कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साफ च्याम्पियनसिप २०१८: फेरिएला भाग्य ?

हिमेश वज्राचार्य

ढाका — जसरी सिनेमा सफल बनाउन कुनै सूत्र छैन, त्यसरी नै फुटबलमा पनि कसरी सफल हुने, त्यसको मात्र कहाँ निश्चित मन्त्र छ र ?

साफ च्याम्पियनसिप २०१८: फेरिएला भाग्य ?

यस्तो मन्त्र हुँदो हो त नेपालले दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपमा अहिलेम्म केही न केही जितिसक्थ्यो । तर नेपालका लागि यो यस्तो प्रतियोगिता रहेको छ, जहाँ नेपालले प्रत्येकपल्ट संघर्ष गर्नुपरेको छ । संघर्ष न हो, नेपाल अहिलेसम्म पनि फाइनल पुग्न नसक्नु ।

फेरि एकपल्ट साफ च्याम्पियनसिपको नयाँ संस्करणको नजिक छौं । फेरि लागेको छ, सायद यसपल्ट नेपालले केही गर्न सक्छ । यसपल्ट फाइनलसम्मको यात्रा तय गर्न सकिने हो कि ? प्रतियोगिताको समूह विभाजन हेर्दा कम्तीमा नेपाल सेमिफाइनल पुग्नुपर्ने हो र एकपल्ट सेमिफाइनल पुगेपछि नेपालका लागि फाइनलको ढोका पनि खुल्नुपर्ने हो । सबैलाई थाहा छ, नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । अब यसपल्ट भाग्य फेरिने हो कि ?

राष्ट्रिय टिमको बिदाइमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले भनिहाले, साफ च्याम्पियनसिप भनेको नेपाली फुटबलका लागि विश्वकप हो र हामी यो प्रतियोगिता जित्न सक्छौं । नेपालले उपाधि जिते प्रत्येक खेलाडीले पाँच लाख रुपैयाँ पाउने घोषणा पनि गरे । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले त यही साफ च्याम्पियनसिप जित्ने हो भने प्रत्येक खेलाडीले ‘फ्लायट’ पाउने घोषणा नै गरेका थिए, तर खेलाडी त्यति भाग्यमानी रहेनन् ।

आखिरमा पुरस्कार घोषणाले मात्र जादुयी प्रदर्शन नहुने रहेछ । अनौपचारिक कुराकानीमै सही, पूर्वअध्यक्ष थापाले भनेका छन्, सायद मेरो कार्यकालमा नेपालले उपाधि जित्ने नलेखेकै हो कि ? हुन पनि उनले जति बेला एन्फामा राज गरे, नेपाली टिमले केही जित्नै सकेन । तर जति बेला उनी हटे, नेपालले एकपछि अर्को प्रतियोगिता जित्न थाल्यो । सायद यो अर्थमा एन्फाका अर्का पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ बढी भाग्यमानी हुन् कि ?

बंगबन्धु गोल्डकप र सोलिडारिटी कपसँगै दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण हात पारेको त्यति नै बेला हो । अर्को अर्थमा भन्ने हो भने यसलाई आधार मान्ने हो भने नेपाली राष्ट्रिय टिम लयमा छ ।

यति धेरै सफल पृष्ठभूमिमा नेपाल अहिलेको साफ च्याम्पियनसिपका लागि उपाधिको हकदार पनि हो । त्यसैले त नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दाबी गरेका छन्, नेपाललाई सम्भावित विजेता मान्नैपर्छ, पछिल्ला प्रदर्शनले यति दाबी गर्ने हक दिन्छ ।

तर साफ च्याम्पियनसिपको इतिहास पल्टाउने हो भने यसले बेग्लै इतिहास भन्छ । साफ च्याम्पियनसिपको अहिले हुने प्रतियोगिता दसौं संस्करण हो । सन् १९९३ मा नेपालले पहिलो संस्करणको आयोजना गरेको थियो । यसअघि दुईपल्ट सार्क गोल्ड पनि भए । केहीले यसलाई जोडेर साफ च्याम्पियनसिप ११ पल्ट भइसकेको छ पनि भन्छन् । जे होस, प्रतियोगिताको जतिसुकै संस्करण भए पनि यसको इतिहासले भन्छ, यो प्रतियोगितामा नेपालले संघर्ष गर्छ नै ।

जस्तो सन् १९९३ मै । नेपालले यो प्रतियोगिता ठूलो धमाकासहित आयोजना गर्न कुनै प्रकारको कन्जुस्याइँ गरेन, तर टिम आफैं भने सबैभन्दा चुत्थो साबित भयो । नेपालले लगत्तै गोवामा सेमिफाइनलसम्मको यात्रा त गरेको थियो, तर त्यो कुनै सम्झनलायक प्रदर्शन थिएन ।

नेपालले त्यति बेला चार खेल खेलेकोमा तीनमा पराजित रहेको थियो । नेपाल त्यसयता सन् २०११ मा आइपुगेर पहिलोपल्ट सेमिफाइनल पुगेको थियो । त्यति बेला नेपाल अन्तिम चारका लागि पूरा हकदार थियो ।

नयाँ दिल्लीको यो प्रदर्शनपछि नेपाल फेरि काठमाडौंमा भएको प्रतियोगितामा सेमिफाइनल पुग्यो, सन् २०१३ मा । तर केरलामा भएको पछिल्लो साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन फेरि बिर्सनलायक रह्यो ।

दक्षिण एसियाली खेलकुदको फुटबलमै नेपालले धेरै राम्रो गर्ने गरेको इतिहास भए पनि साफ च्याम्पियनसिप भने अपवाद नै रहने गरेको छ । तर यसपल्ट यो सबै इतिहास परिवर्तन हुन सक्छ, यदि नेपालले ढाकामा आफूले सक्दो फुटबल खेल्ने हो भने ।

यसका लागि आशावादी छन्, एन्फा अध्यक्ष शेर्पा, अनि मुख्य प्रशिक्षक महर्जन पनि । एन्फामा परिवर्तनको नारासहित नयाँ नेतृत्व आएयता यो पहिलो ठूलो प्रतियोगिता हो ।

यसअघिको नेतृत्वको सफलताको आधार अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन रहने गरेकोमा अहिलेका अध्यक्ष शेर्पाका लागि पनि अहिलेको साफ च्याम्पियनसिप परीक्षाकै रूपमै रहनेछ । यति सकारात्मक धारणा त राख्नैपर्छ कि नेपाली फुटबलका लागि उनी भाग्यमानी साबित हुनेछन् । यसपल्ट सायद नेपालको भाग्य फेरिनेछ, साफ च्याम्पियनसिपमा ।

साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन
खेल जित बराबरी हार गोल
२८ ८ ४ १६ ३३–४५

सार्क गोल्डकपमा नेपालको प्रदर्शन
खेल जित बराबरी हार गोल
६ १ २ ३ ४–६

प्रकाशित : भाद्र १९, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?