१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साफ च्याम्पियनसिपः अन्योल र अनिश्चितताको रोमाञ्च

ढाका — फुटबलमा न त जितको उन्मादले काम गर्छ, न हारको निरासाले । साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ मा दुई खेल जितेर न त बंगलादेश ढुक्क हुन सकेको छ । न दुई खेल हारेको भुटानले चाँडै घर फर्कने मनसाय बनाएको छ । यही हो, फुटबलको रोमाञ्च ।

साफ च्याम्पियनसिपः अन्योल र अनिश्चितताको रोमाञ्च

त्यसमाथि भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले स्पष्ट भनेका छन्, जति बेला भुटानले पाकिस्तानको सामना गर्नेछ, त्यति बेला आफ्नो टिमको प्रदर्शनमा कुनै कन्ज्युस्याइँ र कमी हुने छैन ।

र, यो भनाइले समूहका चारै टिमलाई रोमाञ्चित तुल्याउने छ । धेरै उत्साहित पनि । शनिबार बंगबन्धु रंगशालामा हुने पहिलो खेलमा भुटानले पाकिस्तानको सामना गर्नेछ । लगत्तै हुने अर्को खेलमा नेपाल भिड्ने छ आयोजक बंगलादेशसँग । चारै टिमसँग प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । चारै टिम सेमिफाइनल पुग्ने समीकरणबाट पनि बाहिरिन सक्छन् । यसले अन्योल र अनिश्चितता थपिएको छ । यसले रोमाञ्च पनि उत्पन्न गराएको छ ।

बंगलादेश समूहको शीर्ष स्थानमा छ पूरा ६ अंकसहित । उसको पछाडि नेपाल र पाकिस्तान छन् समान ३ अंकमा । भुटानसँग भने शून्य । नेपालको मात्र सम्भावनाबारे चर्चा गर्ने हो भने नेपाल जितेर पनि सेमिफाइनल पुग्नसक्छ, हारेर पनि सेमिफाइनल पुग्नसक्छ । खासमा समीकरण जटिल छ । नेपालको स्पष्ट स्थिति के हुने हो, त्यो पहिलो खेलले तय गर्नेछ । यस्तोमा दिनको दोस्रो खेल खेल्ने अवसर पाएको नेपालसामु त्यसै अनुकूल रणनीति बनाउने अवसर भने छ ।

सबैभन्दा पहिलो स्थिति, पाकिस्तान जितेको खण्डमा नेपालले बंगलादेशलाई हराउनै पर्नेछ । त्यति बेला तीनै टिमको समान ६ अंक हुनेछ । यस्तोमा गोलअन्तर समीकरण आउनेछ । त्यही खेलमा भुटान जिते, नेपाललाई जित त पर्याप्त हुन्छ नै ।

बराबरीमा पनि उत्तिकै पर्याप्त हुनसक्छ । हारमा भने फेरि गोलअन्तरको समीकरण आउने छ । यति बेला बंगलादेशको पूरा ९ अंक हुनेछ । बाँकी ३ टिम ३–३ अंकको स्थितिमा हुनेछन् ।

त्यसैले नेपालको सम्भावना धेरै हदसम्म पाकिस्तान र भुटानबीचको खेलले तय गर्नेछ । भनिन्छ, फुटबलमा सबै खेलका पटकथा लेखिन्छन् मात्र होइन, आफैं निर्माण पनि हुन सक्छ ।

स्पष्ट भाषामा भन्दा पाकिस्तान र भुटानबीचको खेलको नतिजाले धेरैभन्दा धेरै स्थितिमा नेपाल र बंगलादेशबीचको खेलको नतिजा पनि प्रभावित पार्नेछ । यस्तो हुनैपर्छ भन्ने पनि छैन । फुटबलको इतिहास राम्रै बुझ्नेले यो तथ्य पनि राम्रैसँग बुझ्ने छन् ।

प्रतिद्वन्द्वीका रूपमा बंगलादेश
बंगलादेशविरुद्धको खेलसम्म पुग्नु अगाडि सबैभन्दा पहिले नेपालले खेलेका यसअघिका दुई खेलबारे नै चर्चा गरौं । खेलको स्तर मान्ने हो भने पाकिस्तानी फुटबलमा कुनै दम नै छैन । प्राविधिक रूपमा पाकिस्तानी खेलाडी निकै कमजोर देखिन्छन् ।

आखिरमा पाकिस्तानी प्रशिक्षक जोस एन्टोनियोले पनि मानेका छन्, पाकिस्तानी फुटबलमा धेरै समस्या छन् । खेलाडी पनि आफ्नै एकपछि अर्को समस्याबाट गुज्रिरहेका छन् । आखिरमा साढे दुई वर्षको प्रतिबन्धबाट अन्तर्राष्ट्रिय फुटबलमा फर्केको हो पाकिस्तान ।

पाकिस्तानले यसपल्टको साफ च्याम्पियनसिपबाट केही अपेक्षा राखेको थिएन । तर यही टिमविरुद्ध नेपाल हार्छ भने त्यो टिमले आफ्नै खुट्टामा बन्चरो हानेको न हो । भुटानविरुद्धको खेल भने नेपालका लागि जस नभएको खेल हो ।

जिते पनि जस हुन्न, हारेमा झन ठूलो आलोचना । धन्न, नेपालले भुटानमाथि ४ गोल अन्तरको जित निकाल्न सक्यो । आखिरमा अब यही ४ गोलले समूह लिग चरणको समाप्तिमा नेपाललाई फाइदा गर्न सक्छ ।

बंगलादेश भने पाकिस्तान र भुटानभन्दा ठ्याक्कै फरक छ । भलै उसले पनि दुई जितमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । साफ च्याम्पियनसिपअगाडि दक्षिण कोरियामा गएर अभ्यास गरेको बंगलादेशले हालैको एसियाली खेलकुदको पुरुष फुटबलमा पनि राम्रो गरेको थियो । तर अहिले साफ च्याम्पियनसिपका उसको अग्रपंक्ति धारिलो देखिएको छैन । बंगलादेशी मिडियाकै गाइँगुइँ सुन्ने हो भने बंगलादेशको प्रदर्शन त नेपाल अगाडि फितलो छ ।

तर प्रशिक्षक जेमी डे भने फरक सोच राख्छन् । उनको भनाइमा टिमले विस्तारै लय समात्ने हो । जति बेला जुन प्रकारको खेल चाहिने हो, त्यसैअनुसार खेल पस्कन आफ्नो टिम माहिर छ ।

यता नेपालका प्रशिक्षक बालगोपाल महर्जनदेखि किरण लिम्बु, अनन्त तामाङ, सुनील बल सबैले एउटै रट लगाइरहेका छन्, हामी बंगलादेशलाई हराउन सक्षम छौं । यसको कारण हो, नेपालले भुटानलाई हराएयता एउटा गति लिएको छ, जुन बंगलादेशविरुद्धको खेलमा पनि रोकिने छैन ।

बंगलादेशी फुटबलबारे राम्रै जानकार प्रशिक्षक महर्जनले भनेका छन्, ‘हाम्रो तुलनामा बंगलादेशी फुटबल धेरै अगाडि छ भन्ने होइन । हामीले यसअघि पनि बंगलादेशलाई हराएका थियौं, अहिले पनि हराउन सक्छौं ।’ साफ च्याम्पियनसिपकै प्रसङ्गमै पनि नेपालले बंगलादेशविरुद्ध ५ खेल खेलेकामा २ नेपालले जितेको छ, तीन उनीहरूले जितेका छन् । यसमा सबैभन्दा ठूलो तथ्य के भने पछिल्ला २ खेल नेपालले लगातार जितेको छ । साफ च्याम्पियनसिपमै अन्तिम पटक नेपालले सन् २०१३ मा बंगलादेशलाई काठमाडौंमा हराएको थियो ।

सबै सम्भावना खुला
यी त भए, सबै कागजी विश्लेषण । खासमा समूह ‘ए’ मा सबै प्रकारको सम्भावना खुला छ, यो नै यो समूहको वास्तविक स्थिति हो । नेपाल र बंगलादेशबीचको खेलको अन्तिम ह्विसल नबजेसम्म पनि यस्तै हुन्छ भनेर ठोकुवा गर्न सकिन्न ।

पाकिस्तानी प्रशिक्षक एन्टोनियोले त्यसैले भनेका छन्, किन कसको सम्भावना बढी छ भनेर चर्चा गर्ने, यो मैदानमा निर्णय हुने हो, त्यसैले मैदानकै खेलका लागि कुरौं । कुरा सही छ । अन्योल र अनिश्चिताले यो समूहलाई साँच्चै रोमाञ्चक मात्र होइन, सनसनीपूर्ण पनि बनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?