३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाली यू–१९ को हार

काठमाडौँ — नेपाली यू–१९ क्रिकेट टोलीले चार टिमसम्मिलित यू–१९ क्रिकेट प्रतियोगिताको सुरुआत पराजयबाट गरेको छ । नेपाल यू–१९ टोली बुधबार भारत यू–१९ ‘बी’ सँग ४० रनले पराजित भयो ।

नेपाली यू–१९ को हार

भारतीय क्रिकेट बोर्डको आयोजनामा लखनउको इकाना अन्तर्राष्ट्रिय रंगशालाको दोस्रो मैदानमा भएको खेलमा नेपालले टस जितेपछि ब्याटिङ गरेको भारत यू–१९ ‘बी’ निर्धारित ५० ओभर पूरा खेल्नु एक ओभरअगाडि १ सय ६१ रनमा अलआउट भयो । जवाफमा नेपाल यू–१९ केवल ४१.३ ओभरमा १ सय २१ रनमा अलआउट भयो ।


तल्लोक्रममा कमलसिंह ऐरीले २७ बलमा बनाएको २२ रनमा नेपालको स्कोर हेर्नलायक बनेको थियो । दुई छक्का प्रहार गरेका उनी आउट हुने अन्तिम ब्याट्सम्यान थिए । ओपनरद्वय तृतराज दास र रवि शाह समान ८ रनमै आउट भए । विपिन रावल २ र सन्दीप जोरा ४ रनमै आउट भएपछि नेपाल १६ औं ओभरमा २८–४ को स्थितिमा पुगेको थियो ।


कप्तान आशिफ शेख र भीम सार्कीले पाँचौं विकेटमा ३८ रनको साझेदारी गरी नेपाललाई केही आस देखाए । ४० बलमा ३ चौका प्रहार गरी आशिफ १७ रन बनाई आउट भए । भीमले ३० रन जोडे । उनले ५७ बल खेली ४ चौका प्रहार गरे । पवन सर्राफले १२ रन बनाए । शम्साद आलम शून्य, किशोर महतो ६ रनमा आउट भएसँगै नेपालको हार निश्चित भयो । सागर ढकाल १ रनमा नटआउट रहे । भारत यू–१९ ‘बी’ का सुभाङ हेगदेले १० ओभरमा १ मेडन राख्दै २९ र पंकज यादवले १० ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर समान ३ विकेट लिए ।


यसअघि नेपाली बलरले भारतीय ब्याट्सम्यानलाई नियन्त्रणमा राखेका थिए । तर ब्याटिङमा त्यसको फाइदा उठाउन सकेन । भारत यू–१९ ‘बी’ बाट कामरन इकवालले सर्वाधिक ५० रन बनाए । ओपनर इकवालले ५६ बल खेली ५ चौका र २ छक्का प्रहार गरी पवनद्वारा बोल्ड भए । त्यसपछि बढी रन हान्नेमा ऋषभ चौहान थिए । उनले १९ रन बनाएका थिए ।


ओपनिङ बलर कमलले ३ विकेट लिए । तीव्र गतिका उनले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चे । पवनले १० ओभरमा ३१ रन नै खर्चेर २ विकेट लिए । किशोर, शम्साद र सागरले १–१ विकेट लिए । नेपालले शुक्रबार भारत यू–१९ ‘ए’ सँग शुक्रबार प्रतियोगिताको दोस्रो खेल खेल्नेछ ।

इकाना अन्तर्राष्ट्रिय रंगशालाको मुख्य मैदानमा भएको दिनको अर्को खेलमा भारत यू–१९ ले अफगानिस्तान यू–१९ लाई १ सय ४० रनले पराजित गरेको छ । प्रभसिमरन सिंहको १ सय ४, पवन शाहको ६७ र आयुष बोदनीको ५२ रनमा भारत यू–१९ ‘ए’ ले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाई ३ सय २८ रन बनायो । अफगानिस्तान यू–१९ जवाफमा ४६.५ ओभरमै १ सय ८८ रनमा अलआउट भयो ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?