साफ च्याम्पियनसिप: फेरि निराशाजनक सुरुआत

नेपाल १–२ पाकिस्तानबंगलादेश २–० भुटान
हिमेश, कञ्चन अधिकारी

ढाका — एसियाली खेलकुदमा नेपालले पाकिस्तानविरुद्ध बेहोरेको हार संयोग मात्र थिएन । बरु नमिठो संयोग के रह्यो भने नेपालले साफ च्याम्पियसिपको उद्घाटन खेलमा पनि त्यही अन्तरको हार बेहोर्‍यो ।

जाकार्तामा हारसँगै नेपालको नकआउट चरण प्रवेशको सम्भावना टुंगिएको थियो । यता ढाकामा नेपालको सेमिफाइनल पुग्ने समीकरण जटिल बनेको छ । इन्डोनेसियामा बेहोरेको हारको नेपालले शिक्षा लिन सकेन र महँगो हार आत्मसात् गर्न बाध्य रह्यो । अन्तिम समयमा बराबरीको स्थितिमा रहेर पनि नेपाल पराजित रह्यो ।

यो हार किन पनि साह्रै नमिठो रह्यो भने पाकिस्तानी राष्ट्रिय टिमले साढे दुई वर्षपछि औपचारिक खेल खेलिरहेको थियो । त्यसमाथि केही प्रमुख खेलाडी बिरामी थिए । अधिकांश खेलाडी खेल्ने मानसिकतामै थिएनन् । ‘साँचै हामी ठूलै समस्यामा थियौं, तर पनि जित निकाल्न सक्यौं ।

Yamaha

त्यसमा खुसी हुनेबाहेक अरू के नै हुन सक्छ र ? यो जितको पाकिस्तानी फुटबलमा लामो दिनसम्म प्रभाव हुनेछ,’ पाकिस्तानका ब्राजिली प्रशिक्षक एन्टोनियो नोगुराले भने ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्ध, आन्तरिक विवाद र पूरा देशको फुटबलप्रति कमजोर रुचिका बाबजुत पनि पाकिस्तान बंगलादेश आएको थियो र सबैको अपेक्षाविपरीत पूरा तीन अंक बटुल्न सफल रह्यो ।

अर्कोतर्फ यो हारले नेपालका लागि अबको बाटो कठिन भएको छ । सार्क गोल्डकप र साफ च्याम्पियनसिपको इतिहासमै नेपालले आफ्नो पहिलो खेलमा दुई अवसरमा मात्र जित निकालेको छ । पहिलो खेल गुमाएको सात अवसरमा नेपाल लिग चरणमै रोकिएको छ । इतिहासको यो प्रवृत्ति रहे पनि नेपालका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन भने अझै आशावादी छन् ।

उनको दाबी थियो, ‘खेलमा जे पनि हुन सक्छ । आजको हार त्यस्तै रह्यो । तर हामी यसमै निराश रहने छैनौं । हाम्रो अगाडि अब दुई खेल छन् र त्यसमै केन्द्रित हुनेछौं । मलाई पूरा विश्वास छ, अबको दुई खेलमा हामी राम्रो गर्न सक्छौं ।’ उनको दाबी थियो, अन्तिम दुई खेलमा नेपाल आफ्नो पक्षमा अनुकूल नतिजा निकाल्न सक्षम पनि छ । समूह ‘ए’ कै अर्को खेलमा आयोजक बंगलादेश भुटानमाथि सजिलै विजयी रह्यो । अब नेपालले बिहीबारको खेलमा भुटानको सामना गरेयता लिगको अन्तिम खेल आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।

खेलाडीको तारिफ
प्रशिक्षक महर्जनले हारको तीतो सत्यबीच पनि आफ्ना खेलाडीको प्रशंसा भने गरे । उनको दाबी थियो, ‘सबै खेलाडीले राम्रो गरे, आफ्नो भूमिका निभाए । नेपालले राम्रो सुरुआत गरेको थियो, तर अन्तिम समयमा सम्हाल्न सकेन । हाम्रा खेलाडीको प्रदर्शनमा मलाई गर्व छ ।’ उनले युवा लेफ्ट ब्याक सुमन अर्याललाई डेब्युको अवसर दिए र उनलाई नेपाली फुटबलको भविष्य रहेको बताए । ‘उनी निकै प्रतिभाशाली खेलाडी हुन्,’ उनको भनाइ थियो ।

एन्फा एकेडेमीका उत्पादन अर्याल उमेर समूहको चरण पार गर्दै नेपालको राष्ट्रिय टिममा प्रवेश पाउन सफल भएका हुन् । महर्जनले पाँच वर्षयता नेपाली टिममा नरहेका नीराजन खडकालाई पनि पुनरागमनको मौका दिए र उनले केही हदसम्म आफ्ना प्रशिक्षकलाई निराश पनि पारेनन् । उनी नवयुग श्रेष्ठको स्थानमा ६७ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनले मध्यपंक्ति सम्हालेपछि विमल घर्तीमगरले अगाडि खेल्ने अवसर पाएका थिए ।

यसै क्रममा विमलले ८२ औं मिनेटमा बराबरी गोल गरे । सुनील बलको कर्नरमा नीराजनले हेडर फ्लीक गर्दै स्थिति तयार पारेपछि विमलले नजिकको दूरीबाट गोल गरेका हुन् । उनको यस गोलसँगै नेपाल खेलमा फर्केको थियो र लागेको थियो, इतिहास दोहोरिनेछ । सन् २०१३ को साफ च्याम्पियनसिपमा पनि यस्तै एक गोलले पछाडि रहेको स्थितिमा गोल गर्दै खेल बराबरी गरेका थिए । तर यसपल्ट फरक इतिहास लेखिने तय थियो, त्यसैले नेपालका लागि विमलको सातौं गोलले काम गरेन ।

जादुयी जित
ब्राजिली प्रशिक्षक नोगुराका लागि भने पाकिस्तानको जित जादुयी थियो । जुन स्थितिमा पाकिस्तानले यो जित निकालेको थियो, त्यसका लागि सायद जादु शब्द नै बढी उपयुक्त हुन्छ । ‘यो जितले पाकिस्तानी खेलाडीलाई हामी पनि फुटबल खेल्न सक्छौं भने विश्वास बढाउनेछ,’ उनले भने । प्रशिक्षक नोगुराले नेपाली खेलाडीको प्रशंसा गर्न पनि बिर्सेनन् । उनको भनाइअनुसार नेपालले छिटो र छरिटो खेलेर उनको पनि मन जित्यो, तर जित भने पाकिस्तानकै नाममा लेखिएको थियो ।

पाकिस्तानले पेनाल्टीबाट ३६ औं मिनेटमा अग्रता लिएको थियो । हसन नविदको प्रहारलाई नेपाली गोलरक्षक किरण लिम्बूले सही अनुमान लगाउन सकेनन् र बलले सजिलै पोस्टको दिशा लियो । नेपालका लागि ६८ औं कीर्तिमानी क्याप जितिरहेका विराज महर्जनले पेनाल्टी एरियामा मोहम्मद रियाजलाई लडाएपछि पाकिस्तानको पक्षमा निर्णय गएको थियो । जोर्डनका रेफ्री मोहम्मद अराफको निर्णय सायद केही हदसम्म सहानुभूति बटुल्ने खालको थिएन ।

यसमा नेपाली प्रशिक्षक महर्जनले खासै प्रतिक्रिया दिन चाहेनन् । पाकिस्तानको दोस्रो तथा निर्णायक गोल भने इन्ज्युरी समयको पनि अन्तिम अवसरमा सम्भव भएको थियो । मोहम्मद अदिलको क्रसलाई सदुल्लाहले सटिक पास मिलाएपछि मोहम्मद अलीले हेडबाट गोल गरे र यो उनको शक्तिशाली प्रहार थियो । यो गोलपछि जहाँ पाकिस्तानी खेलाडीबीच ठूलो खुसियाली छाएको थियो, त्यहीं नेपाली खेलाडी निराश रहे । यो निराशा कति धेरै थियो भने नेपाली खेलाडी सिधै ड्रेसिङ रुम लागे ।

नेपाली टिम : किरण लिम्बू, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, अञ्जन विष्ट, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तीमगर, भरत खवास (सुनील बल ७३), नवयुग श्रेष्ठ (नीराजन खड्का ६७)

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ ०७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एसिया कप छनोट: नेपाल बाहिरियो

कान्तिपुर संवाददाता

काठमाडौँ — हङकङसँग लज्जास्पद पराजय भोगेपछि नेपाल एसिया कप छनोटबाट बाहिरिएको छ । सन्दीप लामिछानेको ५ विकेट प्रदर्शनलाई पन्छाउँदै हङकङले मंगलबार नेपालमाथि ३ विकेटको विजय हात पार्‍यो ।

यो विजय हङकङलाई फाइनलमा पुर्‍याउन पर्याप्त बन्यो ।

फाइनल पुग्ने आशालाई जीवितै राख्न नेपालले हङकङमाथि ठूलो अन्तरको विजय हात पार्नुपथ्र्यो । तर निर्णायक जस्तै मानिएको खेलमा नेपालको ब्याटिङ पुन: फितलो रह्यो । टस जितेपछि ब्याटिङ रोजेको वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र नेपाल ३७.५ ओभरमा ९५ रनमै अलआउट भयो । हङकङलाई लक्ष्य पछ्याउन सजिलो रहेन । टोलीले ३३ औं ओभरमा लक्ष्य पूरा गर्‍यो ।

हङकङको विजयले फाइनल निश्चित जस्तै थियो । र, भयो पनि त्यस्तै । दिनको अर्को खेलमा यूएईले अपराजित रहेको ओमानलाई १३ रनले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको यूएईले ८ विकेट गुमाई २ सय ८ रन बनायो । जवाफमा ओमान ४७.२ ओभरमा १ सय ९५ रनमै खुम्चियो । यूएईको ८ तथा हङकङ र ओमानको ७, ७ अंक भयो । तर हङकङले रन रेटमा ओमानलाई पछाडि पार्‍यो ।

राउन्ड रोबिनमा ६ टोली प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा खेल्ने प्रावधानअनुरूप बिहीबार हुने फाइनलमा यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । एसिया कप छनोटको विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ । मलेसियामा भइरहेको एसिया कप छनोटमा नेपालको ४ तथा मलेसिया र सिंगापुरको २–२ अंक रह्यो ।

खेलको पहिलो बलमा वाइड फालेका अफजल तान्विरले त्यसपछिको बलमा सुवास खकुरेललाई बोल्ड गरे । कप्तान पारस खड्का १५, अनिलकुमार शाह १४, ज्ञानेन्द्र मल्ल १२, दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शून्यमा आउट भएपछि नेपालको ब्याटिङ धराशायी हुन पुग्यो । आरिफ शेख र वसन्त रेग्मीले नेपालको ५८–७ को स्कोरलाई ९२ रनसम्म पुर्‍याए ।

त्यही नेपालले ३ रनमा अन्तिम ३ विकेट गुमायो ।

आरिफले नेपालबाट सर्वाधिक १८ र वसन्तले १५ रन बनाए । आरिफसहित सन्दीप र ललित नारायण राजवंशी गरी नेपालको अन्तिम ३ विकेट एहसान खानले लिए । उनले ७.५ ओभर बलिङ गर्दै १ मेडन राखेर १५ रन खर्चेर कुल ४ विकेट लिए । अफजल र एइजाज खानले २–२ तथा एहसान नवाज र नदिम अहमदले १–१ विकेट लिए ।

हङकङको सुरुआत राम्रो थिएन । सन्दीपले तेस्रो ओभरमा जेम्स कार्टरलाई ८ रनमा बोल्ड गरे । बाबर हायतलाई पनि सन्दीपले २ रनमै बोल्ड गरे । निजाकत खान २, किञ्चित शाह ११, एहसान २, एजाज शून्यमा आउट भए पनि ओपनर अंशुमन रथले अर्धशतक बनाउँदै नेपाललाई जिताए । म्यान अफ द म्याच उनले ८२ बलमा ५२ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । सन्दीपले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिए । वसन्त र सागरले १–१ विकेट लिए ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT