मोउरिन्होको भविष्य कता ?

म्यानचेस्टर युनाइटेड र प्रशिक्षक मोउरिन्होबीच समस्या सुल्झाउन अब कमै विकल्प अगाडि छन् ।
फिल म्याकनल्टी

म्यानचेस्टर — प्रशिक्षक जोसे मोउरिन्हो र म्यानचेस्टर युनाइटेडबीच पछिल्लो केही महिना सम्बन्ध सुमधुर रहन सकेको छैन । मोउरिन्होले क्लबको ट्रान्सफर पद्दतिलाई आफ्नो उपाधि जित्ने शैलीसँग मेल नखाने बताउँदै आएका छन् ।

जाेसे माेउरिन्हाे । तस्बिर : राेयटर्स

उनले यसबारे पत्रकार सम्मेलनमा प्रश्न उठाए पनि आक्रोश व्यक्त गरिरहँदा युनाइटेड भने प्रशिक्षकसँग कुनै समस्या नरहेको संकेत दिइरहेको छ ।

दुई साताअघि घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटेनहमविरुद्ध पराजित भएपछि मोउरिन्हो झनै समस्यामा परे । त्यसपछि बर्नलीविरुद्धको जितले केही राहत मिले पनि मोउरिन्हो र क्लबबीच असमझदारीको कुण्ठा अझै छन् । क्लबले यसका बाबजुत पनि केही समस्या नरहेको संकेत दिन्छ भने त्यसले क्लब आफैंलाई उल्याउनुबाहेक अन्यलाई फरक पर्दैन । क्लब र प्रशिक्षकबीच समस्या सुल्झाउन अब कमै विकल्प अगाडि छन् ।

Yamaha

मोउरिन्होले उक्त टोटेनहमविरुद्ध हारपछि पत्रकार सम्मेलनमा आफूले तीन प्रिमियर लिग उपाधि जितेका कारण धेरै सम्मानको हकदार रहेको बताएका थिए, जुन सत्य हो । तर चेल्सीको प्रशिक्षक छँदा मोउरिन्होले गरेको व्यवहार युनाइटेड समर्थकले प्रस्ट देखेका छन् । युनाइटेड समर्थक वर्तमान अवस्थाबारे धेरै चिन्तित छन् र स्पर्सजस्तो प्रतिद्वन्द्वीसँग घरेलु मैदानमा फराकिलो पराजयले स्थिति जटिल बनाएको छ ।

लुकास मोउराले खेलको अन्त्यतिर तेस्रो गोल गर्दै स्कोर ३–० बनाएपछि मैदानमा रहेका अधिकांश समर्थकले खेल सकिनुअगावै खेल छाडेर असन्तुष्टि जनाएका थिए । यसले पनि क्लब र मोउरिन्होको खटपट समर्थकले नरुचाएको बुझ्न सकिन्छ ।

मोउरिन्होले खेलको नतिजा उल्टो हुनुमा मुख्य कारक रोमेलु लुकाकुले पहिलो हाफमा खाली पोस्टमा गोल गर्न नसक्नुलाई पनि दिन सक्छन् । तर स्पर्सले खेलमा लय समाएपछि युनाइटेड खेलमा फर्कन नसक्नुले टोलीलाई बढी चिन्तित बनाएको छ । मोउरिन्होले आफ्नो पुरानो सफलताबारे बोल्नु धेरैले अपेक्षा गरेकै हर्कत थियो । तर उनीजस्तो प्रभावशाली र सफल प्रशिक्षकले यसरी प्रस्तुत हुनु राम्रो संकेत भने पक्कै होइन ।

मिडिया र समर्थकले आ–आफ्नो तर्क राख्नु स्वभाविक छ । तर मोउरिन्हो र क्लबमाथि बढिरहेको दबाब भने प्रस्ट देख्न सकिन्छ । ब्राइटन र स्पर्सविरुद्धको हारसँगै युनाइटेडले सन् १९९२–९३ यता लिगमा सबैभन्दा खराब सुरुआत गरेको थियो । त्योभन्दा बढी हाल युनाइटेडले खेल्ने शैली समर्थक लोभ्याउने किसिमको छैन ।

जसरी पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी, योर्गन क्लोपको लिभरपुल, मोउरिसियो पोचेटिनोको स्पर्स र यसै सिजन भित्रिएका चेल्सीका मोउरिजियो सार्रीले प्रभाव छाडेका छन्, मोउरिन्हो त्यस सूचीमा अटाउन सकेका छैनन् ।

मोउरिन्होका अनुसार क्लबका खेलाडीले प्रशिक्षकको मागअनुसार प्रदर्शन गरिरहेका छैनन् । स्पर्सविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि लुकाकुले सामान्य गोल नगर्दा टोलीले महँगो मूल्य चुकाउनुपर्‍यो । टोलीको रक्षापंक्ति कमजोर हुनु नै मोउरिन्होका लागि ठूलो टाउको दुखाइ बन्दै आएको छ ।

मोउरिन्होले पुराना सबै क्लबमा सफलता हात पार्दा रक्षात्मक रूपमा अब्बल रणनीति अपनाएका थिए । त्यो समय र त्यो टोली अब मोउरिन्होसँग छैनन् । हालको युनाइटेड डिफेन्स सम्भवत: मोउरिन्होको करिअरकै सबैभन्दा कमजोर डिफेन्सका रूपमा अगाडि आएको छ ।

स्पर्सले दोस्रो हाफमा लय समातेपछि युनाइटेडको डिफेन्स त्यसको सामना गर्न असमर्थझैं देखियो । मोउरिन्होले डिफेन्डरद्वय फिल जोन्स र क्रिस स्मलिङसँग मिडफिल्डर आन्देर हरेरालाई रक्षात्मक ढालका रूपमा प्रयोग गर्ने रणनीति पहिलो गोल खाएपछि सफल हुन सकेन ।

मोउरिन्होले सिजनको सुरुआतमा सेन्टर डिफेन्सको माग गर्नु जायज थियो । तर उनकै आगमनपछि क्लबमा झन्डै ६ करोड पाउन्डमा भित्रिएका भिक्टर लिन्डेलफ र एरिक बेलीले पनि ब्राइटनविरुद्ध अपेक्षित प्रदर्शन गर्न नसकेपछि टोलीमा स्थान बनाउन सकेनन् ।

स्पर्सविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका लिन्डेलफ डरमा खेलिरहेका जस्तो देखिन्थे । उनको गल्तीमा स्पर्सले अग्रता बढाउने अवसर पनि पाएको थियो ।

युनाइटेडको खराब प्रदर्शनलाई स्पर्स डिफेन्डर टोबी एल्डरवेरल्डको प्रभावशाली प्रदर्शनले आलो घाउमा नुन दलेको जस्तो भएको थियो । ट्रान्सफर विन्डोमा युनाइटेड आउने हल्ला चलेका टोबीले बिरलै गल्ती गरे र विपक्षीको हरेक आक्रमण विफल तुल्याउन ज्यान लगाए ।

यस हारको दोष ट्रान्सफर विन्डोमा खेलाडी नकिन्नु र पाएको अवसर सदुपयोग नगर्नुलाई मात्र दिनु न्यायोचित हुन्न । युनाइटेडलाई हराउने स्पर्सले ट्रान्सफर विन्डोमा कुनै खेलाडी भित्र्याएन । मोउरिन्होले लगातार खेलाडी नभएकोबारे बोलिरहँदा विपक्षी प्रशिक्षक पोचेटिनो भने खेलाडी नभित्र्याउँदा कुनै समस्या नरहेको बताइरहेका थिए ।

युनाइटेडको समस्या यतिमा सीमित हुन्न । मोउरिन्होको टोलीमा ठयाक्क के गलत भइरहेको छ भन्ने भेउ पाउन कठिन छ । यो कस्तो टोली हो ? यो टोलीले कुन शैलीमा खेल्छ ? टोलीको उत्कृष्ट समीकरण कस्तो हो ? के मोउरिन्होसँग उनको उत्कृष्ट टोली उपलब्ध छ ? अहिले युनाइटेड एक सामूहिक टोलीभन्दा कामचलाउ कमजोर पाटो जोडेर बनेको कामचलाउ मेसिन जस्तो देखिएको छ । मोउरिन्हो आफ्नै टोलीसँग उत्तर खोजिरहेका छन् ।

स्पर्सविरुद्ध खेलको अन्त्यतिर युनाइटेड दबाबमा खेलिरहँदा ओल्ड ट्राफोको दर्शक संख्या तीव्र गतिमा पातलिरहेका थिए । यो क्षण डेविड मोयस प्रशिक्षक छँदा ठूला टोलीले खेलको सुरुआतमै नतिजा पक्का गर्दा जस्तो झलक दिन्थ्यो । युनाइटेड अहिले नै प्रशिक्षक छाड्ने पक्षमा भने छैन । मोउरिन्होले क्लबमा मोटो रकम खर्च गरेका छन् र उनमा सफलता हात पार्ने क्षमता पनि प्रचुर छ ।

तथ्यांक पल्टाउने हो भने मोउरिन्होले सुरुका दुई सिजनमा लिग कप र युरोपा लिग उपाधिसँगै एफए कपको फाइनल खेलेका छन् । लिभरपुल र स्पर्सको तुलनामा यो सफलता पक्कै राम्रो हो । तर मोउरिन्होको विगत हेर्ने हो भने अहिलेको स्थितिमा उनी समस्यामा छन् । क्लोप र पोचेटिनो अगाडि बढा मोउरिन्हो ओरालो लाग्ने क्रममा छन् ।

मोउरिन्होको अगाडि ठूलो चुनौती खडा भएको छ । साताको अन्त्यमा बर्नलीविरुद्ध जितसहित उनले सफल सुरुआत गरेका छन् । मोउरिन्होले पुराना सबै गल्ती समेटेर त्यसलाई सच्याउँदै सुधारको पथमा बढ्नु जरुरी छ । चेल्सीमा यसअघिको दुई कार्यकालमा जसरी उनको यात्रा समाप्त भएको थियो, त्यसलाई उनले दोहोर्‍याउनु हुँदैन ।

चार खेलमा दुई हारले संकटको स्थिति देखाउँदैन । तर समग्रमा हेर्दा युनाइटेड लिभरपुल र चेल्सीभन्दा ६ अंक र म्यानचेस्टर सिटीभन्दा ४ अंक पछाडि परिसकेको छ । सुरुआतको अवस्थामा यो स्थिति पन्छाउन कठिन कार्य भने होइन ।

प्रिमियर लिगको प्रतिस्पर्धा हेर्ने हो भने लिगको शीर्षस्थानमा गल्ती गरेर पनि सफल हुने सम्भावना निकै कम हुन्छ । अब युनाइटेडले आफ्नो प्रदर्शन सुधार मात्र नभएर अन्य टोली धेरै अगाडि नबढून् भन्ने कामना पनि गर्नुपर्ने देखिन्छ ।

मोउरिन्हो म्यानचेस्टर युनाइटेड भित्रँदा उनीबाट सबैले क्लबको पुरानो अस्मिता फर्कने अपेक्षा राखेका थिए । सफलताको त्यो सिलसिला जुन ओल्ड ट्राफोर्डको नियमित तालिकाझैं थियो । यो भन्नु केही हतार होला तर जसरी स्पर्सले युनाइटेडको घरेलु मैदानमा दबाब कायम गरेको दृश्य थियो । मोउरिन्होबाट पुरानो दिन फिर्ने अपेक्षा गर्न निकै कठिन हुनेछ ।

–बीबीसी

प्रकाशित : भाद्र २१, २०७५ ०७:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अझै जीवन्त रोनी

फिल म्याकनल्टी

लन्डन — वायन रोनीले सन् २००४ को अगस्टमा म्यानचेस्टर युनाइटेडका लागि एभरटन छाडेका थिए, २ करोड ७० लाख पाउन्ड मूल्यमा । त्यति बेला एभरटनको आत्मविश्वास कमजोर थियो ।

आर्थिक रूपमा क्लब आफैं संकटमा पनि थियो । त्यति बेला रोनी १८ वर्षका थिए । उनले म्यानचेस्टरमा सफलत्तम वर्ष बिताए । उनले सर बबी चाल्र्टनको नाममा रहेको क्लबका लागि सर्वाधिकको कीर्तिमान तोडे, २ सय ५३ गोलसहित । 

पाँचपल्ट इङलिस प्रिमियर लिग जिते । एक–एक पटक च्याम्पियन्स लिग, युरोपा लिगा, एफए कप जिते । अनि तीनपल्ट लिग कप । अहिले फेरि उनी एभरटन नै फर्केका छन् । यति बेला उनी फरक खेलाडी हुन्, समग्रमा फरक मान्छे नै । सबैभन्दा ठूलो १३ वर्षअगाडि उनले छाडेको एभरटन जस्तो थियो, अहिले त्यस क्लबमा पनि धेरै फरक आइसकेको छ । अहिले निकै महत्त्वाकांक्षी फरहाद मोसिरी एभरटनको सबैभन्दा ठूलो लगानीकर्ता हुन् । 

रोनी आउनु अगाडि एभरटनले पाँच नयाँ खेलाडीका लागि ९ करोड पाउन्ड खर्च गरिसकेको छ । अझै खर्च गर्ने योजना पनि छ । अहिले टिम यस्तो छ कि उसले लिगमा शीर्ष चारमा कब्जा बनाउने उद्देश्य मज्जाले बनाउन सक्छ । त्यस टिममा ३१ वर्षीय रोनीको भूमिका भने के होला त ? एभरटनको भाग्यले त्यति बेला कोल्टे फेरेको थियो, जति बेला इरानी मूलका बेलायती व्यवसायी मोसिरीले आर्सनलमा आफ्नो १५ प्रतिशत सेयर बेचे । 

त्यसयता उनले सन् २०१६ को फेब्रुअरीमा एभरटनको ४९.९ प्रतिशत सेयर किनेका थिए । उनी एभरटनप्रति कति महत्त्वाकांक्षी छन् भन्ने उदाहरण क्लबमा आएको तीन महिनामै देखियो । त्यति बेला एभरटन लिगको १२ औं स्थानमा थियो र तत्कालीन व्यवस्थापक रोबर्टो मार्टिनेज पनि बर्खास्तीमा परेका थिए । मोसिरीले आफ्ना खेलाडीबाट तत्काल माग गरेका थिए, राम्रो र उत्कृष्ट प्रदर्शन । व्यवस्थापकका रूपमा उनको पहिलो रोजाइ रोनाल्ड कोमन थिए । 

साउथह्याम्पटनबाट उनलाई ल्याउन मोसिरी सफल भइहाले । कोमनलाई उनले पर्याप्त आर्थिक लगानी र उत्तिकै राम्रो पुरस्कारको वाचा पनि गरेका थिए । गत वर्ष ट्रान्सफर मार्केट एभरटनका लागि खासै उत्साहवद्र्धक रहेन, एस्ली विलियम्स, युनिक बोलासी र इद्रिस गुये आए पनि । अपेक्षाअनुसार बेल्जियमका अन्तर्राष्ट्रिय स्ट्राइकर रोमेलु लुकाकुले ७ करोड ५० लाख पाउन्डमा बेच्दा पनि एभरटनलाई खासै ठूलो प्रभाव पार्ने छैन । किनभने अब एरभटनसँग उनको पनि विकल्प तयार छ । 

अब रोनी पनि एभरटन फर्किनुको अर्थ हो, क्लबको वास्तविक पुनर्जागरण । रोनीका पनि आफ्नै धेरै अधुरा काम छन्, एभरटनका लागि पूरा गर्नुपर्ने । एभरटन रोनीको बाल्यकालको क्लब हो । उनलाई सबैभन्दा मनपर्ने । 

म्यानचेस्टर छँदा पनि एभरटनप्रतिको उनको प्रेम कहिल्यै मरेको थिएन । पक्कै म्यानचेस्टरबाट उनको बिदाइमा धेरै हल्लाखल्ला भएन । न त त्यो सनसनीपूर्ण रह्यो । तर उनको खेल क्षमताबाट अझै प्रश्न गर्ने समय आएको छैन । रोनी अझै जीवन्त छन् । 

प्रकाशित : असार २७, २०७४ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT