मैदानको अभाव, गतिविधि शून्य

‘करिब एक महिनाको प्रशिक्षण हुन्छ । उक्त समयमा पनि पर्याप्त खेल सामग्री हुँदैन । कसरी पदक जितिन्छ ?’’
मनोज बडू

दार्चुला — आधा दर्जन राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको दार्चुलामा खेलमैदान नहुँदा पछिल्लो समयमा खेल गतिविधि ठप्प भएको छ । मैदान र प्रशिक्षक अभावमा यहाँका सबै खेल गतिविधि प्रभावित बन्न पुगेको हो ।

मैदानको अभाव, गतिविधि शून्य

विगतमा राष्ट्रिय र क्षेत्रीय स्तरका प्रतियोगितामा राम्रो नतिजा आउने गरे पनि पछिल्लो समयमा प्रशिक्षण नपाउँदा खेलाडीबाट आस गरेअनुरूप उपलब्धि प्राप्त नभएको भलिबलका पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशीले बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जिल्लालाई करिब आधा दर्जन खेलका प्रशिक्षक राखेको भए पनि नियमित प्रशिक्षण भने हुन सकेको छैन । ‘खेलाडीलाई नियमित प्रशिक्षण भए नतिजा पनि राम्रै आउन सक्थ्यो,’ उनले भने, ‘प्रशिक्षक हुँदा पनि खेलाडीलाई प्रशिक्षण दिएको देखिँदैन ।’ केही वर्षदेखि जिल्लाले प्रशिक्षक भएकै खेलमा आशा गरेअनुरुप उपलब्धि पाउन सकेको छैन ।


मैदानको अभावमा सबै किसिमका खेलको प्रशिक्षण गराउन नसकिएको प्रशिक्षकहरूको भनाइ छ । परिषद्बाट कबड्डी, कराँते र ह्यान्डबल खेलमा प्रशिक्षक नियुक्त गरिए पनि जिल्लामा भने कहिल्यै खेलाडीलाई प्रशिक्षण दिएको भेटिँदैन । जिल्ला खेलकुद विकास समितिले भलिबल र एथलेटिक्समा स्वयंसेवक प्रशिक्षक नियुक्त गरेको छ । तर, उक्त खेलका प्रशिक्षकले पनि खेलाडीलाई प्रशिक्षण गराउँदैनन् । परिषद् यहाँका प्रशिक्षकलाई नायब सुब्बास्तरको तलब सुविधा दिएको भए पनि सम्बन्धित खेलका खेलाडीले प्रशिक्षण भने पाउन सकेका छैनन् ।


जिल्लाले विभिन्न समयमा हुने राष्ट्रिय प्रतियोगितामा फुटबल, क्रिकेट, कराँते, भलिबल, एथलेटिक्स, ह्यान्डबल, ब्याडमिन्टनलगायत १० खेलमा सहभागिता जनाउँदै आएको छ । तर मैदान तथा खेल सामग्रीको अभाव, सबै खेलका प्रशिक्षक नहुनु, २–२ वर्षमा हुने बृहत् राष्ट्रिय प्रतियोगिता नहुनु, प्रशिक्षण गराउन राष्ट्रिय प्रतियोगिताको मुख ताक्नुपर्ने लगायतका कारणले यहाँका खेलाडीलाई नियमित प्रशिक्षण गराउन नसकिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


कुनै प्रतियोगिता हुने सार्वजनिक भएपछि मात्र प्रशिक्षण दिन थालिन्छ । राष्ट्रपति रनिङ सिल्ड भएपछि कुनै विधाका खेलाडीलाई प्रशिक्षण दिएको देखिँदैन । ‘राष्ट्रिय स्तर वा कुनै प्रतियोगिता हुने मिति तोकिएपछि मात्र प्रशिक्षणमा भाग लिन पाइन्छ,’ भलिबल खेलाडी गोमती जोशीले भनिन्, ‘करिब एक महिनाको प्रशिक्षण हुन्छ । उक्त समयमा पनि पर्याप्त खेल सामग्री हुँदैन । कसरी पदक जितिन्छ ?’


राष्ट्रिय प्रतियोगितामा जिल्लाबाट विभिन्न खेलका खेलाडीले भाग लिए पनि प्रशिक्षणको अभावमा पदक प्राप्त गर्न सकिरहेका छैनन् । जिल्लाले कराँतेको अन्तर्राष्ट्रिय रेफ्री समेत उत्पादन गरेको छ । केही खेलका खेलाडीलाई प्रशिक्षण दिइरहेको र मौसम अनुकूल नहुँदा प्रशिक्षण गराउन अप्ठ्यारो भएको खेलकुद विकास समितिले जनाएको छ ।


जिल्लामा भलिबल, त्रिकेट लगायत एथलेटिक्स खेलको क्रेज बढी भए पनि भलिबल र क्रिकेटका प्रशिक्षक नभएको भलिबलका पूर्व राष्ट्रिय खेलाडी जोशीको भनाइ छ । २०७० सालमा बगाएको खुला मञ्च अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । जिल्ला सदरमुकाममा मैदान नहँुदा प्रशिक्षक भएर पनि खेलाडीलाई प्रशिक्षण दिन नसकिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?