१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपालले बंगबन्धु गोल्डकप खेल्ने पक्का

नेपालले च्याम्पियन हुँदा पाउन बाँकी २५ हजार अमेरिकी डलर बंगलादेशले आइतबार पठायो

काठमाडौँ — नेपाल ३१ महिनाअघि बंगबन्धु गोल्डकपमा च्याम्पियन हुँदाको पाउन बाँकी २५ हजार अमेरिकी डलर पुरस्कार बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पठाएको छ । योसँगै नेपालले बंगबन्धु गोल्डकपको पाँचौं संस्करण खेल्ने पक्का भएको छ ।

नेपालले बंगबन्धु गोल्डकप खेल्ने पक्का

‘हामीले च्याम्पियन हुँदाको पुरस्कार नदिएसम्म बंगबन्धु गोल्डकपमा सहभागी नहुने भन्दै बीएफएफलाई पत्राचार गरेका थियौं,’ एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेले भने, ‘बीएफएफले बाँकी पुरस्कार (२५ हजार डलर) २८ सेप्टेम्बरसम्म पठाउने जवाफ दिएको थियो । उसले आइतबार नै त्यो रकम पठाएको जानकारी दिएको छ ।’ पुरस्कार नपाएसम्म नखेल्ने भने पनि राष्ट्रिय टिमको तयारी भने भइरहेको छ । पाँचौं संस्करण अक्टोबर १–१२ सम्म सिलेट, कक्स बजार र ढाकामा हुनेछ ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जनवरी २२, २०१६ मा भएको फाइनलमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठको गोलसँगै बहराइनको यू–२३ टिममाथि ३–० को जित हात पार्दै नेपालले अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षपछि उपाधि हात पारेको थियो । त्यससँगै नेपाली फुटबलको स्वर्णिम युग सुरु भएको थियो । र, ढाकामा सफल भएको ११ महिनाभित्र नेपाली टिमले १२ औं दक्षिण एसियाली खेलकुद (यू–२३) मा स्वर्ण पदक र एएफसी सोलिडारिटी कपको उपाधि हात पारेको थियो ।

बंगबन्धु गोल्डकपको आयोजक बीएफएफले चौथो संस्करणको च्याम्पियनलाई ५० हजार डलर पुरस्कार दिने घोषणा गरेको थियो । तर, प्रधानमन्त्री शेख हसिनाबाट विराज महर्जन र प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी थापेको बेला २५ हजार डलरमात्र दिइएको थियो । बाँकी रकम ३१ औं महिनामा आएर बीएफएफले ढाकास्थित अग्रणी बैंकमार्फत् एन्फाको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा गरिदिएको हो ।

पाँचौं बंगबन्धु गोल्डकपमा डिफेन्डिङ च्याम्पियन नेपाल, प्यालेस्टाइन र ताजकिस्तानसँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा फिलिपिन्स, बंगलादेश र लाओस छन् । समूह चरणका खेल सिलेट, सेमिफाइनल कक्स बजार र फाइनल ढाकास्थित बंगबन्धु रंगशालामा हुने बीएफएफले जनाएको छ ।

नेपालले दुईपल्ट बंगबन्धु गोल्डकप खेलेको छ । सन् १९९९ मा भएको दोस्रो संस्करणमा नेपाल सुरुका दुवै खेल हारेपछि समूह चरणबाटै बाहिरिएको थियो । त्यसको १७ वर्षपछि भने श्रीलंकामाथि १–० को जित हात पारेको नेपाली टिम मलेसियन क्लब फेल्डा युनाइटेड र बंगलादेशको राष्ट्रिय टिमविरुद्ध गोलरहित बराबरी खेल्दै समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

नवयुग श्रेष्ठको ह्याट्रिक र विशाल राईको एक गोलसँगै माल्दिभ्सविरुद्ध ४–१ को सनसनीपूर्ण जित रचेर नेपालले फाइनल यात्रा तय गरेको थियो । फाइनलमा बहराइन यू–२३ लाई ३–० ले पन्छाउँदै नेपालले उपाधि खडेरी तोडेको थियो ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?