साफ च्याम्पियनसिप २०१८: फेरिएला भाग्य ?

हिमेश वज्राचार्य

ढाका — जसरी सिनेमा सफल बनाउन कुनै सूत्र छैन, त्यसरी नै फुटबलमा पनि कसरी सफल हुने, त्यसको मात्र कहाँ निश्चित मन्त्र छ र ?

पाकिस्तानविरुद्ध खेलको अघिल्लो दिन सोमबार ढाकामा प्रशिक्षणका क्रममा नेपाली टोली । तस्बिर : युजल श्रेष्ठ

यस्तो मन्त्र हुँदो हो त नेपालले दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपमा अहिलेम्म केही न केही जितिसक्थ्यो । तर नेपालका लागि यो यस्तो प्रतियोगिता रहेको छ, जहाँ नेपालले प्रत्येकपल्ट संघर्ष गर्नुपरेको छ । संघर्ष न हो, नेपाल अहिलेसम्म पनि फाइनल पुग्न नसक्नु ।

फेरि एकपल्ट साफ च्याम्पियनसिपको नयाँ संस्करणको नजिक छौं । फेरि लागेको छ, सायद यसपल्ट नेपालले केही गर्न सक्छ । यसपल्ट फाइनलसम्मको यात्रा तय गर्न सकिने हो कि ? प्रतियोगिताको समूह विभाजन हेर्दा कम्तीमा नेपाल सेमिफाइनल पुग्नुपर्ने हो र एकपल्ट सेमिफाइनल पुगेपछि नेपालका लागि फाइनलको ढोका पनि खुल्नुपर्ने हो । सबैलाई थाहा छ, नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । अब यसपल्ट भाग्य फेरिने हो कि ?

Yamaha

राष्ट्रिय टिमको बिदाइमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले भनिहाले, साफ च्याम्पियनसिप भनेको नेपाली फुटबलका लागि विश्वकप हो र हामी यो प्रतियोगिता जित्न सक्छौं । नेपालले उपाधि जिते प्रत्येक खेलाडीले पाँच लाख रुपैयाँ पाउने घोषणा पनि गरे । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले त यही साफ च्याम्पियनसिप जित्ने हो भने प्रत्येक खेलाडीले ‘फ्लायट’ पाउने घोषणा नै गरेका थिए, तर खेलाडी त्यति भाग्यमानी रहेनन् ।

आखिरमा पुरस्कार घोषणाले मात्र जादुयी प्रदर्शन नहुने रहेछ । अनौपचारिक कुराकानीमै सही, पूर्वअध्यक्ष थापाले भनेका छन्, सायद मेरो कार्यकालमा नेपालले उपाधि जित्ने नलेखेकै हो कि ? हुन पनि उनले जति बेला एन्फामा राज गरे, नेपाली टिमले केही जित्नै सकेन । तर जति बेला उनी हटे, नेपालले एकपछि अर्को प्रतियोगिता जित्न थाल्यो । सायद यो अर्थमा एन्फाका अर्का पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ बढी भाग्यमानी हुन् कि ?

बंगबन्धु गोल्डकप र सोलिडारिटी कपसँगै दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण हात पारेको त्यति नै बेला हो । अर्को अर्थमा भन्ने हो भने यसलाई आधार मान्ने हो भने नेपाली राष्ट्रिय टिम लयमा छ ।

यति धेरै सफल पृष्ठभूमिमा नेपाल अहिलेको साफ च्याम्पियनसिपका लागि उपाधिको हकदार पनि हो । त्यसैले त नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दाबी गरेका छन्, नेपाललाई सम्भावित विजेता मान्नैपर्छ, पछिल्ला प्रदर्शनले यति दाबी गर्ने हक दिन्छ ।

तर साफ च्याम्पियनसिपको इतिहास पल्टाउने हो भने यसले बेग्लै इतिहास भन्छ । साफ च्याम्पियनसिपको अहिले हुने प्रतियोगिता दसौं संस्करण हो । सन् १९९३ मा नेपालले पहिलो संस्करणको आयोजना गरेको थियो । यसअघि दुईपल्ट सार्क गोल्ड पनि भए । केहीले यसलाई जोडेर साफ च्याम्पियनसिप ११ पल्ट भइसकेको छ पनि भन्छन् । जे होस, प्रतियोगिताको जतिसुकै संस्करण भए पनि यसको इतिहासले भन्छ, यो प्रतियोगितामा नेपालले संघर्ष गर्छ नै ।

जस्तो सन् १९९३ मै । नेपालले यो प्रतियोगिता ठूलो धमाकासहित आयोजना गर्न कुनै प्रकारको कन्जुस्याइँ गरेन, तर टिम आफैं भने सबैभन्दा चुत्थो साबित भयो । नेपालले लगत्तै गोवामा सेमिफाइनलसम्मको यात्रा त गरेको थियो, तर त्यो कुनै सम्झनलायक प्रदर्शन थिएन ।

नेपालले त्यति बेला चार खेल खेलेकोमा तीनमा पराजित रहेको थियो । नेपाल त्यसयता सन् २०११ मा आइपुगेर पहिलोपल्ट सेमिफाइनल पुगेको थियो । त्यति बेला नेपाल अन्तिम चारका लागि पूरा हकदार थियो ।

नयाँ दिल्लीको यो प्रदर्शनपछि नेपाल फेरि काठमाडौंमा भएको प्रतियोगितामा सेमिफाइनल पुग्यो, सन् २०१३ मा । तर केरलामा भएको पछिल्लो साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन फेरि बिर्सनलायक रह्यो ।

दक्षिण एसियाली खेलकुदको फुटबलमै नेपालले धेरै राम्रो गर्ने गरेको इतिहास भए पनि साफ च्याम्पियनसिप भने अपवाद नै रहने गरेको छ । तर यसपल्ट यो सबै इतिहास परिवर्तन हुन सक्छ, यदि नेपालले ढाकामा आफूले सक्दो फुटबल खेल्ने हो भने ।

यसका लागि आशावादी छन्, एन्फा अध्यक्ष शेर्पा, अनि मुख्य प्रशिक्षक महर्जन पनि । एन्फामा परिवर्तनको नारासहित नयाँ नेतृत्व आएयता यो पहिलो ठूलो प्रतियोगिता हो ।

यसअघिको नेतृत्वको सफलताको आधार अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन रहने गरेकोमा अहिलेका अध्यक्ष शेर्पाका लागि पनि अहिलेको साफ च्याम्पियनसिप परीक्षाकै रूपमै रहनेछ । यति सकारात्मक धारणा त राख्नैपर्छ कि नेपाली फुटबलका लागि उनी भाग्यमानी साबित हुनेछन् । यसपल्ट सायद नेपालको भाग्य फेरिनेछ, साफ च्याम्पियनसिपमा ।

साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन
खेल जित बराबरी हार गोल
२८ ८ ४ १६ ३३–४५

सार्क गोल्डकपमा नेपालको प्रदर्शन
खेल जित बराबरी हार गोल
६ १ २ ३ ४–६

Esewa Pasal

प्रकाशित : भाद्र १९, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सधैं दाबेदार

आफ्नै भूमिमा भएको विश्वकप २०१४ को सेमिफाइनलमा ब्राजिललाई जर्मनीले ७–१ ले हराएको थियो । ब्राजिली फुटबल एक खेल हार्दैमा कहाँ मरेको थियो र ? कहाँ मर्न सक्छ र ? विश्वकप २०१८ मा छनोट हुने पहिलो देश बनेको ब्राजिल २१ औं संस्करणको सबभन्दा बलियो टिम हो ।
टिमको कमजोरी भनेको सायद नेयमारले बोकिरहेको चोट हो, तर यो पनि निको भइसकेको जस्तो छ ।
हिमेश वज्राचार्य

काठमाडौँ — फुटबललाई ‘ब्युटिफुल गेम’ भनेर नाम राख्ने अरू कोही होइन, ब्राजिली पेले थिए । उनलाई लाग्थ्यो, फुटबल आफैंमा सुन्दर छ । यो उनको अनुभव हो । फेरि अरूले पनि फुटबललाई ‘ब्युटिफुल गेम’ भन्छन्, किनभने पेलेको ब्राजिलले पस्कने फुटबल पनि त सुन्दर हुने गर्छ । भनिन्छ, युरोपेलीहरू दिमागले फुटबल खेल्छन्, ब्राजिलले मनले ।

ब्राजिलीको फुटबल माया बेजोड छ र यो ठ्याक्कै मनबाट बाहिर आउने गर्छ । फेरि युरोप र ब्राजिली शैलीको फुटबल पनि फरक छ ।


ब्राजिलियनहरू व्यक्तिगत खेल कौशलता देखाउन माहिर हुन्छन् । छोटा–छोटा पास खेल्छन्, अनि गोलका लागि सुन्दर माहोल सिर्जना गर्छन् । यी त भए, ब्राजिली फुटबलबारे साँच्चै केही सुन्दर शब्द । विश्वकप २०१८ हिजो रुसमा सुरु भइसकेको छ । अहिले पूरा विश्वकपमा यसकै चर्चा छ । अनि विश्वकप भनेपछि ब्राजिल कसरी छुट्न सक्छ र ? फुटबलको चर्चा ब्राजिलबिना पनि सम्भव हुन्छ र ? ब्राजिली फुटबलबारे अनौठा न अनौठा किस्सा सुन्न पाइन्छ, पत्याउन नै गाह्रो
हुने खालका ।


भनिन्छ, फुटबल जन्मेको त इंग्ल्यान्डमा हो, तर यसलाई हुर्काउने काम भने ब्राजिलले गर्‍यो । सबैलाई थाहा भएकै तथ्य हो, ब्राजिल नै एक मात्र त्यस्तो देश हो, जसले विश्वकपका सबै संस्करण खेलेको छ । यो गर्विलो प्रदर्शनको कीर्तिमान हो, ब्राजिलको नाममा रहेको । अनि ब्राजिल विश्वकपको सबैभन्दा सफल टिम पनि हो । सबैखाले तथ्यांकले यही भन्छ । उसले पाँचपल्ट विश्वकप जितेको छ । के यसपल्ट ब्राजिलले फेरि विश्वकप जित्न सक्छ त ?


ब्राजिलीले विश्वकपमा ब्राजिललाई नै समर्थन गर्ने त भयो नै, त्यसबाहेक पनि धेरैका लागि विश्वकप हुनुपर्छ, समर्थन गर्ने टिम ब्राजिल नै हुने गर्छ । हाम्रै एसियामा पनि ब्राजिली समर्थक धेरै छन् । अनि नेपालमा पनि । अरू बेला फुटबलमा खासै चासो नराख्ने पनि विश्वकप आउनुपर्छ, ब्राजिली समर्थक हुन्छन् । यस्तो छ, ब्राजिल र उसको फुटबल । फेरि उही प्रश्न के यसपल्ट ब्राजिलले विश्वकप जित्न सक्छ त ? यसको उत्तर ठ्याक्कै यस्तो भने छैन ।


तर निश्चित छ, ब्राजिल विश्वकप २०१८ को उपाधि जित्ने सबैभन्दा बलियो प्रत्याशी हो । धेरै फुटबल पण्डितले पनि यही भनिरहेका छन्, ब्राजिल नै हो, यसपल्ट उपाधि जित्न सक्ने टिम । यसपल्टको विश्वकपको टाइसिट यसो पल्टाउनुपर्छ र समीकरण तयार पार्नुपर्छ, ब्राजिलको सम्भावना निकै जीवन्त देखिन्छ । टाइसिट धेरै हदसम्म ब्राजिलको पक्षमा पनि देखिन्छ । सायद यसपल्ट भाग्य ब्राजिलीको दाहिने छ कि ? यी त भए, सबै सम्भावनाहरू ।


सबैभन्दा पहिले चार वर्ष अगाडिको विश्वकपमा फर्कौं न । त्यति बेला ब्राजिलले आफ्नै भूमिमा विश्वकप आयोजना गरेको थियो । त्यति बेला पनि भनियो, विश्वकप जित्ने ब्राजिल नै हो । टिम सेमिफाइनल पनि पुग्यो, यस्तोमा उपाधि लगभग दुई जित मात्र टाढा थियो । तर उफ, ब्राजिल सेमिफाइनलमा जर्मनीको हातबाट नराम्रोसँग पराजित रह्यो, ७–१ को कल्पनीय स्कोरमा । त्यति बेला सबैले भन्न थालेका थिए, अब केही होइन, ब्राजिलको फुटबलले मृत्यु आत्मसात् गर्‍यो ।


साँच्चै ब्राजिली फुटबलको सय वर्षको इतिहासमा टिमले यति नमीठो हार पहिला कहिले नै बेहोरेको थिएन । धेरैले के पनि अनुमान गरे भने अब ब्राजिली फुटबल कहिले पनि पहिले जस्तो हुने छैन । किन यस्तो भयो भनेर धेरै कारण पनि खोजिए । जतिका मुख, उत्तिकै फरक धारणा अगाडि आए । तर यी आरोप, पीडा अनि दु:ख सेलाउन धेरै समय लागेन । त्यसको दुई वर्षमै दक्षिण अमेरिकी विश्वकप छनोट सुरु भयो र यो सुरुआत थियो, ब्राजिली फुटबलको पुनर्निर्माण ।


अझ भनौं, पुनर्उत्थान । पुनर्उत्थान ? ब्राजिली फुटबल एक खेल हार्दैमा कहाँ मरेको थियो र ? कहाँ मर्न सक्छ र ? विश्वकप २०१८ मा छनोट हुने ब्राजिल पहिलो देश बनेको थियो । उसले छनोटमा साँच्चै गज्जब खेल्यो । त्यसो त छनोटमा ब्राजिल पहिलो खेलमै चिलीसँग २–० ले पराजित रहेको थियो । तर त्यसपछि ब्राजिलले कुनै खेल गुमाएन, लगातार १७ खेलमा । यसमा अर्जेन्टिनामाथि ३–० को जित अनि उरुग्वेलाई उसकै भूमिमा ४–१ ले हराउनु छनोटको केही सम्झनालायक खेल थिए ।


जति बेला पूरा विश्वकपका छनोटमा अरू ठूला टिम भनिनेहरू संघर्ष गरिरहेका थिए, त्यति बेला ब्राजिलले भने आरामले खेलिरहेको थियो किनभने प्रत्येक खेलपछि छनोट उसको एक पाइला नजिक आइरहेको थियो । छनोटयताका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने ब्राजिलले प्रभावशाली जित निकालेका छन्, जसमा जर्मनीविरुद्ध १–० जित पनि पर्छ । फेरि एकपल्ट इतिहास पल्टाउने हो भने ब्राजिलले जितेको विश्वकपको सूची बनाउनु ठीक हुन्छ, ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो ।


ब्राजिलले सन् १९५० र १९९८ को विश्वकप फाइनल पनि खेलेको थियो । सन् २०१० को विश्वकपमा खराब प्रदर्शनपछि ब्राजिलले पूर्वखेलाडी डुंगालाई प्रशिक्षकमा नियुक्त गरेको थियो । तर डुंगाले फेरि निराश पारे, ब्राजिली फुटबललाई । २००२ को च्याम्पियन प्रशिक्षक लुई फिलिप स्कोरलरीले फेरि २०१४ मा टिम सम्हाले । तर उनको टिमविरुद्ध सात गोल गरे जर्मनीले ब्राजिलमा भूकम्प नै ल्याइदिएको थियो । त्यसपछि आए, प्रशिक्षकमा लियोनार्डो बाची । सायद धेरैले उनलाई यो नामले चिन्दैनन् । उनलाई खासमा चिनिने ‘टीटी’ उपनामले हो । यो त हाम्रो उच्चारण भयो । पोर्चुगाली भाषामा यसको खास उच्चारण भने ‘चिची’ हुन्छ ।


उनी ब्राजिली टिममा के आए, टिममा फेरि ज्यान फर्केको थियो । यी चिची ब्राजिलमै जन्मे हुर्केका फुटबल व्यक्तित्व हुन् । उनीमाथि कुनै पनि बेला कुनै पनि अर्थमा युरोपेली फुटबलको प्रभाव परेको छैन, बरु उनी दक्षिण अमेरिकी शैलीको फुटबलमै भिजेका प्रखर प्रशिक्षक हुन् । उनले टिम सम्हालेयता ब्राजिलले लगातार सात खेल जितेको थियो, छनोटका । उनी ४–१–४–१ को शैलीमा फुटबल खेलाउन रुचाउँछन् । यो शैलीको विशेषता हो, आक्रामक फुटबल र त्यसलाई सुहाउँदा आकर्षक छोटा–छोटा पास ।


ब्राजिली मिडियालाई पनि यो शैली खुबै मन पर्छ, त्यसैले मिडियाले पछिल्लो समय टिम, खेलाडी र प्रशिक्षकको लगातार प्रशंसा गरिरहेको छ । चिची आवश्यकताअनुसार शैली परिवर्तन गर्न पनि माहिर छन् । र, यो शैली हो, ४–३–३ को । अहिलेको ब्राजिली टिमको शक्ति के हो त ? यसको पहिलो उत्तर हो, टिममा नयाँ र पुराना खेलाडीको राम्रो मिश्रण छ । यो भनेको जोस र अनुभवको मिलन हो । नेयमारदेखि जेसस, कोउटिन्हो, विलियन जस्ता खेलाडीमा कमजोरीभन्दा सबलता नै बढी छ ।


ब्राजिली टिमको मुख्य जिम्मेवारीमा त नेयमार नै हुनेछ । ग्याब्रिएल जेसस त चिचीका प्रिय खेलाडी हुन्, टिममा उनको पनि बलियो उपस्थिति हुनेछ । पउलिन्होलाई मुख्य खेलाडीको सूचीमा थपे हुन्छ । चिचेको नेतृत्वमा उनले पनि राम्रो गरिरहेका छन् । टिमको कमजोरी भनेको सायद नेयमारले बोकिरहेको चोट हो, तर यो पनि निको भइसकेको जस्तो छ । अन्त्यमा, फेरि एकपल्ट के भने ब्राजिल उपाधिको बलियो दाबेदार छ किनभने उससँग टिम छ, खेलाडी छ, लय छ । अनि त्यसलाई सुहाउने भाग्य पनि ।

himesh36@gmail.com

प्रकाशित : असार १, २०७५ ११:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT