कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफ फेरि च्याम्पियन

लेखनाथ — सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यस वर्ष पनि तीज राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

एपीएफ फेरि च्याम्पियन

लामाचौर तीज महोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा बुधबार एपीएफले चिरपरिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराएर उपाधी रक्षा गरेको हो ।


लामाचौरको इन्द्रराज्य लक्ष्मी माविको कोर्टमा एपीएफले २५–२०, १८–२५, २५–१७, २५–२१ को सेटमा सफलता पायो । पोखरेली दर्शकको साथ पाएको न्यु डायमन्डले दोस्रो सेट आफ्नो पक्षमा पारे पनि अन्य सेटमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा उपविजेतामा समेटियो । ठूलो वर्षाका कारण खेल पटक–पटक स्थगित भएको थियो । तेस्रो स्थानमा त्रिभुवन आर्मीले चितवन टाइगर्सलाई २५–१८, २५–१८, २५–१८ को सेटमा हरायो ।


एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार रुपैयाँ पाइन् । बेस्ट स्पाइकर न्यु डायमन्डकी प्रतिमा माली, उत्कृष्ट ब्लकर आर्मीकी सुनीता खड्का, उत्कृष्ट सेटर एपीएफकी शशी चौधरी, उत्कृष्ट डिफेन्स न्यु डायमन्डकी शैलेन्द्रा श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट, उत्कृष्ट सर्भर न्यु डायमन्डकी झरना श्रेष्ठ र क्विक स्पाइकर एपीएफकी हीरा केसी घोषित भए ।


विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा तीन दिन चलेको प्रतियोगितामा दुई विभागीयसहित ५ टिमको सहभागिता थियो ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?