कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । 

एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

सोमबार पत्रकार सम्मेलन गर्दै कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा पठाइसकेको बताए ।


‘विश्व फुटबलको सर्वोच्च निकाय भनेकै फिफा र एएफसी हुन् । चुनावका बेला भएका चलखेलको प्रमाण मैले यी दुई संस्थालाई बुझाइसकेको छु । उनीहरूले त्यसलाई सम्बन्धित निकायमा पठाइसकेका छन्,’ कुँवरले भने, ‘मलाई पूरा विश्वास छ, उनीहरूले यसमाथि आवश्यक कारबाही गर्नेछन् ।’ उनले अगस्ट ८ मै यी प्रमाण पठाइएको बताए । ‘जति पनि प्रमाण छन्, ती सबैको विश्वसनीयतामा म शतप्रतिशत विश्वस्त र जिम्मेवार छु,’ उनले थपे ।


उनका अनुसार वर्तमान एन्फा कार्यसमितिमाथि लगाइएका आरोपमा निर्वाचन कमिटीलाई ज्यानमार्ने धम्की र आर्थिक प्रलोभनमा पारेको, मतदातालाई प्रत्यक्ष रूपमा पैसा बाँड्ने काम गरेको, मतदातालाई प्रभावित गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतसमेत लगरेर ठूलो धनराशि खर्च गरेको, मतदातालाई चुनावलगत्तै युरोप भ्रमण गराएको, न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको तथा निर्वाचनका क्रममा मतदाता र अन्य सहयोगीलाई सयौं संख्यामा हवाई टिकट उपलब्ध गराइएको छ ।


एन्फाको पछिल्लो चुनावमा अध्यक्षमा प्रत्याशी रहे पनि उनले त्यसको अघिल्लो दिन आफू त्यसमा सहभागी नहुने घोषणा गरेका थिए । ‘मैले यिनै कारणले चुनावमा भाग लिएको थिइनँ । त्यति बेला मलाई सबैले चुनावबाट भागेको आरोप लगाए । अहिले मसँग यसबारे ठोस कारण छ । मेरो निर्णय ठीक भएको पनि पुष्टि भएको छ,’ कुँवरले भने । उनले अबदेखि यिनै प्रमाणका आधारमा स्वदेशमै पनि सबै सम्बन्धित निकायमा उजुरी दिने बताए ।


यसअघि विभिन्न माग र आरोपसहित खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा समेत उजुरी दर्ता गरेका कुँवरले नेपाली खेलकुदको सर्वोच्च निकायको ध्यान यसतर्फ आकर्षित हुने विश्वास राखे । उनले भने, ‘यी सबै प्रमाणित आरोपमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र नवीन पाँडेलगायत थुप्रै पदाधिकारी प्रत्यक्ष संलग्न रहेको जानकारी गराउन चाहन्छु । यी सबै प्रमाण फिफा तथा एएफसीको कोड अफ इथिक्सविपरीत कार्य गरेको पुष्टि हुने हुँदा दोषी सबैमाथि कारबाही हुनेमा विश्वस्त छु ।’


उनले फिफा कंग्रेसमा नवीन पाँडेको सहभागिता र विश्वकप टिकट खरिद तथा बिक्रीमा पनि फेरि प्रश्न उठाएका छन् । उनले भने, ‘विदेशी नागरिक नवीन पाँडेले फिफा कंग्रेसमा नेपालको प्रतिनिधित्व गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठाउन चाहन्छु । यस्तै रुसमा भएको विश्वकपको टिकट कसरी खरिद भयो र कुन मापदण्डअनुसार वितरण गरियो भन्ने विषयमा पनि परिषद र मन्त्रालयको स्पष्ट धारणा सार्वजनिक गर्न पनि ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रकाशित : आश्विन ८, २०७५ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?