लिभरपुलको रोमाञ्चक जित

एएफपी

पेरिस — रोबर्टो फिरमिनोले अन्तिम समयमा गरेको गोल मदतले लिभरपुलले मंगलबार राति युरोपेली च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा पेरिस सेन्ट जर्मेनलाई ३–२ ले हरायो ।

लिभरपुलको रोमाञ्चक जित

लियोनल मेसीको ह्याट्रिक मदतले बार्सिलोनाले पनि प्रतियोगितामा विजयी सुरुआत गरेको छ । युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताका अरू खेलमा पनि अन्त्यतिर भएका गोल निर्णायक बने । यसक्रममा इन्टर मिलानलले टोटेनहमलाई हरायो ।एट्लेटिको म्याड्रिडले मोनाकोलाई हराएसँगै अरू ठूला टिमले पनि विजयी सुरुआत गरे ।

तर दिनको प्रमुख दुई हेभिवेट टिमको भिडन्त एनफिल्डमा रह्यो । समूह ‘सी’ को यो खेल गत सिजनको उपविजेता र उपाधिको प्रत्याशीबीच थियो । अपेक्षाअनुसार यो खेल रोमाञ्चक पनि रह्यो । बलियो सुरुआत लिएको लिभरपुलले ३६ मिनेटभित्र दुई गोलको अग्रता लियो । ड्यानिएल स्टुरेजले पहिलो गोल गरेपछि जेम्स मिल्नरले दोस्रो गोल थपे ।

तर फ्रान्सेली लिग च्याम्पियनका लागि थोमस मेनिएरले पहिलो गोल फर्काएयता ८३ औं मिनेटमा केलियन एमबापेले बराबरी गोल फर्काए, नेयमरको सहयोगमा । यो दुई विश्वकै महँगा खेलाबीच चलेको साझेदारीको गोल रह्यो । सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गरेका फिरमिनोले खेल सकिन केही सेकेन्ड अगाडि निर्णायक गोल गरे । ‘बबीको कति मात्र प्रशंसा गरौं,’ लिभरपुल प्रशिक्षक योर्गन क्लोपले भने, ‘चोट लागेपछि पनि मैदानमा आउनु र गोल गर्नु ठूलो उपलब्धि हो ।’

लिगमा टोटेनहमविरुद्ध जान भेर्टोन्घेनको हातले उनको आँखामा चोट लाग्न पुगेको थियो । अब पीएसजीले रेड बेलग्रेडको सामना गर्नेछ भने लिभरपुलले नेपोलीको । यी दुई टिमले अर्को खेलमा गोलरहित बराबरी खेले । समूह ‘बी’ को नु क्याम्पमा भएको खेलमा बार्सिलोनाले पीएसभी आयनहोभनलाई ४–० ले हरायो । लामो यात्रा तय गर्ने छाँट देखाएका मेसीले ३२ औं मिनेटमा पहिलो गोल गरेयता ८७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । त्यसबीचमा ओसमन डेम्बेलेले एक गोल थपे ।

मिलानमा भने इन्टरले २–१ को जित निकाल्यो । लिभरपुलको हातबाट लिगमा हार बहोरेयता टोटेनहमको यो लगातार दोस्रो हार हो । ‘पछिल्ला खेलमा केही राम्रो भइरहेको छैन, तर यो क्षमायोग्य छैन,’ टोटेनहमका प्रशिक्षक मउरिसो पोचेटिनोले भने । यस्तै अरू खेलमा बोर्सिया डर्टमन्डले क्लब ब्रुगलाई १–० ले हरायो भने साल्काले एफसी पोर्टोसँग १–१ को बराबरी खेल्यो । गालातासारेले भने लोकोमोटिभ मस्कोलाई ३–० ले पराजित गर्‍यो ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?