एन्फा ग्रासरुट फुटबल सुरु

शिव पुरी

रौतहट — बालबालिकाको खेल विकासका लागि अखिल नेपाल फुटबल संंघले एन्फा ‘ग्रासरुट फुटबल कार्यक्रम’ सुरु गरेको छ । चन्द्रपुर नगरपालिका–६ स्थित स्व.शेरबहादुर दर्लामी खेलमैदानमा सुरु भएको ग्रासरुट फुटबलमा जिल्लाका १३ निजी तथा सामुदायिक विद्यालयका छात्रछात्राको सहभागिता रहेको छ ।

एन्फा ग्रासरुट फुटबल सुरु

८ देखि १३ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर एन्फाले शुक्रबारबाट कार्यक्रम सुरु गरेको हो । विभिन्न ४५ जिल्लामा एकै उमेर समूहका बालबालिकालाई एकै समयमा प्रशिक्षण गराउँदै विद्यालयदेखि क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगितामा सामेल गराइने कार्यक्रम रहेको छ । एन्फाको अपेक्षा गरेअनुरूप विद्यार्थीको समय र वातावरण मिलाई यहाँका विद्यालयहरूले सहकार्य गरेको रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताए ।

विद्यालयका बालबालिकालाई उनीहरूको प्रतिभाअनुसार छनोट गरेर स्व.शेरबहादुर दर्लामी खेलमैदान र चिडिया दह खेलमैदानमा नियमित प्रशिक्षणका लागि व्यवस्था गरिएको छ । जिल्लाको अन्य क्षेत्रमा फुटबल गतिविधि न्यून हुँदै गएका बेला यहाँ ‘ग्रासरुट फुटबल कार्यक्रम’ सुरु गरिएको हो । यसले निकै उपलब्धि हुने संघले जनायो ।

रौतहट महिला फुटबलको उर्वरभूमि भएकाले ग्रासरुट कार्यक्रमबाट राम्रा प्रतिभा निस्कने आयोजकको दाबी छ । विभिन्न विद्यालयबाट आएका विद्यार्थीलाई छनोट गरेर उनीहरूलाई नियमित रूपमा प्रशिक्षण दिने कार्यक्रम रहेको संघका महासचिव मधुसूदन धितालले बताए । ‘जिल्लामा पहिलो पटक यस्तो कार्यक्रममार्फत प्रशिक्षण हुन लागेको हो,’ उनले भने, ‘यसले नयाँ/नयाँ प्रतिभाको उदय हुनेछ ।’

प्रशिक्षणमा अहिले २ सय छात्रछात्रा सहभागी छन् । उनीहरूलाई साताको २ दिन, शुक्रबार र शनिबार प्रशिक्षणमा सहभागी गराइनेछ । जिल्लाले तोकेका प्रशिक्षकहरूले कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिने महासचिव धितालले जनाए । एन्फाले प्रशिक्षणका लागि १ लाखको समान सहयोग गरेको छ । त्यस्तै भौतिक पूर्वाधार तयार गर्न यो वर्ष ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्रासरुट फुटबल कार्यक्रम एन्फा र फिफाकै महत्त्वाकांक्षी परियोजना हो । स्तरीय र उत्कृष्ट खेलाडी उत्पादनको योजनाका रूपमा परियोजनालाई लिइएको छ । ६ वर्षदेखि १३ वर्षको उमेर समूहले खेल्ने फुटबललाई ग्रासरुट भनिन्छ । यसमा सिनियर फुटबलले खेल्ने जस्तो कुनै नियम लागू हँुदैन । यो एकदमै मनोरञ्जनात्मक परियोजना भएको संघले जनायो । रमाइलो गरेर साना बालबालिकालाई फुटबल सिकाउने माध्यम हो ।

‘सुरुमा ग्रासरुटमा बल फ्याँक्न र हान्न सिकाइन्छ, प्रशिक्षक नूरराज काफ्ले भन्छन्, ‘यो जहाँ पनि जोसँग पनि सिक्न सकिन्छ, खेल्न सकिन्छ । सामान्य फुटबल खेल्न सिक्ने फुटबलका रूपमा ग्रासरुटलाई लिइएको हुन्छ ।’

यसमा केटाकेटी हँुदैन । भेदभाव हुँदैन । जातजाति, धनी, गरिब वा कुनै विभेद हुँदैन । ग्रासरुट फुटबल एकदमै सामान्य हुन्छ । यसमा राम्रो कोच पनि चाहिँदैन । खेलाडीको प्रशिक्षक आमाबुबासमेत हुन सक्छन् । स्कुलका शिक्षक फुटबल प्रशिक्षक बन्न सक्छन् । यसमा प्रशिक्षकभन्दा खेलाडीको खेल महत्त्वपूर्ण हुन्छ । खेल नै खेलाडीले सिक्ने उच्चतम् बिन्दु हो ।

ग्रासरुट फुटबलको मेरुदण्ड हो । नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय नीतिअनुसार ग्रासरुट कार्यक्रमअन्तर्गत ५ वर्षे योजना हो । कार्यक्रमका लागि विद्यालयका छात्रछात्रा निकै उत्साहित छन् । जिल्लाभित्र खेलमैदानको अभावले दक्षिण भेगमा फुटबल खेल नै लोप हुने अवस्थामा पुगेको संघको भनाइ छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?