२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बंगबन्धुले क्लबलाई पिरलो

सुबास हुमागाईं

काठमाडौँ — नेपाली राष्ट्रिय टोलीले असोज १५ देखि सुरु हुने बंगबन्धु कपमा सहभागिता जनाउने भएसँगै शीर्ष ‘ए’ डिभिजन क्लबलाई भने खेलाडी समस्याले पिरोल्ने भएको छ । विगतमा पनि व्याप्त रहेको क्लब र राष्ट्रिय टोलीको विवादमा फेरि एकपटक खेलाडी बीचमा पर्ने देखिएको छ ।

बंगबन्धुले क्लबलाई पिरलो

एन्फाले आइतबार असोज १३ देखि लिग गर्ने घोषणा गर्‍यो । त्यसै कार्यक्रममा बंगबन्धु कपमा पनि सहभागिता जनाउने बताएपछि खेलाडी क्लबमा जाने कि राष्ट्रिय टोलीमा बस्ने भन्ने विवाद उत्पन्न भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएसँगै राष्ट्रिय टोलीका खेलाडी अहिले नै क्लबमा उपलब्ध नहुने बताए । ‘राष्ट्रिय टोलीले बंगबन्धु खेल्ने हुँदा खेलाडी क्लबमा जाने छैनन्, राष्ट्रिय टोलीमा नै रहेर प्रशिक्षण गर्नेछन्,’ उनले कार्यक्रममा भने । यता ‘ए’ डिभिजन क्लबका प्रशिक्षक तथा प्रतिनिधि भने यसबारे आफूलाई जानकारी नभएको र लिगको मुखैमा क्लबमा मुख्य खेलाडी लैजाँदा लिगमा सहभागिता जनाउन कठिन हुने बताउँछन् ।

हाल राष्ट्रिय टोलीमा त्रिभुवन आर्मी क्लबका ४ खेलाडी छन् । गोलरक्षक विकेश कुथु र डिफेन्डर सुमन अर्यालसँगै फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास राष्ट्रिय टोलीमा छन् । क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले राष्ट्रिय टोलीका खेलाडी आएपछि क्लबले लिगका लागि अन्तिम तयारी थालेको बताउँछन् । ‘हामीले विगत दुई महिनादेखि विशेषगरी लिगलाई लक्षित गरेर प्रशिक्षण गर्दै आएका छौं । राष्ट्रिय टोलीमा केही सदस्य व्यस्त रहँदा तयारीले पूर्णता पाएको थिएन । अब हामी दुई साता समय एकत्रित भएर अन्तिम तयारी गर्ने लक्ष्यसहित अगाडि बढ्नेछौं,’ न्यौपानेले भने ।

एन्फाले हालसम्म राष्ट्रिय टोलीका खेलाडी लिग अगाडि क्लबलाई उपलब्ध नहुनेबारे कुनै जानकारी नदिएको उनले बताए । ‘हामीलाई अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन । हामीले लिग १३ गते सुरु हुने जानकारी पाएका छौं र त्यसैअनुसार आफ्नो तयारी जारी राख्छौं । मुख्य खेलाडीबिना लिग खेल्ने त परै जाओस पूर्ण तयारी पनि सम्भव छैन । हाम्रो क्लबमात्र हैन, राष्ट्रिय टोलीका खेलाडी सम्मिलित अन्य क्लबलाई पनि यसमा समस्या हुन्छ,’ उपाधि दाबेदार मानिएको आर्मीका प्रशिक्षकले सुनाए ।

राष्ट्रिय खेलाडीको बाहुल्य रहेका दुई शीर्ष क्लब थ्री–स्टार र मनाङ–मस्र्याङ्दीको अवस्था पनि उस्तै छ । ‘हामीले खेलाडी उपलब्ध नहुनेबारे औपचारिक जानकारी पाएका छैनौं । पक्कै पनि राष्ट्रिय खेलाडीबिना लिगको तयारी गर्न सम्भव छैन । एन्फाले जानकारी दिएपछि हामी क्लबमा छलफल गरेर के गर्ने निष्कर्ष निकाल्नेछौं,’ थ्री–स्टारका कार्यवाहक अध्यक्ष एवं एन्फाका सहमहासचिव अरुणमान जोशीले बताए ।

लिगको डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले विदेशी प्रशिक्षकसहित यसपटक लिगका लागि मोटो रकम तिरेर राष्ट्रिय खेलाडीहरू भित्र्याएको छ । लिग उपाधि रक्षा गर्न मनाङले लामो समयदेखि खेलाडी अनुबन्धन गरेर नियमित तलब पनि दिएको छ । थ्री–स्टार र मनाङबाहेक अन्य कमै क्लबले लिग नहुँदा पनि खेलाडीलाई अनुबन्धनमा राखेका छन् ।

मनाङका महासचिव मुखिया लामाले लिग अगाडि राष्ट्रिय खेलाडी उपलब्ध नहुनेबारे हालसम्म कुनै जानकारी नपाएको बताए । ‘हामीले कुनै जानकारी पाएका छैनौं । बंगबन्धु कपमा नेपाल नखेल्ने भनेर नै हाम्रो तयारी अगाडि बढेको छ । क्लबले लिगको तयारीका लागि धेरै अगाडिदेखि खेलाडीसँग सम्झौता गरेर राखेको छ । अब जम्मा दुई साता बाँकी रहँदा पनि खेलाडी क्लबमा नहुनेबारे सोच्न सकिन्न,’ लामाले भने ।

प्रकाशित : आश्विन १, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?