीले लक्ष्यभन्दा बढी सफलता दिलाएका छन् । एसियाको शीर्ष १० भित्र रहँदै २०–२० स्वर्ण जित्ने आयोजकको अपेक्षा थियो । चौथो संस्करण आयोजना गर्दा पाएको सफलतापछि एसियाडमा इन्डोनेसियाको यो नै ठूलो उपलब्धि हो । इन्डोनेसियाले सबैभन्दा बढी स्वर्ण पेनकेक सिलातबाट जितेको छ । यो देशको परम्परागत खेल मार्सल आर्टस हो । पहिलोपल्ट एसियाडमा समावेश पेनकेकबाट इन्डोनेसियाले १४ स्वर्ण जितेको थियो ।

उज्वेकिस्तान, चाइनिज ताइपेई, बहराइनले जकार्ता एसियाडमा आफूलाई निकै माथि पुर्‍याएका छन् । उज्वेकले पहिलोपल्ट २१ स्वर्णसहित ७० पदक जितेको छ । पाँचौं स्थानमा रहेको टोली एसियाड पदक तालिकामा पहिलोपल्ट शीर्ष १० भित्र परेको हो । उज्वेकले सबैभन्दा धेरै कुराँसबाट ६ र बक्सिङबाट ५ स्वर्ण भित्र्याएको छ । पहिलोपल्ट समावेश गरिएको कुराँस उज्वेकिस्तानको परम्परागत मार्सल आर्टस हो । यो कुस्तीको विकसित गरिएको खेल हो ।

चाइनिज ताइपेईले आफूलाई टपटेनमा बलियो बनाएको छ । उसले १७ स्वर्णसहित ६७ पदक जितेको छ । उसले ग्वाङझाउमा १३ र इन्चोनमा १० स्वर्णमात्र जितेको थियो । बहराइन पनि १२ स्वर्णसहित २६ पदक जितेर शीर्ष दस नजिक रह्यो । एसियाड इतिहासमा उसको राम्रो प्रदर्शन हो । बहराइनले सबै स्वर्ण एथलेटिक्सबाट जितेको थियो । एथलेटिक्समा एकछत्र हुने क्रममा बहराइनले कुल २५ पदक जितेको हो । अर्को उसले जितेको एउटा पदक ह्यान्डबलको थियो ।

शीर्ष दसमा रहेको उत्तर कोरियाले भारोत्तोलनमा बाजी मार्‍यो । भारोत्तोलनको ८ स्वर्ण जितेपछि उत्तर कोरिया पदक तालिकामा माथि रहयो । त्यसमा कुस्ती, जिम्न्यास्टिक र सुटिङको स्वर्ण थपिएको थियो । ग्वाङझाउ र इन्चोनमा शीर्ष ५ मै रहेको काजकिस्तान नवौं स्थानमा पुगेको छ । १५ स्वर्णसहित ७५ पदक जितेको कजाक भारतभन्दा पछाडि छ ।

भारतले १५ स्वर्णसहित ६९ पदक जितेको छ । भारतका लागि सफल खेल एथलेटिक्स बन्यो । यसैबाट उसका खेलाडीले ७ स्वर्णसहित १९ पदक जिते । त्यसमा सुटिङ, कुस्तीले २–२ स्वर्ण थप्दा ब्रिज, रोविङ, टेनिस र बक्सिङका खेलाडीले पनि १–१ स्वर्ण जितेका थिए ।

पदक संख्याका हिसाबमा पछिल्लो दुई एसियाडभन्दा राम्रो प्रदर्शन गरे पनि थाइल्यान्डले स्वर्णपदक भने पुरानको हाराहारीमा जितेको छ । उसले ११ स्वर्णसहित ७३ पदक जितेको छ । २०२२ को विश्वकप आयोजक कतारले ६ स्वर्णसहित १३ पदक जित्दा एथलेटिक्सबाट सर्वाधिक धेरै ४ स्वर्ण जितेको हो ।

नेपाल पदक तालिकाको ३३ औं स्थानमा छ । दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानले चार कांस्यपदक जितेको छ । पाकिस्तान ३४ औं स्थानमा छ । अन्य दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले पदक जित्न सकेनन् । पाकिस्तानले एथलेटिक्स, कराँते, कबड्डी र स्क्वासबाट पदक जितेको हो ।

नेपाल एक्लो रजतपदक जितेर उक्त स्थानमा रहेको छ । यो नेपालले २० वर्षपछि एसियाडमा जितेको पहिलो रजत पनि हो । यसअघि बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । त्यो एसियाड इतिहासको ठूलो पदक थियो । यसपालि पाराग्लाइडिङले उक्त सफलता पाएको हो ।

पहिलोपल्ट एसियाडमा डेब्यु गेम पाराग्लाइडिङको पुरुष टिम क्रसकन्ट्रीमा नेपालले रजत जितेको थियो । २९ खेलमा नेपालले सहभागिता जनाउँदा अन्य खेल पदकविहीनको स्थितिमा रहे । त्यसमा नेपालका १ सय ८७ खेलाडी प्रतिस्पर्धामा उत्रेका थिए । ग्लाइडरहरू विजय गौतम, विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ र विमल अधिकारीको गलामा मात्र रजत झुन्डिए ।

पछिल्लो दुई एसियाडमा नेपालले १–१ कांस्य पदकमात्रै जितेको थियो । ग्वाङझाउमा बक्सिङका दीपक महर्जन र इन्चोनमा कराँतेकी विमला तामाङले कांस्य जितेका थिए । एसियाली खेलकुदमा सबैभन्दा सफल खेल भनिएको तेक्वान्दो लगातार तेस्रोपल्ट पदकविहीन भएर घर फर्कनुपरेको छ । विगतमा भन्दा धेरै पदक जित्ने अपेक्षा गरिए पनि त्यसलाई पूरा नेपाली खेलाडी जकार्तामा असफल भएका छन् ।

जकार्ता एसियाडमा व्यक्तिगततर्फ धेरै पदक जापानकी पौडीवाज रिकाको इकीले जितेकी छन् । उनी ६ स्वर्ण र २ रजत जितेर अगाडि रहिन् । दोस्रोमा रहेका चीनका पौडीवाज जियायु झुले ५ स्वर्ण जितेका छन् । आर्चरी, सुटिङ, पौडी र भारोत्तोलनका केही इभेन्टमा विश्व कीर्तिमान पनि कायम भए भने थुप्रै खेलमा एसियन रेकर्ड तोडिएका छन् ।

इन्डोनेसियाकी १२ वर्षीया स्केटबोर्डर बुन्गा निमास सिन्ता पदक जित्ने कान्छी खेलाडी भएकी छन् । उनले पालेम्बाङमा भएको स्केटबोर्डमा कांस्यपदक जितेकी हुन् । उनले पदक जितेर आमालाई जन्मदिनको उपहार दिएकी छन् । उनकी आमाको अगस्ट २९ मा ३५ औं जन्मदिन परेको थियो । ‘मैले पदक जितेर आमालाई जन्मदिनको उपहार दिएकी छु’, सिन्ताले भनिन् । यस इभेन्टमा १९ वर्षीया फिलिपिनीले स्वर्ण र १७ वर्षीया जापानीले रजत जितेका थिए ।

इन्डोनेसियाको ओलम्पिकतर्फ नजर
इन्डोनेसियाको अब ओलम्पिक आयोजनातर्फ चासो बढेको छ । एसियाड सफलतापूर्वक आयोजना गरेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले इन्डोनेसिया २०३२ को ओलम्पिक आयोजनाको दाबेदार भएको बताएका छन् ।

राष्ट्रपति जोको विदोदोसँग राष्ट्रपति भवनमा आयोजित भेटघाटमा शनिबार अध्यक्ष बाचले एसियाली खेलकुद सफलतापूर्वक आयोजना गरेकामा प्रशंसा गर्दै इन्डोनेसिया ओलम्पिक आयोजनालाई सक्षम भएको बताएका छन् । भेटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष अहमद अल फाहद अल सबाह पनि उपस्थित थिए । आईओसी तथा ओसिएका पदाधिकारी एसियाड समापनका लागि जकार्ता आइपुगेका छन् ।

महिला फुटबल
महिला फुटबलको एसियाड स्वर्णपदक जापानले जितेको छ । पालेम्बाङमा शनिबार भएको फाइनलमा जापानले चीनलाई १–० ले हराउँदै स्वर्ण जितेको हो । युइका सुगासावाले ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जापानले सन् २०१० को ग्वाङझाउ एसियाडपछि महिला फुटबलमा दोस्रोपल्ट स्वर्ण जितेको हो ।

नेपालको खेल
१८ औं एसियाली खेलकुदमा आइतबार अन्तिम दिन बिहान नेपालले ट्रायथलनमा प्रतिस्पर्धा गर्नेछ । पालेम्बाङमा जारी खेलमा नेपालले मिक्स्ड टिममा प्रतिस्पर्धा गर्नेछ । १२ औं सागमा रजतपदक जितेको उक्त विधामा रोजा केसी, दीपेश चौधरी, सोनी गुरुङ र वसन्त थारूले प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार व्यक्तिगततर्फ प्रतिस्पर्धा गरेका दीपेश चौधरीले सफलतापूर्वक दूरी पार गर्न सकेनन् । १.५ किमि पौडी, ४० किमि साइक्लिङ र १० किमि दौड रहेको उक्त इभेन्टमा दीपेश आफ्नै असावधानीका कारण खेलमा अयोग्य भएका थिए । तोकिएको स्थानमा जुत्ता नफुकाली अन्यत्र राखिएकाले उनी अयोग्य भएका हुन् । उनलाई १५ सेकेन्ड पेनाल्टी दिइए पनि उनी प्राविधिक त्रुटिका कारण अयोग्य भए ।

ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले दीपेशको पहिलो अन्तर्राष्ट्रिय सहभागिता रहेकाले अल्मलिएको हुन सक्ने बताए । दीपेशले पौडी र दौडमा राम्रो गरे पनि बाइकमा खराब प्रदर्शन गरेको श्रेष्ठले जनाएका छन् । यस इभेन्टमा ३३ खेलाडीले प्रतिस्पर्धा गर्दा दुई जना अयोग्य र चारले इभेन्ट पूरा गर्न सकेनन् ।

जुडोतर्फ मिक्स्ड टिमको अन्तिम १४ मा प्रतिस्पर्धा गरेको नेपाली टोली भारतसँग ४–१ ले पराजित भएको छ । नेपालबाट इन्द्रबहादुर श्रेष्ठ, श्रीराम मकाजु, देविका खडका, पुनम श्रेष्ठ, मनिता प्रधान श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

त्यसमा ७० केजीमुनि मनिताले भारतकी गरिमा श्रेष्ठलाई इप्पोनमा पराजित गरेकी थिइन् भने अरू सबैले हारे । जकार्ता एसियाडमा नेपाली जुडोले पाएको यो नै एउटा जित हो । व्यक्तिगततर्फ आठै खेलाडीले एउटै खेल जित्न सकेनन् ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?