२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

साफ च्याम्पियनसिप फुटबल: सेमिफाइनल जिङ्क्स

नेपाल ०–३ माल्दिभ्सभारत ३–१ पाकिस्तान

ढाका — नेपाल फेरि एकपल्ट साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमै रोकिएको छ । नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा फाइनल पुग्न सकेको छैन । यस संस्करणको कथा पनि उही रह्यो ।

साफ च्याम्पियनसिप फुटबल: सेमिफाइनल जिङ्क्स

नेपाल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको हातबाट पराजित रह्यो । यो नेपालका लागि ‘एन्टी क्लाइमेक्स’ रह्यो ।


खेलअगाडि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले दाबी गरेका थिए, नेपालका लागि ऐतिहासिक दिन आउँदै छ । खेलाडीले त्यसलाई मिल्दो मैदानमा खेल्न सकेनन् । अन्त्यमा यो पूर्णत: बिर्सनलायक रह्यो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल सेमिफाइनलमै रोकिएको यो चौथोपल्ट हो । यसअघि नेपाल सन् १९९९, २०११ र २०१३ को संस्करणमा पनि सेमिफाइनलमै पराजित रहेको थियो ।


साफ बन्नुअगाडि यो प्रतियोगिता सार्क गोल्डकपको नामले आयोजना हुन्थ्यो । नेपाल १९९५ को सार्क गोल्डकपमा पनि सेमिफाइनलबाट अगाडि बढ्न सकेको थिएन । बुधबारको पराजयपछि नेपालले सेमिफाइनल ‘जिङ्क्स’ लाई तोड्न सकेन । त्यतिमात्र होइन, साफ च्याम्पियनसिपकै इतिहासमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन र यो क्रम पनि टुटेन ।

वर्षा झेल्दै बंगबन्धु रंगशालामा उपस्थित नेपाली समर्थक ।


नेपालले लिग चरणमा भुटान र बंगलादेशलाई हराएर समातेको लयबाट फाइदा लिन सकेन र यो लय माल्दिभ्सविरुद्ध पूर्णत: रोकिएको देखियो । खेलको सुरुदेखि नेपालको प्रदर्शन एकदमै फिक्का देखिएको थियो । एक गोलले पछाडि रहेको स्थितिमा नेपालले केही आक्रमण बुने पनि अन्त्यतिर टिमको प्रदर्शन नितान्त कमजोर साबित भयो ।


अपेक्षा विपरीत खेल
नेपाली टोलीका मुख्य प्रशिक्षक महर्जनले टिमको योजनाअनुसार खेलाडीको प्रदर्शन नभएको बताए । उनले भने, ‘टिमको प्रदर्शन सोचेजस्तो हुन सकेन । आज हामीलाई भाग्य र मौसम दुवैले साथ दिन सकेन । फेरि माल्दिभ्सका केही प्रमुख खेलाडीले निकै राम्रो प्रदर्शन गरे । माल्दिभ्सको फुटबल यसअघि पनि राम्रो थियो । यसपल्ट केही प्रमुख खेलाडी पनि राम्रो नै देखियो । फेरि एकपल्ट हामी सेमिफाइनलभन्दा अगाडि बढ्न सकेनौं ।’


लगातारको भारी वर्षा र चटयाङको सम्भावनाका कारण खेल २७ औं मिनेटमा रोकिएको थियो । त्यसको ३३ मिनेटपछि मात्र खेल पुन: सुरु भएको थियो । पानीले भिजेको मैदानमा नेपाली खेलाडी संघर्षरत् देखिए ।


भाग्यमानी माल्दिभ्स
माल्दिभ्सले लिग चरणमा कुनै खेल जितेको त थिएन नै । कुनै गोल पनि गरेको थिएन । यस्तोमा उसको सेमिफाइनल यात्रालाई लिएर आलोचना भइरहेको थियो । सेमिफाइनल पुग्ने टिमका लागि भएको ‘टस’ मा भाग्यमानी साबित भएपछि मात्र माल्दिभ्सले नेपालसँग खेल्ने अवसर पाएको थियो । फुटबलमा भन्ने गरिन्छ, भाग्यले ‘बहादुर’ लाई मात्र साथ दिन्छ । नेपालविरुद्धको खेलमा माल्दिभ्स बहादुर देखियो । माल्दिभ्स यो जितका लागि हकदार रह्यो । माल्दिभ्सले नवौं मिनेटमा अक्रम अब्दुल घानीले गोल गरे ।


पेनाल्टी क्षेत्रबाहिरबाट उनले गरेको फ्रि–किक प्रहार गोलमा परिणत भयो । उनले मैदानको दायाँ भागबाट गरेको प्रहारले नेपाली गोलरक्षक किरण लिम्बुको कमजोरी प्रस्ट देखाएको थियो । यस स्थितिमा किरणले यसअघि पनि गोल खाइसकेका छन् र यो उनले सुधार्नुपर्ने पक्ष रह्यो । संयोगले यो नै प्रतियोगितामा माल्दिभ्सको पहिलो गोल पनि रह्यो । माल्दिभ्सका पछिल्ला दुई गोल इब्राहिम हसनले गरे । उनले ८४ र ८६ औं मिनेटमा गोल थपेका हुन् ।


दुवै गोलको कारण नेपालको कमजोर डिफेन्स रह्यो । दुवै अवसरमा हसनले नजिकको दूरीबाट गोल गरेका हुन् । नेपालले ७५ औं मिनेटमा डिफेन्डर सुमन अर्याललाई सब्स्टिच्युट गर्दै विशाल राईलाई उतारेको थियो र यो टिमका लागि घातक साबित भयो । दुवैको गोलको अवसरमा नेपाली डिफेन्समा कुनै प्रकारको तालमेल देखिएन । एक विशेषज्ञ डिफेन्डरको अभावमा नेपाली टिममा देखिएको कमजोरीबाट माल्दिभ्सले फाइदा लिन सक्यो ।


नेपाली टिम : किरण लिम्बु, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल (विशाल राई ७५), दिनेश राजवंशी, सुजल श्रेठ, रोहित चन्द, नीराजन खड्का (नवयुग श्रेष्ठ ६०), सुनील बल, भरत खवास (अन्जन विष्ट ६०), विमल घर्तीमगर ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?