फुटबल एकेडेमीलाई जग्गा खोजी

लेखनाथ, कास्की — अखिल नेपाल फुटबल संघ (एन्फा) ले आवासीय फुटबल एकेडेमी बनाउन कास्कीका तीन ठाउँमा जग्गाको अवलोकन गरेको छ ।

फुटबल एकेडेमीलाई जग्गा खोजी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा लगायतको टिमले बिहीबार अध्ययन गरी फर्किएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालको फुटबललाई तल्लो तहबाट नै विकास गर्न नेपालमा किशोर र किशोरीका लागि दुई छुट्टाछुट्टै एकेडेमी निर्माण गर्न लागेको हो ।

जसमध्ये किशोरीका लागि रौतहटमा काम सुरु भइसकेको छ । किशोरका लागि पोखरामा जग्गाको खोजी भएको छ । पोखरा महानगरपालिका–१५ फूलबारी रिसोर्टको केही तल रातिखहरे, हेमजाको सुइँखेत फाँट र माछापुच्छ्रे गाउँपालिका–७ मा रहेको भिडाँबारीमा टोलीले जग्गाको प्रारम्भिक अध्ययन गर्‍यो । हेरिएका तीनै ठाउँ सरकारी पर्ती जग्गा हुन् ।

भिडाँबारी मन्त्री विश्वकर्माले चुनाव जितेको क्षेत्र हो । उनले हिमशृंखलाको पनि अवलोकन गर्न सकिने र हावापानी राम्रो भएकाले भिडाँबारी नै उपयुक्त हुने राय व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ पनि उक्त जग्गामा एकेडेमी बन्नेमा ढुक्क छन् । उनले एकेडेमीका लागि आवश्यक जग्गाको नापजाँच र अन्य प्रक्रियाहरू यथाशीघ्र सक्ने बताएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले एकेडेमीका लागि अहिले नै स्थान निश्चित गर्न नसकिने बताए । प्राविधिक टोलीले ती स्थानको विस्तृत अध्ययन गरेपछि मात्रै उपयुक्त ठाउँ निक्र्यौल हुने उनले जनाए । एन्फाले सातै प्रदेशमा आवासीय एकेडेमी निर्माण गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?