चेल्सीलाई चोट

एएफपी

लन्डन — चेल्सीलाई लन्डन डर्बीमा वेस्ट ह्यामले गोलरहित बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिगको यस सिजनमा चेल्सीले पहिलोपल्ट अंक गुमाएको हो । चेल्सीले यसअघिको सुरुका सबै ५ खेल जितेको थियो ।

चेल्सीलाई चोट

चेल्सीले ७० प्रतिशतभन्दा बल बढी आफ्नो पकडमा राख्न खोजे पनि खेल जित्न सकेन । ओलम्पिक रंगशालामा ७८ औं मिनेटमा पाएको अवसर गुमाउँदा उल्टो वेस्ट ह्याम चुक्चुकाउन पुग्यो । रोबर्ट स्नोडग्रासको क्रसमा कसैको निगरानीमा नरहेका युक्रेनी स्ट्राइकर एन्ड्री यार्मोलेन्कोले खुला हेड बाहिर हान्न पुगेका थिए । पहिलो चार खेल हारेको म्यानुयल पेलेग्रिनीको वेस्ट ह्यामले पछिल्लो दुई खेलबाट ४ अंक बटुलेको छ ।

लिभरपुलले अघिल्लो दिन एनफिल्डमा साउथह्याम्पटनलाई ३–० ले पराजित गरी पहिलो ६ खेलमै जित हात पार्ने कीर्तिमान बनाएको थियो । सबैखाले प्रतियोगितामा लिभरपुलले सिजनको सबै सात खेल जितेको छ ।

लिभरपुलले मंगलबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनलाई ३–२ ले पराजित गरेको थियो । घरेलु मैदानमा अर्को प्रभावशाली प्रदर्शन गरेको लिभरपुलले पहिलो गोल सेन्ट्सको आत्मघातीबाट पाएको थियो । त्यसपछि जोइल माटिप र मोहमद सलाहको गोलमा लिभरपुलले पहिलो हाफमै खेल नियन्त्रणमा लिँदै जित यात्रालाई निरन्तरता दिएको हो ।

चेल्सीसँगै म्यानचेस्टर सिटीको १६ अंक छ । गोल भिन्नतामा चेल्सीलाई उछिनेको सिटीले शनिबार नै कार्डिफ सिटीलाई ५–० ले हराएको थियो । सर्जियो अगुइरोले खोलेको खातामा बर्नान्डो सिल्भा र इल्काय गुन्डागोनले १–१ गोल गर्दा रियाद महारेजले अन्तिममा दुई गोल थपेका थिए ।

म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा वोल्भसले १–१ को बराबरीमा रोक्यो । फ्रेडले क्लबका लागि पहिलो गोल गर्दा युनाइटेडले ओल्ड ट्राफोर्डमा १८ मिनेटमै अग्रता लियो ।

जाओ मोउटिन्होले गरेको उत्कृष्ट गोलमा वोल्भसले ५३ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । टोटेनहमले लगातार ३ खेलको हार शृंखला टुंगाउनेक्रममा ब्राइटनलाई २–१ ले पराजित गर्‍यो । ह्यारी केन र इरिक लामेलाले टोटेनहमबाट गोल गरे ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?