नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुनेछः प्रशिक्षक बालगोपाल महर्जन

हिमेश, कञ्चन अधिकारी

ढाका — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुनेछः प्रशिक्षक बालगोपाल महर्जन

'अहिले नेपाली टिम लयमा रहेको छ । अब हामी माल्दिभ्सलाई हराएर पहिलोपल्ट फाइनल पुग्नेमा आत्मविश्वासी छौं । टिममा कुनैपनि प्रकारको समस्या छैन र सबै खेलाडी शतप्रतिशत योगदान दिन तयार छन्,' मंगलबार ढाकाको बंगलादेश फुटबल फेडेरेसनमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भने ।


नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो । सार्क गोल्डकप सहित यो पाँचौं सेमिफाइनल हुनेछ । तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन ।

नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन् । सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ । जसमा नेपाल ४ खेलमा विजयी रहेको छ । यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन ।


साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ ।


'पुरानो इतिहास धेरै नहेरौं, पछिल्लो समय हामी माल्दिभ्समाथि हाबी रहेका छौं । त्यसैले यसपल्ट पनि विजयी रहने विश्वास छ,' प्रशिक्षक महर्जनले भने ।


नेपालले २ वर्ष अगाडि भएको बंगबन्धु कपको सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ ले हराएको थियो । त्यस खेलमा नवयुग श्रेषठले ह्याट्रिक गरेका थिए । त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएको थियो ।


'अब हामी सेमिफाइनल जितको ह्याट्रिक गर्न चाहन्छौं,' उनले भने ।


सेमिफाइनल खेल अगाडि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विराज महर्जनले सबै खेलाडी माल्दिभ्सलाई हराउनेमा आत्मविश्वासी रहेको बताए ।


उनले भने, 'हामी आत्मविश्वासी छौं । तर यो चाहिने भन्दा बढी चाहिँ आत्मविश्वासी छैनौं । मैदानमै मेहनत गरेर जित निकाल्ने छौं ।'


त्यसअवरमा प्रशिक्षक महर्जनले सेमिफाइनलको लागि नेपाली फुटबललाई माया गर्ने सबैको शुभेच्छा चाहिएको बताए । उनले भने, 'भोलिको खेलमा बंगबन्धु रंगशालामै आएर नेपालीहरुले हाम्रो टिमको समर्थन गर्ने विश्वास गरेका छौं । यस्तै बंगलादेशी फुटबल फ्यानले पनि हामीलाई नै सपोर्ट गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।'


नेपालले खेलेका तीन खेलमा ढाकामा रहेका विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म ढाकामा चार खेल भएकोमा दुवै टिम १/१ मा विजयी रहेको छ । अर्को २ खेल बराबरीमा टुंगिएको छ ।


नेपालले सेमिफाइनलमा पुग्न अगाडि लिग चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । नेपाल पाकिस्तानविरुद्ध भने पराजित रहेको थियो ।

अर्को तर्फ माल्दिभ्सले लिग चरणमा कुनै खेल जित्न सकेको थिएन । यस्तै उसले अहिलेसम्म गोल पनि गर्न सकेको छैन । यसको ठिक उल्टो नेपालले लिग चरणमा ७ गोल गरेको थियो ।


यो नेपाली फुटबल इतिहासमै कुनैपनि प्रतियोगिताको लिग चरणमा गरेको सबै भन्दा बढी गोल हो ।

नेपाल र माल्दिभ्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार ३ बजरे ४५ मिनेटमा हुनेछ । यस्तै अर्को सेमिफाइनल नेपाली समयअनुसार पौने ७ बजे भारत र पाकिस्तानबीच हुनेछ ।


प्रकाशित : भाद्र २६, २०७५ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?