कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्याराग्लाइडिङ टोलीलाई गृहनगरमा स्वागत

बिना थापा

कास्की — १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पदकविहीन हुनबाट जोगाउने प्याराग्लाइडिङ टोलीलाई मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ ।

प्याराग्लाइडिङ टोलीलाई गृहनगरमा स्वागत

रजत पदक विजेता टिमलाई पोखरा विमानस्थलबाट गाडीमा चढाएर बाजागाजाका साथ नगर परिक्रमा गराइएको हो ।

विमानस्थलबाट मुस्ताङचोक, राष्ट्रबैंकचोक, लेकसाइड, चिप्लेढुंगा, नयाँ बजार र पृथ्वीचोक हुँदै र्‍याली रंगशाला पुगेको थियो । क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाई खेलकुद संस्था (ना) ले आयोजना गरेको कार्यक्रम सफल पार्न पोखरावासीले साथ दिए ।

पोखराका नगर प्रमुख मानबहादुर जिसी र पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष विश्वशंकर पालिखेसँगै पर्यटक र खेलकुद सम्बद्ध संघसंस्थाका अगुवा खेलाडीको स्वागतका लागि विमानस्थल पुगेका थिए । रंगशालामा आयोजित भव्य समारोहमा खेलकुदमन्त्री जगत विश्वकर्मासँगै विभिन्न संघसंस्थाले टिमका खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गरे ।

प्याराग्लाइडिङको पुरुष टिम इभेन्टमा विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा थिए भने महिलातर्फ त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङ सहभागी थिए । प्रशिक्षक योगेश भट्टराई, सानोबाबु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत पनि इन्डोनेसिया गएका थिए । ६ वटा इभेन्टमा प्रतिस्पर्धा गरेको नेपाली टोलीले पदक भने पुरुष टिम क्रसकन्ट्रीमा जितेको हो ।

पोखरामा उडान सुरु भएको दुई दशकसम्म पर्यटक रिझाउने साहसिक हवाई खेलमात्रै मानिएको प्याराग्लाइडिङले मुलुकलाई खुसी हुने मौका दिएको भन्दै खेलाडीको स्वागतमा पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता थियो । गृहनगरको सम्मान समारोहमा खेलाडीहरू केही भावुक पनि देखिए ।

पदकका लागि धेरै मेहनत र आफ्नै खर्च गरेको कान्छा खेलाडी युकेश गुरुङले बताए । ‘थप मेहनत र राज्यको सहयोग पाए स्वर्ण पदक जित्न सफल हुने विश्वास छ,’ उनले भने । इन्डोनेसियाको मौसम फरक रहेकाले थोरै अप्ठ्यारो भए पनि सबैको साथ सहयोग र विश्वासले पदक जित्न सफल भएको टिम क्यप्टेन विमल अधिकारीले बताए । ‘खेललाई राम्रो गर्न निरन्तर सहयोग चाहिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?