कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लिग खेल्नमै किचलो

एनआरटी, जावलाखेल र फ्रेन्ड्स क्लबद्वारा साधारणसभाले पारित गरेको पुछारका तीन क्लबको अंक घटाउने नियमको विरोध
अंक घटाउने नियम नहटाए लिग नखेल्ने एनआरटीको धम्की

काठमाडौँ — भवन भाडाबाटै वार्षिक एक करोड रुपैयाँ बढी आम्दानी गरिरहेको न्युरोड टिम (एनआरटी) सहित फ्रेन्ड्स र जावलाखेल युवा क्लबले ५ वर्षपछि सुचारु हुन लागेको सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्न आनाकानी गरिरहेका छन् ।

लिग खेल्नमै किचलो

यसले असोज १३ देखि हुने भनिएको ए डिभिजन लिगलाई विवादित बनाएको छ ।

उपत्यकाको ए डिभिजन लिग २०७० सालयता भएको छैन । यसलाई पुन: सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटुवा (रेलिगेसन) नहुने संरचनाको लिग असोज १३ देखि गर्ने निर्णय गरेको थियो ।

साउन ३० मा चितवनमा भएको एन्फाको विशेष साधारणसभाले पनि ए डिभिजन लिग पुन: सञ्चालन गरेको थियो । त्यसक्रममा पुछारका तीन क्लबको क्रमश: ३, २, १ अंक अर्को संस्करणमा घटाइने र तीनै क्लबलाई तयारीका लागि एन्फाले दिने बजेटमा ५–५ लाख कटौती गर्ने लिग कमिटीका प्रमुख विज्ञानराज शर्माको प्रस्ताव ताली पिटेर विशेष साधारणसभाले पारित गरेको थियो ।

एन्फाका प्रवक्ता किरण राई पनि लिग प्रमुख शर्माको प्रस्ताव साधारणसभाले निर्णय गरेको भन्दै मिडियासामु प्रस्तुत भएका थिए । एन्फामा लिगलाई लिएर भइरहेको बैठकमा दुई सातायताको परिस्थिति भने फेरिएको छ ।

साधारणसभाले पारित गरेको पुछारका क्लबको अंक र तयारी खर्च घटाउने निर्णयलाई लिएर दुई सातायता लिगको हरेक बैठकमा एनआरटी, जावलाखेल र फ्रेन्डस् क्लबले विवाद चर्काइरहेका छन् । एनआरटीले त बुधबार भएको छलफलमा अंक घटाउने संरचना परिवर्तन गरी सहमतिको आधारमा लिग सञ्चालन गर्ने निर्णय नगर्ने नखेल्ने भन्दै एन्फालाई पत्र पनि बुझाएको छ ।

एनआरटीका अध्यक्ष दीपकहर्ष बज्राचार्य, फ्रेन्ड्सका अध्यक्ष राजीव पौडेल र जावलाखेलका अध्यक्ष ठूलोभाइ केसीले लिगको पछिल्ला छलफलमा अंक घटाउने नियमको खुलेरै विरोध गरिरहेका छन् । ‘लिग भर्खरै सुरु हुन लागेको छ, खेलाडी छैन । युवा खेलाडीलाई लिगमा खेलाउन पाइन्छ,’ एनआरटीका अध्यक्ष बज्राचार्यले बुधबारको छलफलमा भने,
‘रेलिगेसनबिनाको लिग गर्ने सहमति भएको हो, अंक घटाउने भन्ने थिएन । सहमतिकै आधारमा लिग नगरे हामी खेल्दैनौं ।’

अंक घटाउने नियमको सुरुमा विरोध गरेको सरस्वती युवा क्लबले भने लिग खेल्न तयार भएको जनाएको छ । अन्य क्लबले पनि लिगको संरचनामा कुनै आपत्ति नरहेको बताएका छन् । ‘सुविधा अत्यधिक लिनुपर्ने तर दण्ड चाहिँ केही बेहोर्न नचाहने व्यवहार केही क्लबले देखाइरहेका छन्,’ लिग प्रमुख विज्ञानराज शर्माले भने, ‘तर, हामी अंक घटाउने र पुछारका क्लबलाई एन्फाले दिने सुविधा कटौती गर्ने लिग सञ्चालन गर्नेमा प्रतिबद्ध छौं, जसको नियमावली एन्फाको साधारणसभाले पारित गरिसकेको छ । लिग नखेल्ने क्लब नियमअनुसार घटुवामा पर्नेछ । लिगको मर्यादा कायम राख्न कुनै कसर बाँकी राख्ने छैन ।’

यसपालि लिगको तयारीका लागि ए डिभिजनका १४ क्लबलाई एन्फाले २०–२० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । पछिल्लोपल्ट २०७० सालमा ३–३ लाख दिएको थियो । सबैले लिगका लागि क्लब दर्ता गरिसके पनि खेलाडी दर्ता भने गरेका छैनन् । एन्फाकै अगुवाईमा काठमाडौं महानगरपालिकाले प्रत्येक ए डिभिजन क्लबलाई ५ लाख रुपैयाँ र थप ४ लाख ६० हजारको सामग्री दिने सहमति जनाइसकेको छ ।

१९९१ सालमा स्थापित एनआरटी नेपाली फुटबलकै सबैभन्दा धनाढय क्लब हो । फुटबल खेल्नकै लागि २०६३ मा लिएको ऋण समयमै तिर्न नसकेपछि २०७० सालको लिग नखेल्दा रेलिगेसनमा परेको थियो ।

त्यसपछि ऋण तिरेर फुटबलमा फर्किएको एनआरटी गत वर्षको बी डिभिजन लिग उपविजेता हुँदै ए डिभिजनमा फर्किएको थियो । फ्रेन्ड्स पनि वार्षिक ३० लाख बढी आम्दानी भएको क्लब हो । जावलाखेलको पनि आफ्नै भवन रहेको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?