२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

हिमेश, कञ्चन अधिकारी

काठमाडौँ — नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले  सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान विरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यस यताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन गर्‍यो । नेपालको जितमा ३३ औं मिनेटमा बिमल घर्तीमगर र ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।


नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथोपटक हो । यसअघि सेमिफाइनल पुगेको तीन उपलब्धि विदेशी प्रशिक्षकको नेतृत्वमा प्राप्त भएको थियो । यसपल्ट नेपाली प्रशिक्षक बालगोपाल महर्जनले यो उपलब्धि हात पारेका छन् । विदेशी प्रशिक्षकमा सन् १९९९ मा जर्मनका फ्राङ्क स्टेप्लर, २०११ मा इंग्ल्यान्डका ग्राहम रोबर्टस् र २०१३ मा प्युटोरिकोका ज्याक स्टेफेनोस्कीले नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्‍याएका थिए ।


नेपालले अब सेमिफाइनलामा खेल्ने प्रतिद्वन्द्वीको निर्णय आइतबार भारत र माल्दिभ्सबीच हुने खेलले गर्ने छ ।


खेलपछि आयोपित पोष्ट म्याच कन्फ्रेन्समा नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले टिमले योजनाअनुसार खेलेको हुँदा जित सम्भव भएको बताए । उनले भने, 'हामीले आजको खेलमा स्पष्ट जितका लागि खेलेका थियौं । र त्यसलाई हात पार्न पनि सफल भयौं । पाकिस्तानले भुटनालाई हराएपछि हाम्रो सामू जितबाहेक अरु विकल्पै थिएन।'


यस्तै खेलमा नेपालका लागि दोस्रो गोल गरेका नवयुग श्रेष्ठले यो उपलब्धिमा आफू निकै खुशी भएको बताए । उनी खेलका मोस्ट भ्यालुएबल प्लेयर पनि घोषित भए ।


उनले भने, 'लामो समयपछि गोल गर्न सक्दा खुशी छु । आजको खेलमा म बेन्चमा बस्ने खेलाडी हैन । मैदानमै खेल्ने खेलाडी हुँ भनेर सिद्ध गर्न सफल भएको छु ।'

प्रकाशित : भाद्र २३, २०७५ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?