नेपालको वास्तविक परीक्षा

हिमेश बज्राचार्य

ढाका — भुटानी टिम र यसले खेल्ने फुटबलबारे काठमाडौंमा धेरै कथा सुन्न पाइन्छ । कुनै समय थियो, जतिबेला थिम्पु–११ का भुटानी खेलाडी काठमाडौंमा खुबै लोकप्रिय थिए । त्यतिबेला खरे बस्नेत र उनका केही साथीको नाम नसुन्ने को मात्र होला ?

नेपालको वास्तविक परीक्षा

थिम्पु ११ र पुलिसबीच बर्थ डे कपका फाइनल त अचेल एकादेशको कथा भए । सन् १९८४ मा काठमाडौंमा पहिलो दक्षिण एसियाली खेलकुद हुँदादेखि भुटानसँग नेपालको फुटबल साइनो जोडिएको थियो ।

त्यतिबेला यी दुई टिमबीच खेल हुँदा नेपालको पक्षमा स्कोर थियो, ५–० । गोल गर्ने खेलाडी थिए, किरण राई, गणेश थापा र कृष्ण थापा । अब सन् १९९९ को प्रसङ्ग । त्यतिबेला पनि नेपालले आठौं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो र फुटबलमा नेपालले भुटानमाथि निकालेको स्कोर थियो, ७–० । भुटान लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको अवस्थामा थियो । संयोगले यो नै नेपाली टिमले हात पारेको अहिलेसम्मको सबैभन्दा ठूलो जित हो ।

त्यो खेलपछि भुटानी कप्तान दिनेश क्षेत्री भन्थे, ‘हाम्रो तुलनामा नेपालको फुटबल कता हो कता अगाडि छ ।’ अब धेरै पछाडि सन् २००९ मा कोलकातामा नेपाल र भुटानबीचको मैत्रीपूर्ण खेलको प्रसङ्ग । तत्कालीन प्रशिक्षक थिए, उनै कृष्ण थापा । त्यस खेलमा लामो समय एक गोलले पछाडि रहेर नेपालले २–१ को जित निकालेको थियो । फेरि ग्राहम रोबर्टसको पालामा पोखरामा सम्पन्न फ्रेन्डलीमा नेपाल भुटानलाई हराउन संघर्षरत रह्यो ।

अभ्यासमै गोलकिपर किरण लिम्बु र अर्का खेलाडी ।तस्बिर : कञ्चन अधिकारी

कति धेरै फरक पुराना र अहिलेको दिनको जित–हारमा । भलै, नेपालका लागि भुटान नै एक मात्र यस्तो प्रतिद्वन्द्वी हो, जसका विरुद्ध नेपाल प्रत्येकपल्ट विजयी रहेको छ । जितबाहेक बराबरी पनि भएको छैन । तर अचेल भुटानी फुटबलको कथा फेरिएको छ । उसले फुटबलमा गरेको प्रगति देखेर नेपाललाई डाहा लाग्न सक्छ । यसै पृष्ठभूमिमा बिहीबार नेपालले साफ च्याम्पिनयसिपमा भुटानको सामना गर्दै छ र यो हुनेछ, नेपालका लागि ‘अल्टिमेट टेस्ट’ ।

यसको नेपाली रूपान्तर हुनसक्छ, वास्तविक परीक्षा । यो खेल जिते, नेपालका लागि प्रतियोगिताको नकआउट चरण प्रवेश जीवन्त हुनेछ । त्योबाहेक अर्को नतिजामा प्रश्न स्वाभाविक बन्ने छ, नेपालले किन फुटबल खेल्ने ? कसरी खेल्ने ? अहिले जसरी फुटबल चलिरहेको छ, त्यसरी नै चल्ने दिने वा होइन, त्यसमा सुधार गर्ने ? त्यसैले यो नेपालका लागि भुटानविरुद्धको खेलमा सीमित हुने छैन । यो त हुनेछ समग्र नेपाली फुटबलकै वास्तविक परीक्षा ।

‘हार्नुपर्ने कारण छैन’
नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन भने भुटानविरुद्धको खेलमा आफ्नो टिम हार्नुपर्ने कारण देख्दैनन् । शेख जमाल धनमुन्दी फुटबल क्लबको मैदानमा बुधबार नेपाली टिमले दिउँसो प्रचण्ड गर्मी झेल्दै अभ्यास गरेको थियो ।

त्यसअगाडि नेपाली मिडियासँग कुराकानी गर्दै महर्जनले भने, ‘भुटान र बंगलादेश त्यस्ता टिम होइन, जसविरुद्ध हामीले जित नै निकाल्न सक्ने छैनौं । मलाई आफ्नो टिममा पूरा विश्वास छ । हामी आफूअनुकूल नतिजा निकाल्न सक्षम छौं ।’

नेपालले मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग २–१ को हार बेहोरेको थियो । भुटान त्यही दिनको खेलमा बंगलादेशविरुद्ध २–० ले पराजित रह्यो । यो हारले दुवै टिम एकखाले दबाबमा छन् र प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रिरहेका छन् । ‘म पहिलो खेल हार्दैमा निरास हुने प्रशिक्षक होइन,’ महर्जनले भने, ‘म टिमले राम्रो प्रदर्शन गर्नेमा सकारात्मक छु । नेपाल सेमिफाइनल पुग्नेछ, म यसलाई लिएर आशावादी छु ।’

यसै समूहमा बिहीबार बंगलादेश र पाकिस्तान पनि खेल्ने छन् । यी दुई खेलमा चारै टिमको नजर हुनेछ र सम्भवत: त्यसयता सेमिफाइनल पुग्ने दुई टिमको समीकरण धेरै हदसम्म स्पष्ट हुनेछ । भुटानविरुद्धको सम्भावित रणनीतिलाई लिएर प्रशिक्षक महर्जनको निष्कर्ष थियो, ‘पाकिस्तानविरुद्ध हाम्रा खेलाडीले कसरी खेले, त्यसमा म सन्तुष्ट नै छु् । तर म पाकिस्तानविरुद्ध हाम्रा खेलाडीले गरेको गल्ती भुटानविरुद्ध पनि दोहोर्‍याउन दिने छैन ।’ अन्त्यमा उनको भनाइ थियो, नेपाली टिमलाई सबै प्रशंसकको शुभेच्छा पनि चाहिन्छ ।

खुला खेल
भुटानी प्रशिक्षक ट्रेभर मोर्गन पनि नेपालविरुद्धको खेललाई लिएर उत्साही छन् । उनको भनाइ छ, दुवै टिम पहिलो खेलमा पराजित रहेको हुँदा दुवैले स्पष्ट जितलाई खेल्नेछन् । त्यसैले प्रतिस्पर्धा रहने छ, ‘ओपन गेम’ अर्थात खुला खेल ।

इस्ट बंगालमा दुई अवसरमा प्रशिक्षक रहिसकेका मोर्गनको पनि दाबी छ, पछिल्लो समय भुटानी फुटबलमा सुधार आएको छ, त्यसैले भुटानलाई कमजोर मानेर पहिले जस्तै खेल्नु गम्भीर भुल हुनेछ ।

भुटानका प्रमुख खेलाडी रहनेछन्, मिनरेवा पन्जाबका चेन्चो ग्याल्सेन । पन्जाबले पछिल्लो जे लिग जित्दा जहाँ गोलपोस्टको जिम्मा किरण लिम्बुले सम्हालेका थिए, त्यहीं आक्रमणको जिम्मा ग्याल्सेनको काँधमा थियो ।

भुटानी फुटबलले गरेको प्रगतिको सबैभन्दा राम्रो उदाहरण हुन्, यिनै ग्याल्सेन । उनी भुटानका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । नेपालले आफ्नो अनुकूल नतिजा निकाल्ने हो भने यी ग्याल्सेनलाई रोक्नैपर्ने हुन्छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?