३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सेरेना र ओसाका भिड्ने

एएफपी

न्युयोर्क — अमेरिकी खेलाडी सेरेना विलियम्स बिहीबार भएको सेमिफाइनलमा अनास्टासिया सेभात्सोभालाई पराजित गर्दै नवौं पटक यूएस ओपनको फाइनल पुगेकी छन् ।

सेरेना र ओसाका भिड्ने

उनले व्यक्तिगत सातौं यूएस ओपन उपाधिका लागि फाइनलमा जापानी नाओमी ओसाकाको सामना गर्नेछिन् ।

प्रतियोगितामा १७ औं वरीयताकी सेरेना गत वर्ष छोरी जन्माएपछि पहिलो ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यसहित अगाडि बढेकी छन् । हालसम्म उनले २३ ग्रान्डस्लाम उपाधि जितिसकेकी छन् ।

बिहीबार १९ औं वरीयताकी सेभात्सोभालाई ६–३, ६–० ले पराजित गर्न उनलाई मात्र ६६ मिनेट लाग्यो । २० औं वरियताकी ओसाका अमेरिकी म्याडिसन किजलाई हराउँदै ग्रान्डस्लाम फाइनलमा स्थान बनाउने पहिलो जापानी महिला बनिन् । उनले अघिल्लो वर्ष उपविजेता बनेकी किजलाई ६–२, ६–४ ले पन्छाइन् ।

गत वर्ष सेप्टेम्बरमा ज्यानै जोखिममा पर्ने अवस्थामा रहेर शल्यक्रिया गरिरहेकी सेरेनाले नवौं पटकको फाइनल यात्रा अविश्वसनीय रहेको बताइन् । ‘त्यो अवस्थाबाट यहाँसम्म आइपुगेको छु । अस्पतालको शैय्यामा हल्लिन पनि नसक्ने अवस्थामा थिएँ । र एक वर्षपछि म प्रशिक्षणमा हैन, लगातार दोस्रो ग्रान्डस्लाम फाइनल खेलिरहेको छु,’ विलियम्सले भनिन् । उनी विम्बल्डनको पनि फाइनल पुगेकी थिइन् ।

‘यहाँसम्मको यात्रा यति छिटो हुन्छ भन्ने सोचेको थिइनँ । म आगामी सम्भावनाबारे उत्सुक रहेको छु,’ उनले भनिन् । विलियम्स आफू सहभागी भएको यूएस ओपनको पछिल्लो दुई संस्करणमा सेमिफाइनलमा रोकिएकी थिइन् ।

सन् २०१५ र १६ मा सेमिफाइनलमा अडिए पनि यसपल्ट उनी कीर्तिमानी सातौं उपाधि नजिक पुगेकी छन् । उनले सातौं उपाधि जितेर क्रिस इभर्टलाई उछिन्ने छिन् र समग्रमा ग्रान्डस्लाम उपाधिसंख्यामा पनि मार्गारेट कोर्टको २४ सँग बराबर गर्नेछिन् ।

२० वर्षीया ओसाका भने पहिलोपल्ट ग्रान्डस्लाम सेमिफाइनलबाटै फाइनल प्रवेश गर्न सफल भइन् । उनले सेरेनासँग खेल्ने अवसरबारे सोचेकै कारण यहाँसम्म आइपुगेको अभिव्यक्ति दिइन् । ‘म यहाँसम्म आइपुगें, त्यसमा म निकै खुसी छु । म खेलका क्रममा सेरेनासँग जसरी पनि खेल्नुपर्छ भन्ने मनस्थिति लिएर खेलेको थिएँ,’ यसअघि किजसँग तीन पटक पराजित भएकी ओसाकाले भनिन् ।

ओसाकाले सेरेनासँग खेलेको एकमात्र खेलमा जित दर्ता गरेकी छन् । मार्चमा मायमीको पहिलो चरणमा सेरेनालाई ओसाकाले हराएकी थिइन् । छोरी जन्माएपछि सेरेनाको त्यो दोस्रो सहभागिता थियो । ‘म त्यस बेला आफ्नो उच्च फर्ममा थिइनँ,’ सेरेनाले सुनाइन्, ‘अहिले म मेरो भलीमा विशेष ध्यान दिइरहेको छु ।’

प्रकाशित : भाद्र २३, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?