कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

एएफसी यू–१६ महिला छनोट चरणबाटै बाहिरियो नेपाल, ११–१ ले पराजित

काठमाडौँ — नेपालले एएफसी यू–१६ महिला च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा शुक्रबार म्यानमारसँग ११–१ को लज्जास्पद हार बेहोर्‍यो ।

एएफसी यू–१६ महिला छनोट चरणबाटै बाहिरियो नेपाल, ११–१ ले पराजित

नेपाल खेलको पहिलो हाफमै १०–० ले पछाडि परेको थियो । दोस्रो हाफमा म्यानमारले आक्रमणभन्दा पनि बल पोसेसनमा बढी ध्यान दिएकाले अझै ठूलो अन्तरबाट बच्न सफल रहेको थियो । पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित नेपाल लगातार दोस्रो हारसँगै छनोट चरणबाटै बाहिरियो । नेपालले
पहिलोपटक यस प्रतियोगिताको छनोट खेलेको हो ।

नेपाली टोलीले प्रतियोगिता सुरु हुनुअघि छनोट हुने लक्ष्य राखेको बताए पनि मैदानमा भने नेपालको स्तर अन्य टोलीभन्दा निकै तल रहेको नतिजाले प्रस्ट पारेको छ । फिलिपिन्सविरुद्ध सुरुआती मिनेटमा नेपालले पकड बनाए पनि गोल गर्न सकेन । म्यानमारविरुद्ध भने नेपाली टोलीले सुरुआतमा गोल खाँदा हतास भयो र लगातार गोल खान पुग्यो । डिफेन्स सम्हालिन नसक्दा म्यानमारले पहिलो हाफमा नै १० गोल गरेको थियो ।

म्यानमारका लागि जीन मार त्वेले चौथो मिनेटमा नै गोलको खाता खोलेकी थिइन् । लगत्तै स्वे मार औङले २ मिनेटको अन्तरमा २ गोल गर्दै म्यानमारलाई ३–० ले अगाडि बढाइन् । कप्तान म्याट नो खिनले १० औं मिनेटमा गोल गर्दै म्यानमारलाई ४–० को अग्रता दिलाइन् । औङले १७ औं, २१ औं र ३८ औं मिनेटमा पनि गोल गर्दै पहिलो हाफमै व्यक्तिगत ५ गोल पुर्‍याइन् ।

कप्तान खिनले २९ औं र ३३ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । वाई फु एनले ३० औं तथा पोन्ट पे मौङले ६२ औं मिनेटमा गोल गरेका थिए ।


नेपालका लागि एकमात्र गोल वैकल्पिक खेलाडी निकिता थोकरले ७३ औं मिनेटमा गरेकी थिइन् । उनले डिफेन्स र गोलरक्षकको समन्वय नमिल्दा पाएको बलमा खाली पोस्टमा गोल गरेकी थिइन् । दोस्रो हाफमा नेपाली गोलरक्षक साबित्री किसानले केही राम्रो बचाउ गर्दै अग्रता बढाउन दिइनन् ।

खेलपछि म्यानमारकी प्रशिक्षक सान थेइनले नेपालविरुद्ध पहिला नै खेल सहज हुने थाहा भएको बताइन् । ‘हामीले फिफा वरीयता हेरेर नेपाल कमजोर हुनेछ भन्ने आकलन गरेका थियौं । हाम्रो टोली लामो समयदेखि सँगै रहेर प्रशिक्षण गरेको थियो । खेल सहज हुने थाहा भएर त्यसैअनुसार आक्रमण गर्ने रणनीति बनाएका हौं,’ उनले भनिन् । प्रशिक्षक थेइनले दोस्रो हाफमा खेलाडी नथाकुन् भनेर रणनीति परिवर्तन गरेको बताइन् । ‘अघिल्लो खेलमा फिलिपिन्सले जितिसकेको हुनाले स्पष्ट जितले नै छनोट हुन सहज हुने थियो । दोस्रो हाफमा अर्को खेललाई ध्यानमा राख्दै पोसेसन फुटबलमा ध्यान दियौं । अब अन्तिम खेलमा फिलिपिन्सको सामना गर्न केही सहज हुनेछ,’ उनले थपिन् ।

यता नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले भने नेपाल म्यानमारभन्दा कमजोर भएकाले नतिजा फराकिलो रहेको स्विकारिन् । ‘हामी उनीहरूभन्दा निकै कमजोर टोली हौं । सुरुआती मिनेटमा नै गोल हुँदा खेलको नतिजा फराकिलो हुन पुगेको हो । लगातार गोल हुँदा खेलाडी होपलेस भएपछि म्यानमार झन् हावी भयो,’ उनले भनिन् । दोस्रो हाफमा भने केही खेलाडी परिवर्तन गरेका कारण प्रदर्शन सुधारिएको उनले बताइन् । ‘हाम्रो पहिलो रोजाइको खेलाडी छनोटमा केही चुकेको जस्तो लाग्यो । दोस्रो हाफमा खेलाडी परिवर्तनपछि प्रदर्शनमा सुधार आयो । अब अन्तिम खेलमा मलेसियाविरुद्ध राम्रो प्रदर्शन गर्दै प्रतियोगिता सुखद ढंगले बिट मार्ने प्रयास हुनेछ,’ उनले टुंग्याइन् ।

त्यसअघि समूहको अर्को खेलमा फिलिपिन्सले मलेसियालाई १–० ले पराजित गर्‍यो । फिलिपिन्सको जितमा वैकल्पिक खेलाडी अलामोले अन्तिम समयमा गरेको गोल निर्णायक साबित भयो । यस जितसँगै फिलिपिन्स र म्यानमार समान ६–६ अंकसाथ शीर्ष दुई स्थानमा छन् भने नेपाल र मलेसिया प्रतियोगिताबाट बाहिरिए ।

प्रत्यक समूहको शीर्ष टोली र दोस्रो स्थानको उत्कृष्ट दुई टोली दोस्रो चरणमा प्रवेश गर्ने प्रावधान छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?