क्रिकेट टोली स्वदेश फिर्ता

रासस/याेन्हाप

काठमाडौँ — मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर शुक्रबार नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । 


एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो।

Yamaha


नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो।

छनोट प्रतियोगिता यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए। हङकङ एशिया कपका लागि छनोट भएको छ।

फाइनल खेलमा हङकङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो।

एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ। एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ।

तस्बिरः हेमन्त श्रेष्ठ / कान्तिपुर

प्रकाशित : भाद्र २२, २०७५ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लमजुङमा नक्कली नोट छ्यापछ्याप्ती

आश गुरुङ

लमजुङ — एउटै नम्बर अंकित १ हजार रुपैयाँका नक्कली नोट बेंसीसहरका बजारमा छ्यापछ्याप्ती देखिएको छ । एकै दिनको अघिपछि उक्त नोट बजारमा भेटिएपछि आर्थिक कारोबारमा संलग्न ग्राहक तथा वित्तीय संस्थामा त्रास फैलिएको छ ।

लमजुङको बेंसीसहरका विभिन्न वित्तिय सहकारीमा भेटिएका १ हजार रुपैयाँको नक्कली नोट । तस्बिर: आश गुरुङ/कान्तिपुर

बजारमा देखिएको नक्कली नोट सहकारी तथा बैंकसम्म पुगेको छ। केही पैसा बैंकबाट सहकारी हुँदै ग्राहकबाट अर्को बैंकसम्म पुगेको छ।

एउटै नम्बरका उक्त नोटमा अघिल्लो भागको दायाँतर्फ ‘च’ को मुनी २५ र ३१४१४३ र बायाँ तर्फ ‘च’ को मुनी २५ र ३१४१३४ अंकित छ। बेंसीसहर–८ शेराका ईश्वरकुमार श्रेष्ठले अन्नपूर्ण बचत तथा ऋण सहकारीबाट १ हजार रुपैयाँका १ सय नोट रहेको १ लाख रुपैयाँको प्याक लगेर राष्ट्रिय वाणिज्य बैंकमा लैजाँदा बैंकले प्याकमा एउटा नक्कली नोट फेला पारेको बताए।

उनका अनुसार उक्त नोट सनराइज बैंकको छापसहितको टाँचा लागेको थियो। बैंकका प्रबन्धक मानबहादुर खत्रीका अनुसार ग्राहकले सुन चुक्ता गर्न आउँदा उक्त १ लाख रुपैयाँको प्याकभित्र उक्त नोट परेर आएको हो। ‘नक्कली नोट जफत गरेर राखेका छौँ। राष्ट्रबैंकमा पठाउँछौं’ उनले भने।

मेगा बचत तथा ऋण सहकारीका प्रबन्धक सुमन सेवदीका अनुसार बजारमा किस्ता संकलन गरेर आएका बजार प्रतिनिधिबाट १ हजार रुपैयाँका २ वटा नक्कली नोट सहकारीमा आइपुगेको छ। दुवैको एउटै नम्बर रहेको छ।

‘मंगलबार र बिहीबार लगातार बेंसीसहर क्षेत्रबाट उठाइएको किस्ता रकममा नक्कली नोट पर्न आएको छ। यसलाई खिचेर राखेका छौँ। बैंकमा बुझाउँछौँ।’ उनका अनुसार नक्कली नोटमा लालिगुराँसको छायाँ छैन।

स्टीकरमा एनआरबी (नेपाल राष्ट्र बैंक) लेखिएको छैन। पेपर क्वालिटी कमजोर छ। ‘फिल्डका साथीहरुले पैसा उठाएर ल्याएपछि आफैँ गन्छौँ। गन्दागन्दै नोटमा शंका लाग्यो। अनि हेर्दा नक्कली रहेछ’ उनले भने।

बुधबार बेंसीसहरकै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाबाट जम्मा गर्ने भनी रिलायन्स फाइनान्समा बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट परेको छ।

फाइनान्सका प्रबन्धक विशाल जोशीका अनुसार बिहीबार उक्त रकम फेला परेको हो। नवील बैंकका सहायक प्रबन्धक नारायणप्रसाद आचार्यले ग्राहकले बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको तर, कसले बुझाएको हो भनी थाहा नभएको बताए।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले नक्कली नोटकको बिगबिगीले व्यवसायीलाई समस्या परेको बताए। ‘नक्कली नोट बजारमा देखिएको छ। पैसा आउने ग्राहकबाट व्यवसायीलाई हो। कसले कसरी ल्याउँछन् र दिन्छन् थाहा हुँदैन’ उनले भने, ‘छामेर पत्ता लगाउनुपर्ने, सबैको ख्याल नपुग्न सक्छ।’

बैंकमा सक्कली नक्कली छुट्याउने मेशिन नहुँदा समस्या परेको उनले बताए। ‘बैंकमा भीड छ। त्यही भीडमा १ लाख रुपैयाँको नोटमा एउटा नक्कली नोट जाने गरेको पाइएको छ’ उनले भने, ‘कहाँबाट कसरी आयो, यसले त्रास फैलाएको छ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले यसबारे औपचारिक जानकारी नभएको बताए। ‘बजारमा हल्ला छ। तर, उजुरी कसैले लिएर आएको छैन’ उनले भने। उजुरी लिएर आएमा यसबारे कारबाही अघि बढाउने उनले बताए।

प्रकाशित : भाद्र २२, २०७५ १४:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT