कीर्तिमान छुने लक्ष्य

ढाका — साफ च्याम्पियनसिप २०१८ मा बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण थियो । किनभने यसमा स्पष्ट जितबिना टिमको सेमिफाइलन यात्रा टर्ने निश्चित थियो ।

कीर्तिमान छुने लक्ष्य

नेपालले यसैमा सनसनीपूर्ण जित निकाल्नै प्रतियोगिताको समूह ‘ए’ विजेता बन्यो र सानले अन्तिम चारमा प्रवेश गर्‍यो । त्यस खेलका कप्तान थिए भरत खवास । यो खेल उनका लागि निकै सम्झनलायक हुनेछ । यसै खेलबाटै उनले नेपालका लागि पूरा गरेका छन्, ५० औं क्याप ।


अर्थात् बंगलादेशविरुद्धको खेलबाट उनले नेपालको राष्ट्रिय जर्सीको यात्रा अर्धशतक पुर्‍याए । साफ च्याम्पियनसिप खेलिरहेका अहिलेका खेलाडीमध्ये उनीभन्दा बढी खेल्नेमा नियमित कप्तान विराज महर्जन, किरण लिम्बु र रोहित चन्दमात्र छन् । किरण र रोहित दुवैले भरतपछि मात्र नेपालका लागि डेब्यु गरेका हुन् । घुँडाको चोट र अरू कारण धेरै खेल गुमाउनु नपरेको भए, उनी विराजसँगै नेपालका लागि सर्वाधिक खेल खेल्नेको होडमा हुन्थे ।


एन्फा एकेडेमीका उत्पादन भरतको सानो छँदादेखि मिल्ने साथी हुन्, तिनै विराज । संयोगले भरतले पनि विराजसँगै एउटै खेलमा डेब्यु गरेका थिए, पोखरामा सम्पन्न पाकिस्तानविरुद्ध फ्रेन्ड्लीमा । सन् २००८ मार्च २५ को खेल थियो, त्यो । फ्रेन्ड्ली सिरिजको त्यो पहिलो खेल उनीहरू दुईका लागि मात्र नभएर चुनबहादुर थापा, सन्दीप राई र नीराजन खड्काको पनि पहिलो खेल थियो । अर्को संयोग के पनि भइदिएको छ भने निराजनले यसपल्टको साफ च्याम्पियनसिपबाट नेपाली टिममा पुनरागमन गरेका छन् ।


चुनबहादुरले खेल्न छाडिसके भने सन्दीपमाथि आजीवन प्रतिबन्ध छ । डेब्युयता उनले नेपाली टिममा नियमित स्थान पाउन संघर्ष गर्नुपरेको थियो, त्यति बेलाका प्रशिक्षक थोमस फ्लाथले उनलाई धेरै अवसर दिएनन् । नेपाली टिमको प्रशिक्षकमा ग्राहम रोबर्टसको आगमनयता भने भरतले नियमित अवसर पाउन थाले । यही क्रमलाई त्यसपछिका प्रशिक्षक कृष्ण थापा र ज्याक स्टेफानोस्कीले पनि कायम राखे । त्यसयताका केही खेल उनले गुमाए, घुँडाका चोटका कारण गुमाए ।


यसक्रममा उनले सन् २०१५ को साफ च्याम्पियनसिप गुमाए । त्यसपछि भने उनी नियमित टिममा छन् । विराजको अनुपस्थितिमा उनले तीन अवसरमा कप्तानी पनि गरिसकेका छन् राष्ट्रिय टिमको । उनले नेतृत्व पहिलो खेल एसिया कप छनोटको फिलिपिन्सविरुद्धको खेल थियो । उनी नेपालका सर्वाधिक गोल गर्ने खेलाडीको होडमा पनि छन् । उनले नेपालका लागि १० गोल गरिसकेका छन् । यसपल्टको साफ च्याम्पियनसिपमा पनि उनले भुटानविरुद्ध गरेका छन् ।


‘धेरै कारणले मैले नेपालका लागि केही खेल गुमाएँ । अब मेरो लक्ष्य नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान छुनु हुनेछ । आउने केही वर्ष म यसैमा केन्द्रित हुने छु र कडा मिहिनेत हुनेछु,’ उनले भनेका छन् । नेपालका लागि सर्वाधिक १३ गोल गर्ने दुई खेलाडी हरि खड्का र नीराजन रायमाझी । उनले आउने केही वर्ष कडा मिहिनेत गर्ने हो भने उनीसामु सर्वाधिक गोल र खेल दुवैको कीर्तिमान छुने अवसर हुनेछ ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?