कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

परोपकारी कानु

कानुको गर्विलो भनाइ थियो, ‘खेलाडीका रूपमा हामीले धेरै जित्यौं । यो राम्रो हो, तर अहिले जे काम गरिरहेका छौं, यो त्योभन्दा पनि अब्बल हो ।’
गार्जियन

लन्डन — नुवानको कानुलाई त्यो दिन अझै राम्रोसँग सम्झना छ, जति बेला उनलाई के भइरहेको थियो, त्यसमै अन्योल र आश्चर्य थियो । एक महिला आफ्नी छोरीलाई लिएर ठूलो स्वरले सहयोग मागिरहेकी थिइन् । छोरी नराम्रोसँग बिरामी थिइन् ।

परोपकारी कानु

त्यसको उपचारका लागि आमासँग कहींकतै जाने विकल्प थिएन । कानुसँग आमा आफ्नी छोरीलाई बचाइदिन गुहार मागिरहेकी थिइन् । लगत्तै बच्चा बेहोस भइन् । ‘हामीले तिनलाई तुरुन्तै अस्पताल लग्यौं । धन्न उनी जिउँदै थिइन्,’ कानुले भने ।

यो घटनाको वर्ष थियो, सन् २००० । कानुले भर्खर आफ्नै ‘हार्ट फाउन्डेसन’ स्थापना गरेका थिए । सन् १९९६ मा उनी आपैंm मुटुको जटिल शल्यक्रियाबाट गुज्रेका थिए । यसबारे ती आमाले सुनेकी रहिछन्, त्यसैले कानुलाई खोज्नै उनी बसेको होटलसम्म आइपुगेकी थिइन् । त्यतिबेला नाइजेरियाली टिम अफ्रिकी कप अफ नेसन्सका लागि तयारीमा थियो । ‘ती आमा मलाई आफ्नी छोरी देखाउन चाहन्थिन् । त्यही बेला बालिका बेहोस भइन् ।’

बालिकालाई अस्पताल लगेयता कानुले ती आमालाई वचन दिएका थिए, ‘हाम्रो संस्थाअन्तर्गत कसैको शल्यक्रिया र उपचार हुन्छ भने यी तिनै आमाकी छोरी हुनेछिन्,’ जुन बालिकाको नाम इनिटन हुनेछ । कानु हार्ट फाउन्डेसनको सक्रियतामा इनिटनलाई लन्डन ल्याइयो, ग्रेट ओरमन्ट स्ट्रिट हस्पिटलमा उपचारका लागि ।


‘त्यतिबेला ती फुच्ची न त खेल्थिन्, न त उनको अनुहारमा हाँसो थियो । आँखा नीलो थियो । उनी खासै खराब स्थितिमा थिइनन्,’ कानु अहिले सम्झन्छन् ।


सफल शल्यक्रियापछि कानु फेरि तिनै आमा र बालिकालाई भेट्न गए । ‘त्यतिबेला परिवारमा चारैतर्फ हाँसो थियो । बालिका पनि मसँग खेल्न आइन् । सबैभन्दा ठूलो ती आमाको अनुहारमा एक खाले खुसी थियो । त्यही दिन मैले निर्णय गरें, यस्तो काम हामीले अझ धेरै गर्नुपर्छ, रोकिनुहुन्न,’ उनले भने । अहिले तिनै इनिटनबारे निकै खुसीको समाचार छ, लागोस स्टेस युनिभर्सिटीबाट उनले स्नातक तह पूरा गर्न लागेकी छन् । त्यहाँ पढ्न कानुले नै सहयोग गरेका थिए ।

त्यसयता फाउन्डेसनले धेरै साना–साना बच्चाको ज्यान जोगाएको छ र ती सबै अफ्रिकाका कमजोर आर्थिक हैसियत भएका परिवारका हुन् । कानुलाई आफूले जे जति गरेको छ, त्यसमा गर्व पनि छ । ‘हामीले अहिलेसम्म ५ सय ४२ बच्चाको जीवन जोगाइसकेका छौं । यसै साता चार बिरामी सुडान गए र त्यहाँबाट आएको समाचारअनुसार सबैको सफल शल्यक्रिया भएको छ । अब थप ६ जना बिरामी त्यहाँ उपचार गर्न जाने तयारीमा छन्,’ कानुले थपे ।

‘हामीले केही अस्पतालसँग साझेदारी गरेका छौं । त्यहाँ सुरुमा समस्या पत्ता लगाउने काम हुन्छ । त्यसैअनुसार बच्चाको परिवारसँग कुराकानी गर्छौं । पछि हामीले चाहे बच्चालाई विदेश लाने प्रयास पनि गर्छौं । त्यसपछि बच्चाको शिक्षाको जिम्मेवारी पनि उठाउँछौं, अब हाम्रो योजना भनेको फाउन्डेसनको आफ्नै मुटुको अस्पताल खोल्ने हो, नाइजेरियामा । अस्पताल भनेपछि हामीलाई पनि धेरै सजिलो हुन्छ,’ कानुले आफ्नो योजनाबारे भने ।

उनको गर्विलो भनाइ थियो, ‘खेलाडीका रूपमा हामीले धेरै जित्यौं । यो राम्रो हो, तर अहिले जे काम गरिरहेका छौं, यो त्योभन्दा पनि अब्बल हो ।’ अचेल उनी हार्टफोर्डसायरमा बस्छन्, आफ्नी श्रीमती र तीन बच्चासँगै । सन् २०१२ मा व्यावसायिक फुटबलबाट संन्यास लिएयता उनलाई लागेको थियो, उनी फुर्सिदो हुनेछन् ।

तर होइन, उनी आफ्नो फाउन्डेसनका लागि अझ सक्रिय हुन थालेका छन् । अचेल यी ४२ वर्षीय कानु नाइजेरियाली फुटबल संघका राजदूत हुन् ।

यस्तै काम उनी अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का लागि पनि गर्छन् । ‘केहीले मलाई फुटबलका लेजेन्ड भन्छन्, यस्तो किन भन्दा खेल्न छाडेयता म घरमै सीमित भइनँ । आफूलाई खुसी लाग्ने काममा मात्र सीमित भइनँ । म त्यस्तो व्यक्ति हुँ, जसको कामले अरूको जीवनमा पनि सकारात्मक प्रभाव परोस् भन्ने चाहन्छु,’ उनले भने ।

हुन पनि खेलाडी छँदा साताको एक लाख पाउन्डको हाराहारीमा कमाउनेहरू खेल्न छाडेयता मोजमस्तीमै व्यस्त हुने गरेका छन् । उनी यसका अपवाद हुन् र यसको पनि ठोस कारण छ । उनकै सक्रियतामा केही दिन अगाडि मात्र एउटा च्यारिटी खेल भयो, जसमा उनका जमानाका केही स्टारले पनि खेले, जस्तो, जे जे ओकाचा, सोल क्याम्पबेल, टेडी सेरिङघम र रोबर्ट पिरेस । कानुको जन्म नाइजेरियाको त्यस्तो ठाउँमा भएको थियो, जहाँ खालि आर्थिक अभाव मात्र छ । र, यो इमो स्टेटमा फुटबल खेल्नु छ भने खालि खुट्टा खेल्नुपर्छ, किनभने त्यहाँ जुत्ता किन्ने हैसियत कसैको छैन ।

कसैलाई साँच्चै लाग्दो हो, कानुले यी सबै काम किन गरिरहेका छन् त ? जतिबेला उनी एजाक्सबाट इन्टर मिलान गएका थिए, उनी निकै खुसी थिए । क्लबका लागि दुई फ्रेन्ड्ली पनि गरे । त्यसैक्रममा थाहा भयो, कानुलाई मुटुको ठूलै समस्या रहेछ । सुरुमा त क्लबले पनि उनलाई यसबारे सीधै भन्न सकेको थिएन । कानु आफैंले मिडियामा यसबारे समाचार आइसकेपछि मात्र थाहा पाए । त्यतिबेला भनिएको थियो, उनको मुटुमा समस्या छ र आइन्दा उनले फुटबल खेल्न सक्ने छैनन् ।

तर उनी भाग्यमानी साबित भए, ओहायोको क्लेभल्यान्डमा उनको शल्यक्रिया भयो र त्यहाँका चिकित्सकले भनेका थिए, कानुले खेल्न सक्नेछन् । त्यसपछि के भयो, त्यो सबैलाई थाहा छ । उनले एजाक्सका लागि तीन लिग उपाधि जितेका थिए, सँगै च्याम्पियन्स लिग पनि । पछि सन् १९९६ मा उनले नाइजेरियालाई ओलम्पिक स्वर्ण पनि दिलाए । इन्टरका लागि यूईएफए कप दिलाएयता उनी आर्सनल लागे । त्यहाँ उनले दुई प्रिमियर लिग र दुई एफए कप उपाधि जिते ।

सन् २००८ मा पोर्ट्समाउथका लागि पनि उनले एफए कप जिते र त्यसका लागि फाइनलमा एक मात्र निर्णायक गोल गरे । नाइजेरियाका लागि भने उनले ८६ क्याप जिते र तीन विश्वकप संस्करणमा खेले । उनी दुई अवसरमा अफ्रिकी वर्ष खेलाडी पनि घोषित भए । ‘इन्टर गएयता म निकै बलियो भएँ, मानसिक रूपमा ।

जतिबेला मानिस जीवन तथा मृत्युको बीचमा पुग्छ र त्यहाँबाट फर्केर आउन सक्छ, त्यतिबेला जीवनका सबै खाले समस्या सामान्य लाग्न थाल्छ,’ उनको अनुभव छ ।

उनले थपे, ‘यी सबै घटनापछि म जहाँ जहाँ गएँ, मैले सक्दोभन्दा धेरै गरें । यी घटनाले मलाई आफ्नो दृष्टिकोण बदल्न पनि प्रेरित गरेको थियो । मैले विश्वलाई कसरी हेर्ने हो, त्यसमा पनि परिवर्तन आयो । यहीं कोही अस्पताल नै पुगेको छैन भने त्यहाँ के भइरहेको छ, त्यसबारे भन्न सकिन्न । आफूलाई पुग्यो भन्दै खुसी रहनु मात्र जीवन होइन, त्यो भन्दा बाहिर पनि जीवन छ । मैले पनि पीडा भोगेको छु, त्यसैले साना बच्चाले झन् कति पीडा सहनुपर्छ, म त्यो अनुमान गर्न सक्छु,’ कानुले अन्त्यमा भने ।
द गार्डियन

प्रकाशित : आश्विन ६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?