३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ओसाकालाई पहिलो ग्रान्डस्लाम

एएफपी

न्युयोर्क — जापानकी नाओमी ओसाका अमेरिकी सेरेना विलियम्सलाई यूएस ओपन टेनिसको फाइनलमा सोझो सेटबाट पराजित गर्दै ग्रान्डस्लाम उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् ।

ओसाकालाई पहिलो ग्रान्डस्लाम

ओसाकाले आदर्श मान्ने सेरेना खेलक्रममा चेयर अम्पायरसँग वादविवादमा उत्रिँदा फाइनल भने खल्लो बन्न पुग्यो । २० वर्षीया ओसाकाले ६–२, ६–४ को जित दर्ता गर्दै सेरेनालाई २४ औं उपाधि जित्नबाट वन्चित गराइन् ।

अम्पायर कार्लोस रामोसले दोस्रो सेटका क्रममा विलियम्सलाई प्रशिक्षण लिएको भन्दै चेतावनी दिएपछि उनी बेखुस देखिएकी थिइन् । विलियम्सले त्यसपछि र्‍याकेट फालेका कारण अम्पायर रामोसले दोस्रो चेतावनीसँगै एक अंक पेनाल्टी लगाएपछि विलियम्स विवादमै उत्रिइन् ।

उनले आँसु झार्दै अम्पायरलाई ‘चोर’ दोषको आरोप लगाइन् र रिसाउँदै माफीसमेत माग्नुपर्ने माग राखिन् । यसलगत्तै रामोसले विलियम्सलाई अपशब्द बोलेको भन्दै एक गेम पेनाल्टी लगाए । नतिजास्वरुप ओसाका ५–३ ले अगाडि रहन पुगिन् । सेरेनाले अर्को गेम जिते पनि परिवर्तनको समय आफ्नो विरोध भने अर्का पदाधिकारीसामुन्ने जारी राखिन् ।

यसका बाबजुत ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रका लागि पहिलो उपाधि जितिन् । ‘अहिले मलाई यो सबै वास्तविक हो जस्तो लागिरहेको छैन । सायद केही दिनमा मैले के गरें भन्ने थाहा पाउँछु होला,’ ओसाकाले भनिन् । उनले कोर्टमा धेरै हल्ला भएको र आफू खेलमा एकीकृत भएका कारण सेरेनाको वादविवादबारे खासै ध्यान नदिएको बताइन् ।

‘मैले उता फर्केर हेर्दा स्कोर ५–३ देखें । त्यो बेलामा म केही अलमलमा परें,’ उनले भनिन्, ‘मलाई खेलमा ध्यान दिनुपर्छ भन्ने लाग्यो । सेरेना एक च्याम्पियन खेलाडी हुन् र उनी कुनै समय पनि खेलमा फर्कन सक्छिन् भन्ने मलाई थाहा थियो ।’

गत सेप्टेम्बरमा छोरी जन्माएपछि विलियम्सको पहिलो ग्रान्डस्लाम जित्ने लक्ष्य पूरा हुन सकेन । उनले समग्रमा २४ औं उपाधि जित्दै मार्गरेट कोर्टको कीर्तिमान बराबरी गर्ने अवसर पनि गुमाइन् । विलियम्सका समर्थनमा रहेका दर्शकले ट्रफी प्रदान गर्ने क्रममा उद्घोषकलाई गिज्याए पनि सेरेनाले ओसाकालाई सम्मान दिन आग्रह गरिन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?