कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हामी आत्मविश्वासी छौंः प्रमुख प्रशिक्षक बालगोपाल महर्जन

हिमेश

ढाका — पाकिस्तानले विरलै फुटबललाई महत्त्व दिन्छ, तर यही पाकिस्तानले नेपाललाई मैदानमा भने समय समयमा दु:ख भने दिन्छ । हालै सम्पन्न एसियाली खेलकुदतर्फ फुटबलको निहुँमा पाकिस्तानले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्केको थियो ।

हामी आत्मविश्वासी छौंः प्रमुख प्रशिक्षक बालगोपाल महर्जन

यो टिम नेपालकै समूहमा परेको थियो । लिग चरणमा अन्तिम खेल थियो र नेपालसामु पाकिस्तानलाई हराएर नकआउट चरण प्रवेश गर्ने ऐतिहासिक अवसर थियो, तर नेपाल त्यसमा नराम्रोसँग चुक्यो ।


नेपाल त्यो खेलमा २–१ ले पराजित रह्यो । पाकिस्तान आफै पनि अगाडि बढ्न सकेन, तर उसले नेपाललाई एउटा पाठ भने सिकायो । साफ च्याम्पियनसिपका लागि भने विभिन्न खाले आन्तरिक विवादबीच पाकिस्तानले बल्लतल्ल टिम घोषणा गर्न सक्यो र यही टिमको उद्घाटन खेलमा नेपालले मंगलबार सामना गर्दैछ । बंगबन्धु रंगशालामा हुने खेलमा नेपालको रणनीति कस्तो हुँदो हो त ? सतर्क ? सावधान ? होइन, नेपाल त्यस खेल जित्नेमा आत्मविश्वास छ ।


यो आत्मविश्वास किन भन्दा टिमका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनको दाबी छ, नेपाल प्रतियोगिताको उपाधिका लागि दावेदार नै हो र यो सफलतासम्म पुग्न पहिलो खडुकिलोका रूपमा रहेको छ, पाकिस्तान । अघिल्लो दिन ढाका आइपुगेको नेपाली टिम सोमबार अभ्यास सत्रमा राम्रै पसिना बगायो र त्यस अगाडि प्रशिक्षक महर्जनसँगै कप्तान विराज महर्जन प्रि–म्याच कन्फ्रेन्समा उपस्थिति भए । प्रशिक्षक महर्जनले त्यस अवसरमा भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्ने, त्यसपछि उपाधि हात पार्ने ।’


‘हामी बंगलादेशमा उपाधि जित्न आएका हौं,’ प्रशिक्षक महर्जनले दाबी दोहराए । यसका लागि उनले प्रस्तुत गरेको तर्क हो, ‘नेपाली टिम अहिले खुबै सन्तुलित छ र यसका लागि खेलाडीले पर्याप्त मिहिनेत पनि गरेका छन् ।’ उनले टिमको संरचना कस्तो हुने हो र कसरी खेल्ने हो, त्यो खुलाउन चाहेनन, तर उनको संकेत थियो, नेपालले ४–२–२ मा खेल्नेछ र सम्भवत: नेपाली फुटबलको भविष्य मानिएका डिफेन्डर सुमन अर्यालले डेब्यु गर्ने छन् ।


प्रशिक्षक महर्जनको भनाइ थियो, ‘टिममा एउटा नयाँ अनुहारका रूपमा सुमन छन् ।’ उनले एसियाली खेलकुदमा पाकिस्तानविरुद्धको खेलबाट आफूहरू पाठ सिकेको पनि दाबी गरे । उनको तर्क थियो, त्यस खेलमा दुवैको यू–२३ टिम थियो । अहिले दुवैको पूरा टिम मैदानमा उत्रने छ । त्यसैले प्रदर्शनमा फरक पर्ने छ नै । ‘हामी अझ परिपक्व भएर मैदानमा उत्रने छौं । प्रतियोगिताको पहिलो खेल जहिले पनि महत्त्वपूर्ण हुन्छ र हामी यसमा आत्मविश्वासी भएर खेल्ने छौं ।’


पाकिस्तानी फुटबल संघले भने जस्तै विवादबीच पनि प्रशिक्षकमा भने ब्राजिली एन्टोनियो नोगुरालाई भित्र्याएको छ । उनले टिमलाई खुबै मिहिनेत गराएका छन् । उनले पहिलो उद्देश्य थियो, खेलाडीलाई खेलमा अत्याधिक रूचि बढाउने र साफ च्याम्पियनसिप जस्तो प्रतियोगिताका लागि मानसिक रूपमा तयार पार्ने । उनको दाबी छ, आफू यसमा सफल भएका छन् । त्यही कारणले त हो, पाकिस्तानले एसियाली खेलकुदमा नेपाललाई हराउन सकेको ।


पाकिस्तानले मैदानमा उतार्ने टिम लगभग उही हो, जुन जाकार्तामा पनि खेलेको थियो । प्रशिक्षक एन्टोनियाले भनेका छन्, ‘ढाकामा हाम्रा खेलाडीले अझ राम्रो प्रदर्शन गर्नेछन् । टिमको प्रदर्शनमा पक्कै सुधार आउने छ ।’ यस्तोमा नेपालले यही प्रतिद्वन्द्वीको सामना गर्दा सतर्क हुनै पर्छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालले दुई अवसरमा मात्र पहिलो खेल जित्न सफल रहेको छ । प्रतियोगिताको इतिहासमा टिकेर नेपालले सावधानीपूर्वक खेल्नु पर्नेमा दुई मत हुने छैन ।

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालको प्रदर्शन

खेल जित बराबरी हार गोल

४ १ २ १ ६–५


प्रकाशित : भाद्र १८, २०७५ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?