३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रोनाल्डोलाई रातो कार्ड

एएफपी

पेरिस — युभेन्ट्सले च्याम्पियन्स लिग यात्रालाई भ्यालेन्सियामाथि २–० को जितसँगै बुधबार सुरु गरे पनि त्यसलाई क्रिस्टियानो रोनाल्डोलाई दिइएको विवादास्पद रातो कार्डले छायामा पारेको छ । उपाधिको दाबेदार म्यानचेस्टर सिटी भने घरेलु मैदानमा लियोनको हातबाट पराजित भयो ।

रोनाल्डोलाई रातो कार्ड

रोनाल्डोको च्याम्पियन्स लिगको युभेन्ट्सबाट डेब्यु आधा घण्टामै टुंगियो । यी पोर्चुगिज स्टारलाई भ्यालेन्सियाका फरवार्ड जेइसन म्युरिलोसँगको जुधाइमा रातो कार्ड दिइएको थियो । रोनाल्डोसँग ठोक्किएपछि कोलम्बियन म्युरिलो अनुहार छोप्दै मैदानमा ढलेका थिए । अनि रेफ्री फेलिक्स ब्रिचले आफ्ना सहायकसँग सल्लाह गरेपछि प्रतियोगिताका सर्वाधिक गोलकर्तालाई बाहिर पठाएका थिए ।

‘भीएआरले मात्र रेफ्रीको निर्णय सही हुन सक्ने बताउन सक्छु,’ यूईएफएको प्रतियोगितामा भिडियो प्रविधिको अभावबारे युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले भने, ‘यो धेरै निराशाजनक हो । हामी लगभग हारेका थियौं । र, रोनाल्डोबिना अर्को खेल खेल्नुपर्ने भएको छ ।’

रोनाल्डो बाहिरिनुअघि युभेन्ट्सले खेलमा पूर्णत: पकड राखेको थियो । दोस्रो हाफको ६ मिनेटभित्र युभेन्ट्सले पेनाल्टी पायो र त्यसमा मिरालेम जानिचले ढुक्कसँग गोल गरे । इटालियन च्याम्पियनले रक्षात्मक रूपमा राम्रो गरेको थियो । गोलकिपर वोज्सिक स्कुजनीले पनि डानिएल पारेजोको पेनाल्टी अन्तिम मिनेटमा रोकेका थिए ।

म्यानचेस्टर युनाइटेड समूह ‘एच’ को शीर्षस्थानमा छ । उसले बर्नमा योङ ब्वाइजलाई ३–० ले हरायो । जोसे माउरिन्होको टिमका लागि पाउल पोग्बाले प्रेरणादायी प्रदर्शन गर्दै गोलको खाता खोलका थिए । विश्वकप विजेता यी फ्रान्सेली खेलाडीले पेनाल्टीमा पनि गोल गरे । उनले एन्थोनी मार्सलका लागि पनि गोलको अवसर सिर्जना गरिदिएका थिए ।

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी प्रशिक्षक पेप ग्वार्डिओला निलम्बनको कारण प्यारापिटमा रहेको खेलमा इतिहाद रंगशालामा फ्रान्सेली क्लब लियोनसँग २–१ ले हार्‍यो । यसपालि उपाधिको मुख्य दाबेदारका रूपमा लिइएको सिटीविरुद्ध फावियन डेल्फको गल्तीमा म्याक्सवेल कोर्नेटले गोल गरेका थिए भने पहिलो हाफमै नेबिल फकिरले पनि गोल गरे ।

सब्स्टिच्युट सर्जियो एगुइरोको आगमनसँगै सिटी दोस्रो हाफमा खेलमा फर्कियो । लेरोय सानेको ‘कटब्याक’ मा बर्नाडो सिल्भाले खेल २३ मिनेट बाँकी छँदा गोल गरे । तर लिग वानको सुरुका पाँच खेलमा एकमात्र जित हात पारेको लियोनलाई प्रशिक्षक ब्रुनो गेनेसोले चर्चित जित दिलाइछाडे । समूह ‘एफ’ को अर्को खेलमा साख्तर डोनेस्क र होफेनहमले खार्किभमा २–२ को बराबरी खेले ।

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले सान्टियागो बर्नाबाउमा रोमामाथि ३–० को जित रच्दै जुलेन लोपेटेगुइको टिमले रोनाल्डो युभेन्ट्स लागेपछि पनि ठूलो स्तरमा अझै बलियो टिम भएको साबित गर्‍यो । इस्कोले फ्रि–किकमा पहिलो गोल गरेका थिए । त्यसपछि १३ पल्टको च्याम्पियनका लागि गारेथ बेल र मारियानो डायजले गोल थपे । रियलले अब मस्कोमा सीएसकेएविरुद्ध खेल्नेछ । रुसी क्लब सीएसकेएले दुई गोलले पछाडि परेको स्थितिमा सुधार गरेर भिक्टोरिया पाल्जेनसँग २–२ को नतिजा निकालेको थियो ।

पाँचपल्टको च्याम्पियन बायर्न म्युनिकले समूह ‘ई’ मा लिस्बनमा बेन्फिकामाथि २–० को सफलता हात पार्‍यो । निको कोभाचको टिमको जितमा रोबर्ट लेवान्डोब्स्की र रेनाटो सान्चेजले गोल गरे । त्यस्तै, आयाक्सले एईके एथेन्समाथि ३–० को जित दर्ता गर्ने क्रममा आम्सटर्डममा अर्जेन्टिनी निकोलस ताग्लियाफिसोले दुई गोल गरे ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?