कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘नेपाली क्रिकेटको पोस्टमार्टम जरुरी’

विनोद पाण्डे

काठमाडौँ — नेपालले मलेसियामा बिहीबार सम्पन्न एसिया कप छनोट प्रतियोगितामा निकै निराशाजनक प्रदर्शन गर्‍यो । उपाधि दाबेदारको हिसाबमा मलेसिया भ्रमण गरेको नेपाल ६ राष्ट्रसम्मिलित प्रतियोगितामा चौथो भयो ।

‘नेपाली क्रिकेटको पोस्टमार्टम जरुरी’

वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त ताजा राष्ट्र नेपाललाई हङकङ, यूएईसहित ओमानले पनि हरायो । मलेसिया र सिंगापुरजस्ता कमजोर आँकिएका टोलीसँग पनि नेपालको प्रदर्शन सन्तोषजनक थिएन । मलेसियामा सम्पन्न प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउँथ्यो । नेपालले त्यो मौका गुमाउँदा कप्तान पारस खड्का निकै थक्थकाए ।

नेपाली क्रिकेट टोली शुक्रबार मलेसियाबाट फर्किंदा उनले हारको सम्पूर्ण जिम्मेवारी आफूसहित वरिष्ठ खेलाडीले लिएका जनाए । उनै पारसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग एसिया कप छनोटमा गरेको प्रदर्शन र नेपाली क्रिकेटबारे राखेका धारणा :

एउटा टिमको रूपमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं । हामी आफैं यो स्विकार्छौ । एउटा कप्तान, एउटा खेलाडीका रूपमा मैले पनि राम्रो खेल्न सकिनँ । टिमका रूपमा पनि हामी आफ्नो स्तरमा रहेनौं । प्रतियोगिताभर हामीले भने जस्तो केही गर्न सकेनौं ।

जुन हिसाबमा तयारी भएको थियो, टिम राम्रै लयमा थियो । यो महत्त्वपूर्ण प्रतियोगिता थियो त्यो हामी सबैलाई थाहा छ । हाम्रो लागि ठूलो अवसर थियो । जुन प्रदर्शन देखाएका छौं, त्यसबाट हामी आफैं निरास छौं ।

ब्याटिङ हाम्रो पहिलादेखिकै समस्या हो । हामीले आफ्नो क्षमताअनुसार ४० प्रतिशत पनि खेल्न सकेनौं । विगतको जस्तो खेल्न सकेको भए नतिजा अर्कै आउँथ्यो होला । एउटा खेलाडीको रूपमा हामीले यो कमजोर प्रदर्शनको जिम्मेवारी लिनुपर्छ, दोष अरुलाई लगाउन मिल्दैन । किन भने नराम्रो खेलेको हामीले नै हो ।

नराम्रो खेलेपछि नराम्रो नतिजा आउनु स्वभाविक नै हो । हामीले जितेका मलेसिया र सिंगापुरसँगको खेलमा पनि राम्रो प्रदर्शन देखाउन सकेनौं । मैले राम्रो खेलेको भए पनि नतिजा सुध्रिन्थ्यो होला । शरद (भेषावकर) भएको भए पनि कथा अर्कै हुनसक्थ्यो होला । तर व्यक्तिगततर्फ भन्दा पनि टिममा केन्द्रित हुन जरुरी छ ।

ब्याटिङ परामर्शदातालाई पनि जम्न ५–६ महिना लाग्छ । हामीले त भ्रमणहरूमा मात्र ल्याइरहेका छौं । त्यसैले अहिलेको नतिजामा उहाँहरूलाई दोष दिन मिल्दैन । हामीले जे जति क्रिकेट खेलिरहेका छौं आफ्नो सहमतिमा, आफूले जे बुझेका छौं, प्रशिक्षकले जे सिकाउनुभएको छ त्यो अनुसार खेलिरहेका छौं ।

अब भविष्यका लागि योजना बनाउनैपर्छ । हारेर आएर भनेको होइन, तर टिमलाई राम्रो वातावरण चाहिएको छ । ट्वान्टी–२० छनोट प्रतियोगिताहरू आइरहेका छन्, त्यसमा विशेषज्ञ प्रशिक्षक तोक्नु जरुरी छ । ४–५ दिनअघि ब्याटिङ परामर्शदाता ल्याएर हुँदैन । एउटा खेलाडीलाई परिवर्तन ल्याउन उहाँलाई पनि कम्तीमा ३ महिना लाग्छ ।

हामीले त्यहाँको स्थिति हेरेर नै खेलिरहेका थियौं, टिमले हार्दा अलिकति फरक देखिएको हुनसक्छ । भएको उत्कृष्ट खेलाडी नै नेपाली टोलीमा थिए । तर नराम्रो प्रदर्शन गरेपछि फरक हिसाबमा हेरिनु स्वभाविक नै हुन्छ । नेपाली क्रिकेटप्रति उच्च आकांक्षा छन्, जुन स्वभाविक नै हो ।

नेपाली प्रशंसकले जहिले पनि हामीलाई नजिकबाट नियालेर समर्थन गर्दै माया गर्नुहुन्छ र हारेको बेला गाली पनि गर्नुहुन्छ । हामी त्यसलाई स्वीकार्न पनि तयार छौं । पुनर्विचार गर्ने बेला आएको छ । व्यक्तिगत रुपमा र टिमको हिसाबमा पनि । ट्रेनिङ मेथोड के कसरी गर्ने, आगामी दिनमा टिमलाई कसरी इम्प्रुभ गराउन सकिन्छ त्यसमा हेर्नुपर्ने हुन्छ ।

जहिले पनि प्रतियोगिता खेल्न गयो । राम्रो भयो भने दुई दिन रमाइलो गर्‍यो बस्यो । भएन भने भएनौं भन्छौं त्यत्तिकैमा सकिन्छ । त्यसैले अब नेपाली क्रिकेटको पोस्टमार्टमजस्तै गर्न जरुरी छ व्यक्तिगत र टिमका रूपमा पनि ।

अहिले हामीले खेल्नै नसकेको हो । रणनीतिक रूपमा पनि हामी चुकेको हुन सक्छौं । आशा छ आगामी दिनमा राम्रो प्रदर्शन लिएर आउने छौं । अझ राम्रो गर्न आईसीसीसमक्ष राम्रो प्रस्ताव गर्न सक्नुपर्छ ।

नेपालले मलेसियामा नकारात्मक क्रिकेट खेलेको होइन । नेपाली क्रिकेटको पछिल्लो १० वर्षको तथ्यांक निकाल्नुभयो भने सधैं यस्तै नै जस्तो छ । तर यो जस्तो महत्त्वपूर्ण प्रतियोगितामा हामीले एउटा टिमका रूपमा खेल्न सकेनौं । डट बल नेपाली क्रिकेटका लागि घात बनिरहेको छ । एउटा खेलाडीका रूपमा सबैले पुस गरिरहेका छन् ।

राम्रै खेल्नैपर्छ भनेर व्यक्तिगत खेलाडीलाई दबाब थियो कि । त्यो अर्को प्रश्न हुनसक्छ । निश्चय पनि डट बल हाम्रो समस्या हो, त्यसलाई सम्बोधन गर्नुपर्छ । पहिला ब्याटिङ कमजोर भन्थ्यौं, तर अहिले बलिङ पनि त्योअनुरुप रहेन । हामीले सोचेजस्तो भएन । यो स्तरमा १–२ जना खेलाडीमा भर परेर म्याच जितिन्न ।

हामी एउटा स्तरमा गएर रोकिएको पो हौं कि । डट बल प्रतिशत, शट मेकिङ, डिसिजन मेकिङ त्यसमा हाम्रो परिपक्वता आएको छैन । यो स्थितिलाई कसरी हटाउन सकिन्छ भनेर हामी आफैंले आफैंलाई पनि प्रश्न गरिरहेका छौं । राम्रो नतिजा ल्याउनु छ भने यो तरिकाले चाहिँ अगाडि बढ्दैन, हामीलाई पनि यो अनुभव भइसक्यो ।

मलाई याद छ सन् २०१५ को विश्वकप छनोटअगाडि हाम्रो तयारी निकै राम्रो थियो । तर प्रतियोगिता निकै निराशाजनक भयो । यो पटक सबैको चासो किन थियो भने एसिया कप थियो, छनोट भए भारत र पाकिस्तानसँग खेल्न पाइन्थ्यो । एसिया कपमा पुग्न नसक्दा जति दु:ख प्रशंसकलाई लागेको छ, त्यति दु:ख हामी खेलाडीलाई पनि लागेको छ ।

किनभने हामीले यस्तो राम्रो अवसर गुमाएका छौं । हरेक दिन सिक्न लागि हुन्छ भने जस्तै अब यसैमा अल्झेर बसिरहनु जरुरी छैन । मौकाहरू अझै छन्, त्यसैले टिमलाई एकजुट बनाएर अगाडि लाने अवसर पनि हो । यो धेरै युवा टोली हो । यसलाई कसरी अगाडि बढाउनुपर्ने भन्ने जिम्मेवारी हामी सबैमा छ ।

अब विश्व ट्वान्टी–२० छनोटलाई अर्को महिनादेखि सुरुआती चरणका खेल खेल्नुपर्छ । खेलाडीहरू त यिनै र अर्को १० जना हुन् । बेन्च स्ट्रेन्थ बनाउन जरुरी छ । प्रतिस्पर्धा धेरै बढेको छ खेलाडीलाई टिममा पर्न । ३–४ वर्ष ५० ओभरको खेलपछि हामी ट्वान्टी–२० को ओभरमा फर्किदैं छौं, हामी यसमा भिज्नुपर्छ पहिला ।

निश्चित खेलाडीलाई एकदिने र ट्वान्टी–२० को भनेर छुटयाउन पनि जरुरी छ । यो सबैका साथै आगामी ८–९ महिनाको कार्यक्रम हामीले बनाएका छौं । त्यो हामी एसीसी र आईसीसीमा पठाउने छौं । त्यहाँबाट स्वीकृतिपछि त्यसलाई प्रयोग गर्नेछौं ।

अर्को छनोट आउँदा हुनसक्छ नेपाली टोलीमा अर्को कप्तान आइसक्नेछ । म त्यसमा सहयोग नै गर्नेछु । १–२ जना कप्तानका रूपमा देखिएका पनि छन् ।

प्रकाशित : भाद्र २३, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?