१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालको कठिन जित

काठमाडौँ — नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । पहिला दुई खेलमा पराजित भएको नेपालले मलेसियामामाथि शनिबार १९ रनको कठिन जित हात पार्दै एसिया कपमा पुग्ने आशालाई जीवितै राखेको छ ।

नेपालको कठिन जित

वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा टस हारेपछि ब्याटिङ गर्न आएको नेपालले ७ विकेट गुमाई १ सय ८८ रन बनायो । नेपाललाई कडा चुनौती दिएको घरेलु टोली मलेसियाले ९ विकेट गुमाई १ सय ६९ रनमात्र बनाउन सक्यो । नेपाल पहिलो दुई खेलमा ओमान र यूएईसँग पराजित भएको थियो ।

दिनको खेलका अन्य नतिजाले अंक तालिकालाई रोमाञ्चित बनाउनुका साथै नेपालको झिनो आशालाई पनि ब्युँत्याएको हो । ओमानले सिंगापुरलाई ८ विकेटले पराजित गरी फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनायो । ओमानको यो लगातार तेस्रो जित हो । राउन्ड रोबिनमा ६ टोली प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा खेल्नेछन् र विजेता टोली एसिया कपमा पुग्नेछ ।

सिंगापुरले बनाएको २१५–८ को स्कोरलाई ओमानले २७ ओभरभित्र पूरा गरेको हो । रनरेट निकै राम्रो भएका कारण पनि ओमानको फाइनल सम्भावना बलियो देखिएको हो । अर्को खेलमा हङकङले यूएईलाई १ सय ८२ रनले पराजित गर्‍यो । बाबर हायत र कप्तान अंशुमन रथको शतकपछि हङकङले ४९ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई २ सय ७५ रन बनायो । पहिलो दुई खेल जितेको यूएई जवाफमा २५ ओभरभित्र ९३ रनमा अलआउट भयो ।

नेपालले फाइनलमा पुग्ने आशालाई जीवितै राख्न सिंगापुर र हङकङसँग बाँकी रहेका दुवै खेल राम्रो अन्तरमा जित्नुपर्ने हुन्छ । ओमानले हङकङ र यूएई, यूएईले मलेसिया र ओमान तथा हङकङले ओमान र नेपालसँग खेल्न बाँकी छ । ओमानले दुवै खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना बन्नेछ । नेपालले सिंगापुरसँग आइतबार खेल्नेछ ।

तुलनात्मक रूपमा कमजोर मानिएको मलेसियासँग पनि नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेन । नेपालले ६० रन बनाउँदा सुवास खकुरेल (९), ज्ञानेन्द्र मल्ल (११), कप्तान पारस खडका (१३), अनिलकुमार शाह (१६), सागर पुन (०) पेभेलियन फर्किसकेका थिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ८८ बलमा १ सय १ रन जोडेपछि मात्र नेपाल जोगिएको थियो ।

वायुमास ओभल मैदानमा दीपेन्द्रका लागि फेरि यादगार बनेको थियो । १० महिनाअघि उनले यही मैदानमा भारत यू–१९ विरुद्ध नेपाल यू–१९ लाई स्मरणीय १९ रनको जित दिलाउने क्रममा ८८ रन बनाउनुका साथै २ विकेट लिएका थिए । उनले शनिबार पनि त्यस्तै प्रदर्शनलाई निरन्तरता दिंदै म्यान अफ द म्याच प्रदर्शन गरे । उनले ५१ बलमा ५४ रन बनाउनुका साथै ६ ओभरमा २५ रनमात्र खर्चेर १ विकेट लिए । दीपेन्द्रले ६ चौका र १ छक्का प्रहार गरे ।

आरिफ ६४ रन बनाई अविजित रहे । उनले ४८ बलको इनिङ्समा ५ चौका र २ छक्का प्रहार गरे । सोमपाल कामी पनि पहिलो बलमा आउट भए भने वसन्त रेग्मीले नटआउट ६ रन बनाए । मलेसियाका सियाजरुल इद्रुस र सर्भिन मुनिएन्डीले ३–३ विकेट लिए ।

मलेसियाले आक्रामक सुरुआत गरे पनि नियमित जस्तो विकेट गुमाइरहँदा नेपाललाई सजिलो भयो । ओपनर अनबर अरुद्दिन र सैयद अजिजले समान ३४ रन बनाए । अरुद्दिनले ४० बल र अजिजले २५ बल खेली समान ३ चौका र २ छक्का प्रहार गरे । कप्तान अहमद फैजले २८ बलमा २ चौका र १ छक्का प्रहार गरी २२ र वीरनद्वीप सिंहले ३४ बलमा २१ रन बनाए ।

नेपालबाट देब्रेहाते स्पिनर वसन्त रेग्मीले ३ विकेट लिए । उनले ६ ओभरमा ३६ रन खर्चेका थिए । सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै २० र सोमपाल कामीले ६ ओभरमा ३९ रन खर्चेर समान २ विकेट लिए । सागरको नाममा १ विकेट रह्यो ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?