कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोउरिन्होको भविष्य कता ?

म्यानचेस्टर युनाइटेड र प्रशिक्षक मोउरिन्होबीच समस्या सुल्झाउन अब कमै विकल्प अगाडि छन् ।
फिल म्याकनल्टी

म्यानचेस्टर — प्रशिक्षक जोसे मोउरिन्हो र म्यानचेस्टर युनाइटेडबीच पछिल्लो केही महिना सम्बन्ध सुमधुर रहन सकेको छैन । मोउरिन्होले क्लबको ट्रान्सफर पद्दतिलाई आफ्नो उपाधि जित्ने शैलीसँग मेल नखाने बताउँदै आएका छन् ।

मोउरिन्होको भविष्य कता ?

उनले यसबारे पत्रकार सम्मेलनमा प्रश्न उठाए पनि आक्रोश व्यक्त गरिरहँदा युनाइटेड भने प्रशिक्षकसँग कुनै समस्या नरहेको संकेत दिइरहेको छ ।

दुई साताअघि घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटेनहमविरुद्ध पराजित भएपछि मोउरिन्हो झनै समस्यामा परे । त्यसपछि बर्नलीविरुद्धको जितले केही राहत मिले पनि मोउरिन्हो र क्लबबीच असमझदारीको कुण्ठा अझै छन् । क्लबले यसका बाबजुत पनि केही समस्या नरहेको संकेत दिन्छ भने त्यसले क्लब आफैंलाई उल्याउनुबाहेक अन्यलाई फरक पर्दैन । क्लब र प्रशिक्षकबीच समस्या सुल्झाउन अब कमै विकल्प अगाडि छन् ।

मोउरिन्होले उक्त टोटेनहमविरुद्ध हारपछि पत्रकार सम्मेलनमा आफूले तीन प्रिमियर लिग उपाधि जितेका कारण धेरै सम्मानको हकदार रहेको बताएका थिए, जुन सत्य हो । तर चेल्सीको प्रशिक्षक छँदा मोउरिन्होले गरेको व्यवहार युनाइटेड समर्थकले प्रस्ट देखेका छन् । युनाइटेड समर्थक वर्तमान अवस्थाबारे धेरै चिन्तित छन् र स्पर्सजस्तो प्रतिद्वन्द्वीसँग घरेलु मैदानमा फराकिलो पराजयले स्थिति जटिल बनाएको छ ।

लुकास मोउराले खेलको अन्त्यतिर तेस्रो गोल गर्दै स्कोर ३–० बनाएपछि मैदानमा रहेका अधिकांश समर्थकले खेल सकिनुअगावै खेल छाडेर असन्तुष्टि जनाएका थिए । यसले पनि क्लब र मोउरिन्होको खटपट समर्थकले नरुचाएको बुझ्न सकिन्छ ।

मोउरिन्होले खेलको नतिजा उल्टो हुनुमा मुख्य कारक रोमेलु लुकाकुले पहिलो हाफमा खाली पोस्टमा गोल गर्न नसक्नुलाई पनि दिन सक्छन् । तर स्पर्सले खेलमा लय समाएपछि युनाइटेड खेलमा फर्कन नसक्नुले टोलीलाई बढी चिन्तित बनाएको छ । मोउरिन्होले आफ्नो पुरानो सफलताबारे बोल्नु धेरैले अपेक्षा गरेकै हर्कत थियो । तर उनीजस्तो प्रभावशाली र सफल प्रशिक्षकले यसरी प्रस्तुत हुनु राम्रो संकेत भने पक्कै होइन ।

मिडिया र समर्थकले आ–आफ्नो तर्क राख्नु स्वभाविक छ । तर मोउरिन्हो र क्लबमाथि बढिरहेको दबाब भने प्रस्ट देख्न सकिन्छ । ब्राइटन र स्पर्सविरुद्धको हारसँगै युनाइटेडले सन् १९९२–९३ यता लिगमा सबैभन्दा खराब सुरुआत गरेको थियो । त्योभन्दा बढी हाल युनाइटेडले खेल्ने शैली समर्थक लोभ्याउने किसिमको छैन ।

जसरी पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी, योर्गन क्लोपको लिभरपुल, मोउरिसियो पोचेटिनोको स्पर्स र यसै सिजन भित्रिएका चेल्सीका मोउरिजियो सार्रीले प्रभाव छाडेका छन्, मोउरिन्हो त्यस सूचीमा अटाउन सकेका छैनन् ।

मोउरिन्होका अनुसार क्लबका खेलाडीले प्रशिक्षकको मागअनुसार प्रदर्शन गरिरहेका छैनन् । स्पर्सविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि लुकाकुले सामान्य गोल नगर्दा टोलीले महँगो मूल्य चुकाउनुपर्‍यो । टोलीको रक्षापंक्ति कमजोर हुनु नै मोउरिन्होका लागि ठूलो टाउको दुखाइ बन्दै आएको छ ।

मोउरिन्होले पुराना सबै क्लबमा सफलता हात पार्दा रक्षात्मक रूपमा अब्बल रणनीति अपनाएका थिए । त्यो समय र त्यो टोली अब मोउरिन्होसँग छैनन् । हालको युनाइटेड डिफेन्स सम्भवत: मोउरिन्होको करिअरकै सबैभन्दा कमजोर डिफेन्सका रूपमा अगाडि आएको छ ।

स्पर्सले दोस्रो हाफमा लय समातेपछि युनाइटेडको डिफेन्स त्यसको सामना गर्न असमर्थझैं देखियो । मोउरिन्होले डिफेन्डरद्वय फिल जोन्स र क्रिस स्मलिङसँग मिडफिल्डर आन्देर हरेरालाई रक्षात्मक ढालका रूपमा प्रयोग गर्ने रणनीति पहिलो गोल खाएपछि सफल हुन सकेन ।

मोउरिन्होले सिजनको सुरुआतमा सेन्टर डिफेन्सको माग गर्नु जायज थियो । तर उनकै आगमनपछि क्लबमा झन्डै ६ करोड पाउन्डमा भित्रिएका भिक्टर लिन्डेलफ र एरिक बेलीले पनि ब्राइटनविरुद्ध अपेक्षित प्रदर्शन गर्न नसकेपछि टोलीमा स्थान बनाउन सकेनन् ।

स्पर्सविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका लिन्डेलफ डरमा खेलिरहेका जस्तो देखिन्थे । उनको गल्तीमा स्पर्सले अग्रता बढाउने अवसर पनि पाएको थियो ।

युनाइटेडको खराब प्रदर्शनलाई स्पर्स डिफेन्डर टोबी एल्डरवेरल्डको प्रभावशाली प्रदर्शनले आलो घाउमा नुन दलेको जस्तो भएको थियो । ट्रान्सफर विन्डोमा युनाइटेड आउने हल्ला चलेका टोबीले बिरलै गल्ती गरे र विपक्षीको हरेक आक्रमण विफल तुल्याउन ज्यान लगाए ।

यस हारको दोष ट्रान्सफर विन्डोमा खेलाडी नकिन्नु र पाएको अवसर सदुपयोग नगर्नुलाई मात्र दिनु न्यायोचित हुन्न । युनाइटेडलाई हराउने स्पर्सले ट्रान्सफर विन्डोमा कुनै खेलाडी भित्र्याएन । मोउरिन्होले लगातार खेलाडी नभएकोबारे बोलिरहँदा विपक्षी प्रशिक्षक पोचेटिनो भने खेलाडी नभित्र्याउँदा कुनै समस्या नरहेको बताइरहेका थिए ।

युनाइटेडको समस्या यतिमा सीमित हुन्न । मोउरिन्होको टोलीमा ठयाक्क के गलत भइरहेको छ भन्ने भेउ पाउन कठिन छ । यो कस्तो टोली हो ? यो टोलीले कुन शैलीमा खेल्छ ? टोलीको उत्कृष्ट समीकरण कस्तो हो ? के मोउरिन्होसँग उनको उत्कृष्ट टोली उपलब्ध छ ? अहिले युनाइटेड एक सामूहिक टोलीभन्दा कामचलाउ कमजोर पाटो जोडेर बनेको कामचलाउ मेसिन जस्तो देखिएको छ । मोउरिन्हो आफ्नै टोलीसँग उत्तर खोजिरहेका छन् ।

स्पर्सविरुद्ध खेलको अन्त्यतिर युनाइटेड दबाबमा खेलिरहँदा ओल्ड ट्राफोको दर्शक संख्या तीव्र गतिमा पातलिरहेका थिए । यो क्षण डेविड मोयस प्रशिक्षक छँदा ठूला टोलीले खेलको सुरुआतमै नतिजा पक्का गर्दा जस्तो झलक दिन्थ्यो । युनाइटेड अहिले नै प्रशिक्षक छाड्ने पक्षमा भने छैन । मोउरिन्होले क्लबमा मोटो रकम खर्च गरेका छन् र उनमा सफलता हात पार्ने क्षमता पनि प्रचुर छ ।

तथ्यांक पल्टाउने हो भने मोउरिन्होले सुरुका दुई सिजनमा लिग कप र युरोपा लिग उपाधिसँगै एफए कपको फाइनल खेलेका छन् । लिभरपुल र स्पर्सको तुलनामा यो सफलता पक्कै राम्रो हो । तर मोउरिन्होको विगत हेर्ने हो भने अहिलेको स्थितिमा उनी समस्यामा छन् । क्लोप र पोचेटिनो अगाडि बढा मोउरिन्हो ओरालो लाग्ने क्रममा छन् ।

मोउरिन्होको अगाडि ठूलो चुनौती खडा भएको छ । साताको अन्त्यमा बर्नलीविरुद्ध जितसहित उनले सफल सुरुआत गरेका छन् । मोउरिन्होले पुराना सबै गल्ती समेटेर त्यसलाई सच्याउँदै सुधारको पथमा बढ्नु जरुरी छ । चेल्सीमा यसअघिको दुई कार्यकालमा जसरी उनको यात्रा समाप्त भएको थियो, त्यसलाई उनले दोहोर्‍याउनु हुँदैन ।

चार खेलमा दुई हारले संकटको स्थिति देखाउँदैन । तर समग्रमा हेर्दा युनाइटेड लिभरपुल र चेल्सीभन्दा ६ अंक र म्यानचेस्टर सिटीभन्दा ४ अंक पछाडि परिसकेको छ । सुरुआतको अवस्थामा यो स्थिति पन्छाउन कठिन कार्य भने होइन ।

प्रिमियर लिगको प्रतिस्पर्धा हेर्ने हो भने लिगको शीर्षस्थानमा गल्ती गरेर पनि सफल हुने सम्भावना निकै कम हुन्छ । अब युनाइटेडले आफ्नो प्रदर्शन सुधार मात्र नभएर अन्य टोली धेरै अगाडि नबढून् भन्ने कामना पनि गर्नुपर्ने देखिन्छ ।

मोउरिन्हो म्यानचेस्टर युनाइटेड भित्रँदा उनीबाट सबैले क्लबको पुरानो अस्मिता फर्कने अपेक्षा राखेका थिए । सफलताको त्यो सिलसिला जुन ओल्ड ट्राफोर्डको नियमित तालिकाझैं थियो । यो भन्नु केही हतार होला तर जसरी स्पर्सले युनाइटेडको घरेलु मैदानमा दबाब कायम गरेको दृश्य थियो । मोउरिन्होबाट पुरानो दिन फिर्ने अपेक्षा गर्न निकै कठिन हुनेछ ।

–बीबीसी

प्रकाशित : भाद्र २१, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?