कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट : नेपालको खराब सुरुआत

काठमाडौँ — सुरुआती अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालको यू–१६ महिला टोलीले एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटअन्तर्गत पहिलो खेलमा फिलिपिन्सविरुद्ध ४–० को हार बेहोरेको छ ।

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट : नेपालको खराब सुरुआत

फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई तथा किन अलामो र मिकाएला भिलाचिनले १–१ गोल गरे ।

प्रतियोगिता सुरु हुने अघिल्लो दिन प्रि–म्याच प्रेस कन्फरेन्समा नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले पहिलो खेल महत्त्वपूर्ण रहने र नेपालले जितका लागि खेल्ने बताएकी थिइन् । नेपालले बुधबार हलचोकस्थित एपीएफ रंगशालामा त्यसैअनुसार सुरुआत पनि गर्‍यो ।

खेलको पहिलो मिनेटदेखि नै बलमा पकड जमाएको नेपालले विपक्षी बक्समा लगातार आक्रमणको प्रयास गर्‍यो । खेलको १२ औं मिनेटमा सविता रानामगरको फ्रिकिकलाई गोलरक्षक मारिया यापले हल्का छोएपछि क्रसबारमा लाग्दै फर्कियो । त्यसको दुई मिनेटपछि नै अस्मिता चौधरीले पेनाल्टी क्षेत्रभित्रको बायाँबाट गरेको शक्तिशाली प्रहारले गोलरक्षकलाई बिट गरे पनि पोस्ट बाधक बन्यो ।

नेपालको लगातार आक्रमण निस्तेज पारेको फिलिपिन्सले त्यसपछि काउन्टर अट्याकमा सुन्दर अवसर पायो । कप्तान मारियाले वान भर्सेस वानको स्थितिमा गोलरक्षकलाई छलाएर प्रहार गरेको बल सविना चौधरीले गोललाइनबाट बचाइन् । नेपालको आक्रमण फितलो भएपछि पहिलो हाफमा नै फरवार्ड निकिता थोकरलाई मैदानमा पठाइएको थियो ।

खेलको ४२ औं मिनेटमा भने नेपाल खेलमा पछाडि पर्‍यो । डिफेन्सले क्लियर गर्न नसकेको बललाई केट सिमोन्सले पेनाल्टी क्षेत्रभित्र कन्ट्रोल गर्दै दिएको पासमा कप्तान लाजोले सहजै गोल गरिन् । त्यसको ४ मिनेटपछि सिमोन्सले मिडफिल्डबाट बल बढाउँदै पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको कटब्याकमा लाजोले सहजै अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफमा नेपाली डिफेन्सले लगातार गल्ती गरिरहे पनि फिलिपिन्सले अग्रता बढाउन भने ७६ औं मिनेटसम्म कुर्नुपर्‍यो । अलामोले मिडफिल्डबाट बल अगाडि बढाउँदै पेनाल्टी क्षेत्रको दायाँबाट गरेको प्रहार गोलरक्षक करिना धिमालले बचाउन सकिनन् । पहिलो हाफमा केही उत्कृष्ट बचाउ गरेकी करिनाले दोस्रो हाफमा भने त्यसै लयलाई कायम राख्न सकिनन् । काइली पानागनको थ्रु बलमा भिलाचिनले ८२ औं मिनेटमा सहजै फिनिस गर्दै फिलिपिन्सको सहज जित पक्का गरिन् ।


खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक गुरुङले डिफेन्सको गल्ती नै हारको मुख्य कारण रहेको बताइन् । ‘हामीले डिफेन्समा गल्ती गर्दा हार बेहोर्नु पर्‍यो । सुरुआतको लयलाई कायम राख्न सकेनौं । फरवार्डहरूले पनि अवसर चुकाउँदा दबाब सिर्जना भएको हो,’ गुरुङले भनिन् । उनले नेपाल आगामी दुई खेलमा जितको लक्ष्यसाथ मैदानमा उत्रने र छनोट हुनेमा आशावादी रहेको बताइन् ।

फिलिपिन्सकी प्रशिक्षक जोइस लान्दागानले टोलीको मिहिनेतले नै जितको आधार तय भएको बताइन् । ‘हामीले सुरुआतमा दबाब खेपे पनि खेलाडीहरू मैदानमा डटिरहे । नेपाल राम्रो टोली हो तर हाम्रा खेलाडीले पाएको अवसर सदुपयोग गर्न सके । यस खेलले हाम्रो हौसला बढेको छ तर मिहिनेतबिना अगाडि बढ्न सम्भव छैन । हामी सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं,’ उनले भनिन् ।

समूहको अर्को खेलमा म्यानमारले मलेसियालाई ३–० ले पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर अन्तिम १५ मिनेटमा ३ गोल गर्दै म्यानमारले महत्त्वपूर्ण ३ अंक हासिल गर्‍यो । म्यानमारको जितमा म्याट नो खिनले ७५ औं, ८७ औं र ८९ औं मिनेटमा गोल गरेकी थिइन् । नेपालले अब समूहको दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्नेछ । त्यसै दिन अर्को खेलमा मलेसिया र फिलिपिन्स भिड्नेछन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?