कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सन्दीप अफगान प्रिमियर लिगमा

१५ हजार डलर पाउने 

काठमाडौँ — नेपाली युवा स्टार सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्ने भएका छन् । सोमबार यूएईको दुबईमा भएको ड्राफ्टमा सन्दीपलाई ५ मध्ये एक फ्रेन्चाइज टोली नान्गरहरले एसोसिएट खेलाडीका रूपमा लिएको थियो । 

सन्दीप अफगान प्रिमियर लिगमा

सन्दीपको नाम सिल्भर खेलाडीमा रहे पनि त्यसमा उनीमाथि भाउ लागेको थिएन । त्यसपछि आएको एसोसिएटको सूचीमा उनलाई रायन टेन डेस्काथेपछि दोस्रो नम्बरमा ५ सेकेन्डभित्र लिइएको थियो । एसोसिएट खेलाडीका रूपमा खेल्न लागेकाले सन्दीपले १५ हजार डलर पारिश्रमिक पाउने छन् ।


सन्दीपले आफ्नो एजेन्टमार्फत एपीएलमा दर्ता गरेका थिए । एपीएलको ड्राफ्टमा पर्नका लागि एजेन्ट वा सम्बन्धित देशको बोर्डको सिफारिस लिनुपर्ने हुन्छ । नेपालका कप्तान पारस खडा र अर्का अलराउन्डर सोमपाल कामी पनि सोमबारको ड्राफ्टमा रहेका थिए । तर दुवै खेलाडीमा भाउ लागेन । सन्दीपले चौथो फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।


नेदरल्यान्ड्सका डेस्काथेलाई बाल्खले लिएको छ । यूएईका तीव्र बलर मोहम्मद नावेदलाई कान्दहरले, स्कटल्यान्डका कालुम म्याकलोइडलाई पाकटिआले र मोहम्मद अस्घर होटाकलाई काबुलले लिएको हो । अक्टोबर ५ देखि २१ सम्म यूएईको शारजहाँमा हुने एपीएलमा यिनै ५ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् ।


सन्दीपको टोलीमा वेस्ट इन्डिजका आन्द्रे रसेल आइकन खेलाडीमा रहेका छन् । त्यस्तै अस्ट्रलियाका बेन कटिङसहित मुस्ताफिजुर रहमान, तमिम इकबाल, मोहम्मद हफिज, मिचेल म्याकघालेन जस्ता खेलाडीले सन्दीपसँगै नान्गरहरबाट एपीएलमा खेल्ने छन् । टोलीमा रहेका अफगानी खेलाडीमा मुजिवर रहमानलगायत छन् ।


सन्दीपले यसअघि दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग, मोन्ट्रियल टाइगर्सबाट ग्लोबल ट्वान्टी–२० क्यानडा लिग र हालै सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सबाट क्यारेबियन प्रिमियर लिगमा खेलेका थिए ।


प्रकाशित : भाद्र २५, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?