साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसँग भिड्दै

हिमेश, कञ्चन अधिकारी

बंगलादेश (ढाका) — दसौं संस्करणको साफ च्याम्पियनसिप मंगलबार बंगलादेशको ढाकामा सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज मध्यान्ह स्थानीय समयअनुसार ३ बजेर ४५ मिनेट (नेपाली समय ४ बजे) मा सुरु हुँदै छ ।

सोमबार अभ्यास गर्दै नेपाली फुटबल टिम । तस्बिरः एन्फा

उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच खेल हुँदैछ। खेलको सम्पूर्ण तयारी भइसकेको बंगलादेश फुटबल संघले जनाएको छ। समूह ए र बी मा गरेर जम्मा सात देश सहभागी छन्। समूह ए मा नेपालसहित पकिस्तान, भुटान र बंगलादेश रहेको छ भने बी समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेको छ।

Yamaha

आजको दोस्रो खेल पनि ए समूहमै रहेको बंगलादेश र भुटनबीच हुनेछ।

नेपालको अवस्था के छ?

धेरैलाई लागेको छ, सायद यसपल्ट नेपालले केही गर्न सक्छ । यसपल्ट फाइनलसम्मको यात्रा तय गर्न सकिने हो कि ? प्रतियोगिताको समूह विभाजन हेर्दा कम्तीमा नेपाल सेमिफाइनल पुग्नुपर्ने हो र एकपल्ट सेमिफाइनल पुगेपछि नेपालका लागि फाइनलको ढोका पनि खुल्नुपर्ने हो । सबैलाई थाहा छ, नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । अब यसपल्ट भाग्य फेरिने हो कि ?

बंगबन्धु गोल्डकप र सोलिडारिटी कपसँगै दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण हात पारेको त्यति नै बेला हो । अर्को अर्थमा भन्ने हो भने यसलाई आधार मान्ने हो भने नेपाली राष्ट्रिय टिम लयमा छ ।

यति धेरै सफल पृष्ठभूमिमा नेपाल अहिलेको साफ च्याम्पियनसिपका लागि उपाधिको हकदार पनि हो । त्यसैले त नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दाबी गरेका छन्, नेपाललाई सम्भावित विजेता मान्नैपर्छ, पछिल्ला प्रदर्शनले यति दाबी गर्ने हक दिन्छ ।

दक्षिण एसियाली खेलकुदको फुटबलमै नेपालले धेरै राम्रो गर्ने गरेको इतिहास भए पनि साफ च्याम्पियनसिप भने अपवाद नै रहने गरेको छ । तर यसपल्ट यो सबै इतिहास परिवर्तन हुन सक्छ, यदि नेपालले ढाकामा आफूले सक्दो फुटबल खेल्ने हो भने ।

यसका लागि आशावादी छन्, एन्फा अध्यक्ष शेर्पा, अनि मुख्य प्रशिक्षक महर्जन पनि । एन्फामा परिवर्तनको नारासहित नयाँ नेतृत्व आएयता यो पहिलो ठूलो प्रतियोगिता हो ।

यसअघिको नेतृत्वको सफलताको आधार अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन रहने गरेकोमा अहिलेका अध्यक्ष शेर्पाका लागि पनि अहिलेको साफ च्याम्पियनसिप परीक्षाकै रूपमै रहनेछ । यति सकारात्मक धारणा त राख्नैपर्छ कि नेपाली फुटबलका लागि उनी भाग्यमानी साबित हुनेछन् । यसपल्ट सायद नेपालको भाग्य फेरिनेछ, साफ च्याम्पियनसिपमा ।

साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन
खेल जित बराबरी हार गोल
२८ ८ ४ १६ ३३–४५

सार्क गोल्डकपमा नेपालको प्रदर्शन
खेल जित बराबरी हार गोल
६ १ २ ३ ४–६

प्रकाशित : भाद्र १९, २०७५ १०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युवा क्लबद्वारा विद्यालयमा शिक्षक

हरि गौतम

रुकुमपूर्व — जिल्लास्थित एक युवा क्लबले स्थानीय विद्यालयका लागि शिक्षक उपलब्ध गराएको छ । भूमे गाउँपालिका २ गाबाङको सल्लेरी जनविकास युवा क्लबले आफैं तलब बेहोरेर स्थानीय हिमालय आधारभूत विद्यालयलाई शिक्षक उपलब्ध गराएको हो ।

रुकुमपूर्व भूमे गाउँपालिका २ को सल्लेरी जनविकास युवा क्लबले शिक्षक नियुक्त गरिदिएको हिमालय आधारभूत विद्यालय गाबाङ । तस्बिर : हरि

पर्याप्त शिक्षक नभएका कारण पठनपाठनमा समस्या भएपछि शिक्षक नियुक्त गरेर पठाइदिएको क्लबका अध्यक्ष दिलमान बुढाले बताए ।

‘विद्यालयमा शिक्षक अभाव हुँदा गाउँकै केटाकेटीले समस्या भोग्नुपरेपछि थोरै भए पनि सहयोग होस् भनेर शिक्षक नियुक्त गरेर पठाइदिएका छौं,’ बुढाले भने, ‘आशा छ, यसबाट पक्कै पनि विद्यालय र बालबालिकालको सिकाइमा टेवा पुग्नेछ ।’

बालशिक्षादेखि ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा रुजी बुढालाई मासिक ५ हजार रुपैयाँका दरले तलब बेहोर्ने गरेर पठाइएको छ । क्लबले देउसीभैलोबाट संकलित रकम, श्रम गरेर जम्मा गरेको रकम तथा विभिन्न ठाउँबाट क्लबलाई आएको सहयोग रकमको ब्याजबाट शिक्षकको तलब व्यवस्थापन गर्ने गरी योजना बनाएको छ ।

अहिले क्लबले तीन लाख रुपैयाँ लगानी गरेको छ । सोको ब्याजबाट विद्यालयमा शिक्षक खटाइएको हो । ‘पाँचवर्षे कार्ययोजना बनाएर विद्यालयमा शिक्षक नियुक्त गरिएको छ, विद्यालयको अवस्था सुधार हुँदै गएमा शिक्षकको तलब बढाउनेदेखि विद्यालयमा थप सहयोग गर्ने पनि क्लबले योजना बनाएको छ,’ अध्यक्ष बुढाले भने ।

पाँच जना शिक्षक कार्यरत रहेको यस विद्यालयमा अब शिक्षकको संख्या ६ पुगेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई शिक्षक उपलब्ध गराइएको क्लबले जनाएको छ ।

प्रधानाध्यापक झगबहादुर श्रेष्ठले सल्लेजरी जनविकास युवा क्लबले विद्यालयमा शिक्षक पठाइदिएको बताए । शिक्षकको संख्या थपिएपछि पठनपाठनमा सहजता हुने श्रेष्ठको भनाइ छ ।

क्लबले फोहोर व्यवस्थापन गर्न भन्दै विद्यालय परिसरका साथै गाउँमा पनि खाडल तयार पारेको छ । खाडलमा कुहिने र नकुहिने वस्तु राख्ने, कुहिनेबाट मल बनाउने र नकुहिने खाडलमा जम्मा भएको फोहोरलाई पुन: व्यवस्थापन गरिने क्लबका सचिव जयमान बुढा मगरले बताए ।

प्रकाशित : भाद्र १९, २०७५ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT