१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सहिद स्मारक लिग : तालिकाअनुसार खेल अन्याैलमा

बंगबन्धु सहभागिता अझै टुंगो लागेन
सुबास हुमागाईं

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो ५ वर्षदेखि रोकिएको शीर्ष श्रेणीको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोज १३ गतेबाट सुरु गर्ने बताउँदै आएको छ ।

सहिद स्मारक लिग : तालिकाअनुसार खेल अन्याैलमा

लिग सुरु गर्नकै लागि बुधबार सबै क्लबलाई सामेल गराएर खुला ‘ड्र’ मार्फत खेल तालिका पनि निकालियो । तर तालिका सार्वजनिक भएलगत्तै लिगका निर्देशक सञ्जीव मिश्रले नेपालले बंगबन्धु कपमा सहभागिता जनाएको खण्डमा राष्ट्रिय टोलीका खेलाडी भएका क्लबको खेल भने नहुने बताए ।

लिग तालिकाअनुसार दसैंअगाडि लिगको तीन चरणका खेल हुनेछन् । दसैं र तिहारका लागि ५ साता विश्रामपछि बाँकी १० चरणका खेल हुनेछन् । लिगको अन्तिम खेल पुस १७ गते संकटा र एपीएफबीच हुने एन्फाको तालिकामा उल्लेखित छ । तर नेपालले बंगबन्धु कपमा सहभागिता जनाउँदै फाइनल पुगेको खण्डमा तालिकाअनुसार दसैंअघिका कुनै खेल पनि आयोजना गर्न सम्भव हुँदैन ।

एन्फाले यसपटक एक चरणका खेल समाप्त नभई अर्को चरण खेल नगर्ने निर्णय गर्दा लिग नै अन्योलमा परेको छ । यसले गर्दा पनि राष्ट्रिय टोलीका खेलाडी नभएका क्लबको मात्र खेल सञ्चालन गर्न समस्या भएको हो । नेपालले बंगबन्धु खेलेको स्थितिमा पहिलो चरणको खेलबाट सरस्वती र संकटाबीचको खेलमात्र सम्भव हुने देखिएको छ । हालसम्म राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध नगर्ने क्लब सम्मिलित खेल यी दुई क्लबको मात्र रहेको छ ।

बंगबन्धु कपमा नेपालसँगै प्यालेस्टाइन र ताजकिस्तान समूह ‘ए’ मा रहेका छन् । समूह चरणमा नेपालले पहिलो खेल ताजकिस्तानविरुद्ध असोज १६ गते खेल्नेछ । दोस्रो खेल असोज २० गते प्यालेस्टाइनविरुद्ध हुनेछ । सेमिफाइनल असोज २३ र २४ तथा फाइनल २६ गते हुनेछ । समूह चरणको खेल सिल्हेटमा हुनेछ भने सेमिफाइनल कक्स बजार र फाइनल ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुनेछ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपालले बंगबन्धु गोल्डकपको फाइनल यात्रा तय गरेमा लिगको तीन चरणका खेल प्रभावित हुनेछन्, जुन एन्फाले दसैंअगाडि राखेको छ । लिग तालिकाअनुसार असोज २६ गतेसम्म मात्र दसैंअघिका खेल हुनेछन् ।

एन्फा प्रवक्ता किरण राईले पनि बंगबन्धु कपको सहभागिता र लिग सञ्चालन बाँझिँदा अहिले अन्योलको स्थिति सिर्जना भएको स्वीकारे । ‘बंगलादेशले बाँकी पैसा नतिरेसम्म राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने छैनौं । खेलाडीहरू अहिले क्लबमै छन् । बंगबन्धु कप र लिग सुरु हुने मिति एकैपटक हुँदा अन्योलको स्थिति छ । छिट्टै उचित विकल्प लिएर क्लब र राष्ट्रिय टोलीको समस्या हटाउनेछौं,’ उनले भने । राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेपछि क्लबले खेलाडी छाड्नुपर्ने एन्फाले बताएको छ ।


क्लबका प्रशिक्षक भने क्लब र राष्ट्रिय टोलीमध्ये कहाँ खेल्ने अन्योललाई दुवै पक्ष बसेर सुल्झाउनु उचित हुने बताउँछन् । थ्री–स्टार क्लबका प्रशिक्षक मेघराज केसीले राष्ट्रिय टोलीका खेलाडीबिना लिग खेल्न सम्भव नहुने तर क्लब र एन्फाले उचित विकल्प निकाल्न आवश्यक रहेको बताए । ‘राष्ट्रिय टोलीले खेल्दा खेलाडी उपलब्ध नगराउने भन्ने हुँदैन । क्लबले फुटबल खेल्ने पनि राष्ट्रिय टोलीको प्रदर्शन राम्रो गर्न हो । एन्फाले लिग र राष्ट्रिय टोली दुवैलाई असर नपर्ने विकल्प ल्याउनु जरुरी छ,’ उनले भने ।

संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले पनि ठूला टोलीलाई राष्ट्रिय खेलाडीबिना लिग खेल्न सम्भव नहुने बताउँछन् । ‘ठूला क्लबलाई राष्ट्रिय खेलाडीबिना लिग खेल भन्ने अवस्था छैन । सबै क्लबले खेलाडीलाई नियमित तलब दिएर लिगका लागि तयार गरिरहेका छन् । राष्ट्रिय टोलीमा नै लिग नभएका कारण खेलाडीको कमी छ । अहिलेको अवस्थामा लिग महत्त्वपूर्ण छ, तर यसको मतलब राष्ट्रिय टोली छैन भन्ने होइन । एन्फाले क्लबहरूसँग बसेर छिट्टै समाधान खोज्नुपर्छ,’ उनले भने ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?