१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महिला साफ च्याम्पियनसिप : लक्ष्य उपाधिकै

सुबास हुमागाईं

काठमाडौँ — दक्षिण एसिया क्षेत्रको विश्वकप मानिने साफ च्याम्पियनसिपमा नेपाल सधैं अभागी सावित हुँदै आएको छ । राष्ट्रिय पुरुष टोली गत साता बंगलादेशबाट चौथोपल्ट सेमिफाइनलमा रोकिएर घर फर्कियो । यो नै नेपालको अहिलेसम्मको सफल प्रदर्शन पनि रह्यो ।

महिला साफ च्याम्पियनसिप : लक्ष्य उपाधिकै

महिलातर्फ भने यस प्रतियोगितामा नेपालको सबैभन्दा खराब प्रदर्शन नै सेमिफाइनलको छ । तैपनि टोली अझैसम्म उपाधिविहीन छ ।

महिला साफ च्याम्पियनसिपको पाँचौं संस्करण डिसेम्बर तेस्रो साता हुने टुंगो लागिसकेको छ । यसअघिका चारै संस्करणमा नेपाल छिमेकी भारतसँग पराजित हुँदै घर फर्कनुपरेको छ । पहिलो तीन संस्करणमा भारतसँग उपाधिलाई भिडेको नेपाल पछिल्लोपल्ट भने सेमिफाइनलबाट नै बाहिरिन पुगेको थियो । प्रदर्शनका आधारमा पछिल्लो समय महिला फुटबलले सुधारिँदो अवस्था छ । तर त्यो प्रदर्शनलाई नतिजामा ढाल्दै टोली सफलता पाउनबाट भने चुकेको स्थिति छ ।

नेतृत्व परिवर्तनसँगै एन्फाको वर्तमान कार्यसमितिले महिला फुटबललाई विशेष प्राथमिकतामा राख्ने बताएको छ । यसको सुरुआत सोचेअनुरुप नभए पनि भावी योजना भने आसलाग्दा छन् । एन्फाले आयोजना गरेको महिला लिग स्तरको हिसाबमा निकै कमजोर रहयो । तर राष्ट्रिय टोलीको तयारीमा भने एन्फाले अहिले राम्रो कार्यक्रम अगाडि सारेको छ ।

महिलातर्फ उमेर समूहमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाइरहेको छ । महिला फुटबलको उर्वरभूमि मानिने रौतहटमा टेक्निकल सेन्टर खोल्ने निर्णय पनि प्रशंसनीय छ । यसबाहेक एन्फाले प्रदेश संरचनामा पनि महिला प्रतियोगिता ल्याउने गृहकार्यमा व्यस्त छ । महिला साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै तीन सातादेखि राष्ट्रिय टोली नियमित प्रशिक्षणमा छ ।

प्रशिक्षक हरि खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदै एन्फाले लिगको प्रदर्शन आधारमा ४० खेलाडी सुरुआती छनोटमा बोलाएको थियो । दुई साता प्रशिक्षणपछि प्रशिक्षक खड्काले खेलाडीसंख्या ३० मा झारेका छन् । नेपाली टोली अर्को महिना मैत्रीपूर्ण खेलका लागि चीन जाने कार्यक्रम छ । त्यसका लागि २३ खेलाडीको नामावली केही दिनमै आउनेछ ।

साफ च्याम्पियनसिपअघि नेपाली टोलीले तयारीनिम्ति राम्रो अवसर पाएको छ । नोभेम्बर दोस्रो साता म्यानमारमा हुने एएफसीको महिला ओलम्पिक छनोट प्रतियोगितामा नेपाल सहभागी हुँदै छ । नेपालको समूहमा आयोजक म्यानमारसँगै दक्षिण एसियाका दुई बलिया टोली भारत र बंगलादेश छन् । प्रशिक्षक खड्का पनि यो प्रतियोगिताले साफ च्याम्पियनसिपलाई राम्रो तयारी हुने बताउँछन् ।

‘हामीले चीनसँगको मैत्रीपूर्ण खेल र त्यसपछि ओलम्पिक छनोट साफकै तयारीका रूपमा लिएका छौं । पक्कै पनि हामी सक्दो राम्रो प्रदर्शन गरेर नतिजा ल्याउने प्रयास गर्नेछौं । तर अहिले मुख्य लक्ष्य भनेको साफ नै हो । ओलम्पिक छनोटमा भारत र बंगलादेशसँग खेलेपछि साफमा हामीलाई उनीहरूबारे बुझ्न सजिलो हुन्छ,’ खड्काले भने ।


कप्तान रेनुका नगरकाेटे ।

नेपालले महिलातर्फ पहिलोपल्ट ओलम्पिक छनोटमा सहभागिता जनाउन लागेको हो । छनोट चरणमा सहभागी १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई तथा दुई उत्कृष्ट तेस्रो स्थानका टोली दोस्रो चरण पुग्ने छन् । दोस्रो चरणमा पुगेका १० टोलीले भियतनाम र उज्वेकिस्तानसँग रहेर अर्को प्रतियोगिता खेल्नेछन् । उक्त प्रतियोगिताबाट ३ टोलीले अन्तिम छनोटका लागि अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक खड्का साफ उपाधि लक्ष्य राखे पनि त्यसमा पुग्न सहज नभएको बताउँछन् । ‘विगतमा हाम्रो एकल प्रतिद्वन्द्वी भारत हुन्थ्यो र हामीमा भारतलाई परास्त गर्ने मनोवैज्ञानिक शक्ति नभएको मैले देखेको छु । अहिले बंगलादेशले पनि दक्षिण एसियाली फुटबलमा निकै सफलता हात पार्दै आएको छ । उमेर समूहदेखि नै बंगलादेशले महिला फुटबललाई पनि प्राथमिकतामा राखेका कारण यो
नतिजा आएको हो । हामीले भारत त छँदै छ, बंगलादेशबारे पनि हेक्का राख्नुपर्छ,’ उनले सुनाए ।

पछिल्लो संस्करणमा बंगलादेश फाइनलमा भारतसँग हारेको थियो । उमेर समूहका पछिल्ला प्रतियोगितामा पनि भारत र बंगलादेशकै दबदबा छ । राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटे नेपाली फुटबलले महिलालाई प्राथमिकता दिए पनि दक्षिण एसियाका अन्य टोलीले भने निकै सुधार गरिसकेको बताउँछिन् । ‘नेपालले सुधार गरेको त छ तर अन्य राष्ट्रको विकास कार्यक्रम र लिगको स्तरोन्नति गर्दै महिला फुटबललाई धेरै माथि पुर्‍याएका छन् । अब हामीले पनि दीर्घकालीन योजना नबनाउने हो भने पछाडि पर्न सक्छौं,’ उनले भनिन् ।

लामो समयदेखि नेपाली फुटबलको लक्ष्य साफ च्याम्पियनसिप जित्ने भए पनि यसपल्ट तयारीको सुरुआत राम्रो भएको र भावी योजनाले आफूहरू उत्साही बनेको उनले सुनाइन् । ‘हामीले तीन सातादेखि नियमित प्रशिक्षण गरिरहेका छौं । अब मैत्रीपूर्ण खेल र ओलम्पिक छनोटले टोलीलाई थप बलियो बनाउने छ । राम्रो तयारी भएपछि नतिजा अवश्य पनि राम्रो नै हुन्छ भन्ने अपेक्षा राखेका छौं,’ कप्तान रेनुका भन्छिन् ।

प्रकाशित : आश्विन २, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?