१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

साफ च्याम्पियनसिप : इतिहास रच्न आतुर

ढाका — प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास गर्ने हो भने बुधबार नेपाली फुटबलका लागि ऐतिहासिक साबित हुँदै छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

साफ च्याम्पियनसिप : इतिहास रच्न आतुर

‘अब नयाँ इतिहास रचिने छ, हामी फाइनल पुग्नेछौं,’ प्रशिक्षक महर्जनले खुबै आत्मविश्वाससँग भनेका छन् ।

यसपल्ट अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी छ माल्दिभ्स । माल्दिभ्स त्यही टिम हो, जसका विरुद्ध साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन । यस्तोमा कसरी सम्भव हुन्छ त माल्दिभ्सविरुद्ध जित ? यसका आधार के हुन् त ? इतिहासकै प्रसङ्गमा सबैभन्दा पहिला पुराना दिनका कथा कोटयाउनु ठीक हुन्छ ।


नेपालका लागि माल्दिभ्स निकै पुरानो प्रतिद्वन्द्वी हो । सन् १९८४ मा नेपालले पहिलोपल्ट खेलेको थियो । अवसर थियो दक्षिण एसियाली खेलकुद । त्यति बेला माल्दिभ्सको फुटबल भर्खर बामे सर्दै थियो र यो टिम नआउला भनेर नेपालका केही प्रतिनिधि राजधानी माले नै पुगेका थिए, खेलाडीलाई काठमाडौं ल्याउन ।


त्यसयता माल्दिभ्स सरकारले नै फुटबलमा लगानी गर्न थाल्यो र हेर्दा हेर्दै टिम धेरै माथि पुग्यो । नेपाली फुटबललाई ईष्र्या लाग्ने एउटा विषय यही पनि हो, माल्दिभ्सले फुटबलमा गरेको प्रगति । यो प्रगति पनि कस्तो भने माल्दिभ्सको सामना गर्दा नेपाल दबाबमा आउने र अधिकांस समय पराजित नै रहने । साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपालले माल्दिभ्सलाई हराउन नसक्नु पनि त यही कारणले हो । अली अस्फाकसहितको माल्दिभ्स नेपालमाथि हाबी रहँदै आएको छ ।


दक्षिण एसियाली फुटबलले पाएका सबैभन्दा ठूला दुई स्टारमा एक भाइचुङ भुटिया हुन् भने अर्को यिनै अस्फाक । फुटबलमा एउटा के नियम छ भने कुनै टिमले गति लिन्छ भने त्यसमा एक दिन न एक दिन पूर्णविराम आवश्यक हुन्छ । माल्दिभ्सको अहिलेको टिम यही स्थितिबाट गुज्रिरहेको छ । अब माल्दिभ्सको फुटबल त्यस्तो रहेन, जुन पहिला थियो । यसको ठीक उल्टो, नेपाली टिम पनि अब त्यस्तो रहेन, बरू बलियो भएको छ र यसपल्टको प्रतियोगिताकै क्रममा अब्बल हुँदै छ ।


खस्कँदै माल्दिभ्सको फुटबल
पछिल्लो समय माल्दिभ्सको फुटबल एकपछि अर्को विवादबाट गुज्रिरहेको छ । त्यहाँको फुटबलमा अचेल कलहमात्र पाइन्छ । त्यसैले त्यहाँको फुटबल फुटबाट गुज्रिरहेको छ । यसको असर टिमको प्रदर्शनमा पनि पर्ने नै भयो । अहिलेको टिममा अस्फाक छैनन् । अधिकांस खेलाडी नयाँ र युवा छन् । सायद माल्दिभ्स यसपल्ट सेमिफाइनलका लागि पनि योग्य थिएन । आखिरमा एउटै खेल नजितेको अनि एउटै गोल नगरेको टिम कसरी अन्तिम चारका लागि हकदार हुनसक्छ र ?


प्रतियोगिताको समूह चरणमा खराब खेल्नेमा एक माल्दिभ्स पनि हो । श्रीलंकाविरुद्ध गोलरहित खेल खेलेको माल्दिभ्स भारतको हातबाट २–० ले पराजित रह्यो । ‘टस’ मा भाग्य उसकै पक्षमा रहेर मात्र माल्दिभ्सले सेमिफाइनल खेल्न लागेको हो । यस्तै प्रदर्शनका कारण माल्दिभ्स मिडियामा टिम र यसका प्रशिक्षक पेटर सेगरट खुबै आलोचना भइरहेको छ । त्यसैले सेमिफाइनल अगाडि आयोजित प्रि(म्याच कन्फ्रेन्समा उनी आक्रोसित हुँदै प्रस्तुत भए ।


उनको भनाइ थियो, ‘माल्दिभ्सको मिडिया र केही फुटबल पदाधिकारी किन हाम्रो टिम सेमिफाइनलमा हारोस् भन्ने चाहन्छ, म यो तथ्य बुझ्दिनँ । सबैले सोधिरहेका छन्, टिममा किन अस्फाक छैनन् भनेर ? मेरो काम टिममा नभएका खेलाडीलाई लिएर चिन्ता गर्ने होइन । अहिले टिममा जति खेलाडी छन्, म तिनीबारे मात्र बोल्न सक्छु । यो टिम नयाँँ छ र यही टिम भविष्यमा गएर माल्दिभ्स फुटबलको आधार हुनेछ ।’ उनी एउटा के तथ्यमा सहमत छन् भने टिमलाई सधैं भाग्यले साथ दिँदैन, नेपालविरुद्ध टिमलाई पक्कै मिहिनेत गर्नुपर्नेछ ।


नेपाली पक्षको दाबी
इतिहासले भन्छ, नेपालमाथि माल्दिभ्स हाबी छ । तर नेपाली प्रशिक्षक महर्जन वर्तमानमा केन्द्रित हुन जोड दिइरहेका छन् । ‘हामीले पछिल्लो समय माल्दिभ्सलाई दुई सेमिफाइनलमा हराएका छौं । पहिलो बंगबन्धु गोल्डकप, दोस्रो दक्षिण एसियाली खेलकुदको फुटबलमा । यसपल्ट पनि जितेर हामी माल्दिभ्समाथि सेमिफाइनलमा जितको ह्याट्रिक उपलब्धि हात पार्न चाहन्छौं,’ उनको भनाइ छ । नेपालले सन् २०१६ मा ढाकामै बंगबन्धु गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।


त्यसमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । प्रतियोगिताको समाचार संकलन गर्न ढाका आएका जति पनि पत्रकार छन्, सहभागी सातै टिमका जति पनि प्रशिक्षक छन्, ती सबैको एउटै भनाइ हो, अहिलेसम्मको खेलको आधारमा सबैभन्दा बलियो टिम नै नेपाल हो ।


भारतका सहायक प्रशिक्षक बैंकटपतिले मानेका छन्, प्राविधिक रूपमा नेपाली खेलाडी अब्बल दर्जाका छन् । प्राविधिक भाषा भन्ने हो भने नेपाल प्रतियोगिताको ‘टिम अफ द मोमेन्ट’ हो ।


नेपाल जसरी सेमिफाइलन पुगेको छ, त्यो नै प्रशंसायोग्य छ । पाकिस्तानविरुद्ध पहिलो खेल गुमाएर नेपाल खुबै दबाबमा आयो । भुटानलाई हराएर पनि नेपालमाथि यस्तै चर्को दबाब थियो । अन्तिम खेल बंगलादेशविरुद्ध थियो र त्यसको अन्तिम मिनेटसम्म पनि नेपाल ढुक्क हुन सकेको थिएन । अन्त्यमा नेपालले त्यो खेल जित्यो नै, समूह विजेता पनि बन्यो । नेपाली फुटबल इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा सुन्दर पुनरागमन हो । टिमले जति बेला यस्तो गति लिन्छ, त्यो नै जितको हकदार हुन्छ ।


‘टिममा कुनै प्रकारको समस्या छैन, सबै खेलाडी सेमिफाइनललाई उत्साही छन्,’ प्रशिक्षक महर्जनले भनेका छन्, ‘सेमिफाइनलमा सबै खेलाडीले आफ्नो शतप्रतिशतभन्दा बढी दिने छन् । साफ च्याम्पियनसिपको फाइनल पुग्ने र उपाधि जित्ने यो भन्दा राम्रो अवसर फेरि आउने छैन, हामी यो अवसर गुमाउने पक्षमा छैनौं ।’ कम्तीमा कागजमा नेपाल माल्दिभ्सविरुद्ध यति बलियो भएको यो लामो समयपछि पहिलोपल्ट हो । यसलाई सही साबित गर्न नेपालले मैदानमा पनि त्यसैअनुसार खेल भने पस्किनुपर्नेछ । यो नै एकमात्र आवश्यकता हो ।

आजका खेल
नेपालविरुद्ध माल्दिभ्स
१५: ४५ बजे


भारतविरुद्ध पाकिस्तान
१९: १५ बजे

प्रकाशित : भाद्र २७, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?