कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एन्फा पदाधिकारीको विदेशमोह

भारत, पाकिस्तान, भुटान, माल्दिभ्सलगायतका दक्षिण एसियाली देशले भने सम्मेलनमा प्राविधिक निर्देशक र मुख्य प्रशिक्षकलाई सहभागी गराएको थियो ।
प्रशिक्षक र प्राविधिक निर्देशक सम्मेलनमा उपाध्यक्षद्वय
राजु घिसिङ

काठमाडौँ — फुटबलको प्राविधिक निर्देशक, मुख्य प्रशिक्षक र प्राविधिक कमिटीका पदाधिकारीमा के फरक छ ? कुनै विज्ञलाई सोध्ने हो भने यी तीनको परिभाषामा आकाश–जमिनकै भिन्नता देखाउन सक्छन् ।

एन्फा पदाधिकारीको विदेशमोह

तर, अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मेवार पदाधिकारीको बोली भने विल्कुलै भिन्न छ । एन्फा प्रवक्ताले यी तीनलाई एउटै चश्माले हेरेको पाइएको छ ।


सन्दर्भ अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा लन्डनमा आयोजित ‘२०१८ विश्वकपको विश्लेषण’ सम्मेलनको हो । विश्वकप विजेता फ्रान्सका डिडियर डेसच्याम्प, उपविजेता क्रोएसियाका ज्लात्को डालिच, सेमिफाइनल खेलेका बेल्जियमका रोबेर्टो मार्टिनेज, इंग्ल्यान्डका गारेथ साउथगेटससहित रुसमा सम्पन्न फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गरेका सबै (३२) प्रशिक्षकसहित फिफाका दुई सय देशका मुख्य प्रशिक्षक र प्राविधिक निर्देशक सहभागी थिए । यसमा नेपालको प्रतिनिधित्व गरेका थिए एन्फाका उपाध्यक्षद्वय कृष्ण थापा र उपेन्द्रमान सिंहले । थापा एन्फाको प्राविधिक कमिटीका प्रमुख पनि हुन् भने त्यसका सदस्य छन् सिंह ।


विश्वविजेता प्रशिक्षक डेसच्याम्पसँग सम्मेलनको क्रममा खिचाएको तस्बिर पनि थापा र सिंहले फेसबुकमा पोस्ट गरेका छन् । खासमा यो सम्मेलन प्राविधिक निर्देशक र मुख्य प्रशिक्षकको हो । यसको मुख्य लक्ष्य विश्वकपमा देखिएका नयाँ–नयाँ प्राविधिक र रणनीतिक पक्षबारे विश्लेषण गर्ने हो । तर, यो अवसर हाल राष्ट्रिय टिम सम्हालिरहेका प्रशिक्षक बालगोपाल महर्जन र एन्फाका प्राविधिक निर्देशक रहेका जापानी नागरिक चियाकी ताकेदाले पाएनन् । भारत, पाकिस्तान, भुटान, माल्दिभ्सलगायतका दक्षिण एसियाली देशले भने सम्मेलनमा प्राविधिक निर्देशक र मुख्य प्रशिक्षकलाई सहभागी गराएको थियो ।


‘प्राविधिक कमिटीका प्रमुख (कृष्ण थापा) र सदस्य (उपेन्द्रमान सिंह) को हैसियतमा लन्डन जानुभएको हो । यसको निर्णायक आकस्मिक कमिटीले गरेको थियो,’ एन्फाका प्रवक्ता किरण राईले सोमबार कान्तिपुरसँग भने, ‘विश्वकपको विश्लेषण गर्ने कुरा हो, त्यसका लागि योग्य मान्छेलाई पठाएका छौं । उपाध्यक्षको हैसियतले भन्दा प्राविधिक रूपमा विश्लेषण गर्न योग्यलाई पठाइएको हो ।’


वैशाख २२ को निर्वाचनबाट उपाध्यक्ष चुनिएका थापा र सिंहले त्यसअघि एन्फामा प्राविधिक निर्देशकको रूपमा काम गरेका थिए । राष्ट्रिय टिममा थापाले मुख्य प्रशिक्षक र सिंहले गोलकिपिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए । प्राविधिक कमिटी प्रमुखको हैसियतमा कृष्ण थापा दुई साताअघि बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पनि पुगेका थिए । जहाँ नेपाल सेमिफाइनलसम्म पुगेको थियो । उपाध्यक्ष सिंह इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुद र एक महिनाअघि भुटानमा भएको फुटबलकै कार्यक्रममा सहभागी भएका थिए ।


एन्फाले लन्डन सम्मेलनमा थापा र सिंह जाने निर्णय गरेलगत्तै प्राविधिक निर्देशक चियाकी ताकेदाले आपत्ति जनाएका थिए । तर, त्यसबारे एन्फा नेतृत्व मौन रह्यो । ‘भाषाको समस्यालगायत भएकाले हामीले प्राविधिक निर्देशकलाई पठाएनौं,’ प्रवक्ता राईले भने । ‘ओभर–स्टे’ को कारण मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका जापानी ग्योतोकु कोजीमाथि सरकारले एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइदियो ।

त्यसैले उनका सहायक बालगोपाल महर्जनलाई एन्फाले राष्ट्रिय टिमको कार्यवाहक मुख्य प्रशिक्षक बनाएको थियो । महर्जनले साफमा नेपाली टिम सम्हालिरहेका छन् । तर, उनलाई पनि एन्फाले लन्डन सम्मेलनमा पठाएन । यसबारे प्रवक्ता राईले भने, ‘प्रशिक्षकको हकमा भिसाको समस्या भयो ।
प्राविधिक रूपमा विश्लेषण गर्न योग्यलाई नै पठाएका छौं ।’


विश्वकप १९९४ को विजेता ब्राजिलका प्रशिक्षक कार्लोस अल्बर्टो परेरा नेतृत्वको फिफाको प्राविधिक अध्ययन समूहले तयार पारेको विश्वकप २०१८ को सबै (६४) खेलको प्रतिवेदनमाथि सम्मेलनमा प्रस्तुत गरिएको थियो ।

फ्रान्सको च्याम्पियन यात्रा, रणनीतिक प्रचलन र नयाँ खेल शैलीबारे गहन विश्लेषण भएको फिफाले जनाएको छ । उपाध्यक्षद्वय थापा र सिंहसँगै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पनि लन्डन पुगेका छन् । शेर्पा सोमबार भएको ‘द बेस्ट फिफा फुटबल अवार्ड’ समारोहमा सहभागी हुन लन्डन पुगेका हुन् ।

प्रकाशित : आश्विन ९, २०७५ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?